अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०८ | Colorodo: 15:23

कांग्रेस नेताहरू जिल्ला दौडाहामा, कुन नेता कहाँ ?

अन्नपूर्ण पोष्ट २०७५ जेठ ८ गते १९:१३ मा प्रकाशित

काठमाडौं : कांग्रेसका प्रभावशाली केन्द्रीय नेताहरू जिल्ला दौडाहामा व्यस्त हुन थालेका छन् । असार पहिलो साता कांग्रेसको जिल्ला सभापतिहरूको भेला हेटौंडामा हुँदै छ भने भदौमा महासमिति भेला हुँदै छ । 

वैशाख २१ मा कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचित केन्द्रीय सदस्यको बहुमतबाट पार्टीका पदाधिकारी मनोनयन गरेसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल सुदूरपश्चिमसहित विभिन्न जिल्ला पुगेर नेता कार्यकर्तासँग भेटघाट गरिरहेका छन् ।

पौडेलजस्तै पछिल्लो समय जिल्ला दौडाहामा छन् नेता शेखर कोइराला र कृष्णप्रसाद सिटौला । कार्यकर्ता भेलाका नाममा भइरहेका यस्ता कार्यक्रममा पौडेल र कोइराला दुवै जना सभापति देउवाविरुद्ध लबिङ गरिरहेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं, ललितपुर र भक्तपुरका नेता-कार्यकर्ताको जमघटमा सक्रिय देखिएका छन् । कोइरालाले अघिल्लो साता मात्र चितवन र मकवानपुरलगायत जिल्लामा कार्यक्रम गरे ।

सभापतिविरोधी खेमाका नेतासँगै प्रभावशाली युवा नेताहरूसमेत जिल्ला दौडाहामा देखिएका छन् । अघिल्लो साता गगन थापा कपिलवस्तु, रूपन्देही र स्याङ्जा पुगे । प्रदीप पौडेल लमजुङ र कास्कीलगायत जिल्ला पुगे । चन्द्र भण्डारी शेखर कोइरालासँगै जिल्ला दौडाहामा देखिए । युवा नेताहरूले तीन तहको निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि नेतृत्वको कडा विरोध गर्दै सुधारका लागि संघर्ष गर्ने उद्घोष गरेका थिए ।

संस्थापनविरोधी खेमा जिल्ला दौडाहामा सक्रिय भएपछि सभापतिनिकट नेताहरूसमेत जिल्ला दौडाहामा निस्कन थालेका छन् । उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री डा.प्रकाशशरण महत पनि जिल्ला दौडाहामा निस्केका छन् । निधि शनिबार वीरगन्ज पुगे भने आइतबार अरू जिल्लातर्फ लागेका थिए । सहमहामन्त्री महत सुर्खेतसहित सुदूरपश्चिमको भ्रमण गरी ओखलढुंगातर्फ लागेका छन्।

पार्टीभित्र सभापति र सभापतिइतर पक्षबीच गुटबन्दी देखिइरहेका बेला नेताहरू जिल्ला तहसम्मै आफ्नो धार प्रभावकारी बनाउन दौडाहामा लागेको बुझ्न सकिन्छ । वरिष्ठ नेता पौडेल भन्छन्, ‘पार्टीको छवि र संगठन सुधारका लागि म जिल्ला दौडाहामा लागेको हुँ ।’ नेता सिटौला भने जिल्लाबाट बोलाहट भएकाले जिल्ला लागेको बताउँछन् । प्रदीप पौडेल भने नेताहरूको जिल्ला दौडाहालाई जिल्ला सभापति भेला र महासमिति बैठकसँग सम्बन्ध रहेको बताउँछन् ।

उनले भने, ‘केन्द्रीय कार्यसमिति बैठकबाट पार्टी नेतृत्वले सच्चिने सन्देश नदिएपछि आसन्न भेलामा सहभागीले समेत यो कुरा उठाउन् भन्ने हाम्रो ध्येय छ । महासमिति भेला र जिल्ला सभापति भेला विधान संशोधनका लागि मात्र बोलाउनु हुँदैन । चुनावमा धरासयी पार्टीलाई पुनर्ताजगी गर्ने ठोस रोडम्याप ल्याई अघि बढनुपर्छ ।’(

कुन नेता कहाँ ?

रामचन्द्र पौडेल : सुदूर पश्चिमसहित कर्णालीका जिल्ला

कृष्णप्रसाद सिटौला : पश्चिमका जिल्लाको लगातार भ्रमणमा

शेखर कोइराला : पूर्वका जिल्लापछि अहिले सिन्धुपाल्चोकतिर

शशांक कोइराला : अघिल्लो साता चितवन र मकवानपुरमा

गगन थापा : अघिल्लो साता रूपन्देही, कपिलवस्तु र स्याङजामा

प्रदीप पौडेल : लमजुङ, कास्कीतिर

चन्द्र भण्डारी : सिन्धुपाल्चोकतिर

उपसभापति विमलेन्द्र निधि : वीरगन्जपछि फेरि जिल्लातिर

सहमहामन्त्री डा.प्रकाशशरण महत : सुर्खेतसहित पश्चिमबाट पूर्वको ओखलढुंगातिर

सम्बन्धित सामग्रीहरू