अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

मन्त्रालयको आलटालले विमानस्थल अध्यागमनमा कर्मचारी अभाव

अन्नपूर्ण पोष्ट २०७५ जेठ ८ गते १९:२० मा प्रकाशित

काठमाडौं : सामान्य प्रशासन मन्त्रालयले बेलामा कर्मचारी सरुवा नगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कर्मचारी अभाव भएको छ । गृह मन्त्रालयले तत्काल २ सय कर्मचारी पठाइदिन आग्रह गरे पनि सामान्यले बेवास्ता गर्दा विमानस्थल अध्यागमनमा कर्मचारी अभाव भएको हो । 

अध्यागमनजस्तो संवेदनशील निकायमा आवश्यक कर्मचारी नहुँदा सरकारले सोमबारदेखि २१ घन्टा सञ्चालन गर्न थालेको विमानस्थल सेवासमेत प्रभावित हुने भएको छ । २१ घन्टा सञ्चालनमा विमानस्थलस्थित अन्य निकायले कर्मचारी व्यवस्थापन गरे पनि गृहले अध्यागमन कर्मचारी व्यवस्थापन गर्न सकेको छैन । विमानस्थल अध्यागमन डेस्कमा कुल १ सय २९ जना अधिकृतको दरबन्दी भए पनि अहिले ७५ जनामात्र कार्यरत छन् । अध्यागमन २१ घन्टा ३ सिफ्टमा सञ्चालन गर्न कम्तीमा १ सय २० जना कर्मचारी आवश्यक पर्ने अध्यागमन स्रोत बताउँछ ।

गृहले कर्मचारी पठाउनुको साटो त्यहाँका अध्यागमन कर्मचारीलाई धमाधम सरुवा गर्न थालेको छ । त्रिवि अध्यागमनबाट राजनीति पहुँचका आधारमा सरुवा हुने तर गृहले त्यहाँ जाने कर्मचारीको व्यस्थापन गर्न नसक्दा समस्या जटिल बन्दै गएको स्रोत बताउँछ । गत मंसिर ३ गते अध्यागमन चुस्त बनाउन र सेवाग्राहीलाई सहज सेवा दिन ३ सिफ्टमा सेवा सुरु गरिए पनि चैतदेखि कर्मचारी अभावमा गृहले २ सिफ्टमा झारेको थियो । गृहले ०७० सालमा सांगठनिक सर्भे गरी विमानस्थल अध्यागमन ३ सिफ्ट चलाउनुपर्ने निर्णय गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सोमबार विमानस्थल २१ घन्टा सञ्चालन गर्ने औपचारिक शुभारम्भ गरेसँगै गृहले फेरि ३ सिफ्टमा अध्यागमन सञ्चालन गर्ने तयारी गरेको छ । अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले विमानस्थल अध्यागमन फेरि ३ सिफ्टमा चलाउने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘सरकारको नीति कार्यान्वयन गर्छौं । विमानस्थलमा व्यवस्थापन मिलाइरहेका छौं।’

अध्यागमनका एक कर्मचारीका अनुसार शान्ति मन्त्रालयमा अतिरिक्त समूहका ७÷८ जना कर्मचारी आएका छन् । ‘केही कर्मचारी आएका छन् तर उनीहरू पनि नियमित छैनन्’, विमानस्थल अध्यागमन कार्यालयका एक कर्मचारीले भने, ‘गृहले कर्मचारी पठाएको छैन, दु:खसुख चलाएका छौं । यति थोरै कर्मचारीले २१ घन्टा कार्यालय चलाउन कठिन हुन्छ ।’

गृहको स्वीकृति र सहमतिबिना सामान्यले २ महिनाअघि विमानस्थलस्थित अध्यागमन कार्यालयका ३८ जना कर्मचारी एकैपल्ट सरुवा गरेपछि त्यहाँ कर्मचारीको खडेरी नै भएको थियो । अहिले बिहान ६ देखि २ बजेसम्म एउटा र दिउँसो २ देखि राति साढे १२ बजेसम्म अर्को गरी २ सिफ्टमा विमानस्थल अध्यागमन कार्यालय सञ्चालित छ ।

सम्बन्धित सामग्रीहरू