अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

केरुङ–काठमाडां रेलमार्ग रेखांकन कोर्दै चिनियाँ प्रविधिक

अन्नपूर्ण पोष्ट २०७५ जेठ ८ गते १९:२३ मा प्रकाशित

काठमाडौं :  चिनियाँ रेल काठमाडौं ल्याउने प्रक्रिया अगाडि बढाउन चिनियाँ प्राविधिक टोली नेपाल आएको छ। केरुङ–काठमाडौं रेलमार्गको रेखांकन तयार पार्न आएको चिनियाँ प्रविधिक टोलीले काठमाडौंको टोखाबाट पश्चिमतर्फतको स्थानमा स्टेसन बनाउन सम्भाव्यता अध्ययन सुरु गरेको छ। यो टोली मंगलबार नुवाकोटको खरानीटार पुगेको छ।

टोली चिनियाँ रेल केरुङबाट काठमाडौंसम्म आउँदा हुन सक्ने सम्भावित स्टेसन र रेखांकन तय गरेर फर्कंने रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए। उनले मंगलबार अन्नपूर्णसँग भने, ‘चीन सरकारले नियुक्त गरेको चाइना रेल्वे फस्ट डिजाइन एन्ड सर्भे इन्स्टिच्युट ग्रुप कम्पनी लिमिटेडको सात सदस्यीय टोली आइतबार काठमाडौं आएको हो।’ टोली केरुङ–काठमाडौं रेलमार्गको रेखांकन र सम्भावित स्टेनसनको स्थलगत अध्ययनसहित पूर्ण रुट अध्ययन सकेर फर्कंने जानकारी उपाध्यायले दिए।

कम्तीमा एक सातादेखि १० दिनसम्म लगाएर सम्भावित भौगर्भिक बनावट, रेखांकन र उपयुक्त विकल्पको अध्ययन गर्न टोली आएको विभागका महानिर्देशक अनन्त आचार्यले बताए। टोलीसँगै रहेका आचार्यका अनुसार काठमाडौंको टोखा, नुवाकोटको ककनी, बिदुर, स्याफ्रुबेसी, रसुवागढीसहित कम्तीमा सातवटा स्टेसन रहने गरी उपयुक्त स्थानको अध्ययन भइरहेको छ। टोली आफ्नो पूर्ण रुटको स्थलगत अध्ययन गरेर फर्कंने भएकाले तोकिएभन्दा बढी समय पनि खर्चन सक्ने जानकारी आचार्यले दिए।

चिनियाँ रेल काठमाडौं ल्याउन प्रक्रिया आगडि बढाउने विषयमा प्रारम्भिक सहमतिका निम्ति वैशाख १५ देखि २२ सम्म नेपाली टोलीले चीन भ्रमण गरेको थियो। टोली फर्किएपछि चीन सरकारले नियुक्त गरेको प्राविधिक टोली रेखांकन नसकिएसम्म नेपालमा रहने रेल विभागले जानकारी दिएको छ। चीनले सिगात्सेसम्म ल्याइसकेको रेलमार्ग सन् २०२० सम्ममा केरुङसम्म विस्तार गर्दै छ। सोही रेल केरुङबाट रसुवाढी हुँदै करिब ७५ किमिको रेलमार्गबाट काठमाडौं जोड्ने तयारी स्वरूप आवश्यक प्रक्रिया अगाडि बढिरहेको विभागको भनाइ छ।

चिनियाँ रेल पहिले काठमाडौं ल्याउने र सोही रेलमार्गको लाइनलाई आबुखैरेनीबाट एउटा लाइन लुम्बिनी र अर्को लाइनले पोखरा जोड्ने गरी प्रारम्भिक अध्ययन भइरहेको विभागको भनाइ छ। सरकारले सोमबार जारी गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण गर्ने उल्लेख छ। वैशाख पहिलो साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन भ्रमणका क्रममा चिनियाँ पक्षले नै रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिदिने सम्झौता गरेको थियो। सोही सम्झौताअनुसार अब कसरी चिनियाँ रेल काठमाडौं ल्याउने, निर्माण मोडालिटी कस्तो हुने, आर्थिक व्यवस्थापन र रेलमार्ग निर्माणपछि सञ्चालनसहितको मोडालिटीका बारेमा आवश्यक छलफल सुरु भएको छ। स्रोतका अनुसार यसको मोडालिटी प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा तय हुनेछ।

गत भदौ अन्तिम साता तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणका क्रममा यो रेलमार्ग निर्माणका विषयमा केन्द्रित भएर रेलको विषयमा सहमति भएको थियो। चिनियाँ रेल नेपाल ल्याउने विषयमा पटकपटक औपचारिक र अनौपचारिक रूपमा छलफल र द्विपक्षीय सहमति भइसकेको रेल विभागले जानकारी दिएको छ। यो रेलमार्ग बनाउने विषयमा चिनियाँ निजी संस्थाका दर्जनौं प्रस्ताव आए पनि नेपालले औपचारिक रूपमा चीन सरकारलाई आग्रह गरेर जीटुजी प्रक्रियाबाट मात्रै अगाडि बढाउने प्रयास गरिरहेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माका अनुसार नेपालले यो रेलमार्ग ऋण लिएर बनाउन सक्दैन। नेपालले ऋणमा रेलमार्ग बनाउन सक्ने अवस्था नभएकाले अनुदानमै विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) सम्मको प्रक्रिया अघि बढेको छ।

सम्बन्धित सामग्रीहरू