अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२६ | Colorodo: 16:41

बंगलादेशलाई १३ हजार मेगावाट बिजुली आवश्यक, नेपाललाई अवसर

अन्‍नपूर्ण पोष्ट २०७५ वैशाख ३ गते २०:२५ मा प्रकाशित

काठमाडौं, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री बर्षमान पुन र नेपालका लागि बंगलादेशी राजदूत मस्फी विन्ते साम्सबीच सोमबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्विपक्षीय हितबारे कुरा भएको छ ।

राजदूत साम्ससँगको भेटमा ऊर्जामन्त्री पुनले सरकार ऊर्जा क्षेत्रमा बङ्गलादेशसँग नेपाल सहकार्य गर्न तयार रहेको बताए । मन्त्री पुनले सार्क फ्रेमवर्कभित्र रहेर काम गर्न नेपाल इच्छुक रहेको समेत बताए । उनले भेटमा ऊर्जा क्षेत्रमा लगानी गर्ने उपयुक्त वातावरण रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेका उनका प्रेस संयोजक रोशन खड्काले बताए ।

भेटमा राजदूत साम्सले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न बङ्गलादेश तयार रहेको भन्दै त्यसका लागि नेपालले आयोजना छनौट गरेर दिनुपर्ने बताइन् । ‘सरकार मात्र होइन, हाम्रो निजी क्षेत्र समेत नेपालको जलविद्युतमा लगानी गर्न तयार छ, तर तपाईँहरूले हामीलाई राम्रो परियोजना दिनुपर्छ,’ भेटमा राजदूत साम्सले भनिन् ।

जवाफमा मन्त्री पुनले ठुला आयोजना छनौट गरेर मन्त्रालयको च्यानलबाट जानकारी दिने भन्दै आफ्ना समकक्षी बंगलादेशी ऊर्जामन्त्रीको नेपाल भ्रमणमा त्यसबारेमा टुङ्गो गर्ने गरी अघि बढ्ने प्रस्ताव समेत राखेका थिए ।

साम्सले बङ्गलादेश नेपालको पावर सेक्टरमा सहकार्य गर्न तयार रहेको भन्दै त्यसका लागि बंगलादेशी ऊर्जामन्त्री नेपाल भ्रमणमा आउन इच्छुक रहेको समेत बताइन् । जवाफमा मन्त्री पुनले बंगलादेशी उर्जामन्त्रीलाई छिटोभन्दा छिटो नेपाल भ्रमणमा आमन्त्रण गर्ने जानकारी दिए । 

बंगलादेशी राजदूतले सन् २०२१ सम्म बङ्गलादेशलाई १३ हजार मेगावाट बिजुली आवश्यक रहेको भन्दै नेपालको लागी बङ्गलादेश वैकल्पिक बजार हुन सक्ने सम्भावना रहेको बताएकी थिइन् । उनले पावर सेक्टरमा नेपाल, भारत र बंगलादेशबीच सहकार्य हुनुपर्नेमा जोड दिइन् ।

‘ऊर्जा क्षेत्रमा तपाइहरू सहकार्य गर्न तयार हुनुभयो भने हामी भारतलाई पनि सहयोगका लागि आग्रह गर्छौँ’, उनले अगाडि भनिन्, ‘हाम्रो देशका प्रधानमन्त्रीको भारत भ्रमणमा समेत पावरको क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारतले सहयोग गर्ने सहमति भएको छ ।’

सम्बन्धित सामग्रीहरू