अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८ | Colorodo: 13:33

पूराना नेपाली चलचित्रलाई संरक्षण गर्न डिजिटाईजेशन र रेष्टोरेशन शुरु

बिआरटीनेपाल २०७४ फागुन २७ गते ४:४० मा प्रकाशित

नेपाल चलचित्र विकास वोर्डको अध्यक्षमा नियुक्त भएसँगै निकिता पौडेलको सक्रिएता देखिएको छ । वोर्डमा भएका अनियमितता र चलचित्रक्षेत्रमा देखिएका बिभिन्न समस्यालाई पहिलो प्राथमिकतामा राख्नेछु भन्दै आएकी पौडेलले पूराना नेपाली चलचित्रलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाईजेशन तथा रेष्टोरेशन गर्ने कार्य शुरु गरेकी छिन् । वोर्डको पुस २४ गते अध्यक्ष पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो योजनाको निर्णय गरेको हो ।

निर्णयले सबैभन्दा पहिलो नेपाली चलचित्र ‘आमा’ सहित १२ वटा चलचित्रलाई पहिलो चरणमा डिजिटाईजेशन गर्न लागेको हो । डिजिटाईजेशन भनेको पूराना रिल प्रविधिबाट बनेका चलचित्रहरू खुइलेर जानसक्ने भएकोले त्यसलाई नयाँ डिजिटल प्रविधिमा रूपान्तर गरी संरक्षण गर्ने विधि हो । यसबाट पूराना चलचित्रलाई आधुनिक प्रविधिमार्फत हेर्न सकिनेछ ।

पूराना चलचित्रहरुलाई डिजिटाईजेसनको प्रक्रियामा लैजान विकास वोर्डले यसअघि नै एउटा समिति बनाएको थियो । समितिले पूराना चलचित्रहरुलाई क्रमशः डिजिटलाईजेसन प्रक्रियामा लैजान सिफारिस गरेको छ ।

आगामी असार १६ गते चलचित्र विकास वोर्डको वार्षिकोत्सवमा नेपाली चलचित्रको निमार्ण, उत्पादन शुरु भएको ५० वर्ष नाघेको स्वर्णकालको उपलक्ष्यमा सप्ताव्यापी रूपमा ती चलचित्रहरूलाई फिल्म फेस्टिवलको रूपमा प्रदर्शनीसमेत गर्ने तयारी वोर्डले गरेको छ । पूराना चलचित्रलाई डिजिटाईजेशन गरी एकसातासम्म प्रदर्शन गर्न लागेको अध्यक्ष निकिता पौडेलले बताइन् ।

‘आमा’ सबैभन्दा पहिलो नेपाली चलचित्र हो । वि. सं. २०२१ सालमा छायांकन भएको यस चलचित्र २०२२ सालमा प्रदर्शन आएको थियो । ‘आमा’सँगै ‘के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, परालको आगो, कुमारी, मनको बाँध, परिवर्तन, हिजो आज भोली, बिश्व्वाश, र शान्तिदीप’जस्ता चलचित्र डिजिटाईजेशन हुन लागेको हो ।

प्रतिक्रिया