अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 01:45

मनको जंगलमा हराइरहेका इन्द्रबहादुर राई

कृष्ण धराबासी २०७४ माघ १५ गते ७:२७ मा प्रकाशित

एकपल्ट आँखा बनाउँदा दश बर्षलाई पुग्छ अरे । अब दुई बर्ष त बाँच्नु छ बित्थामा आठ बर्ष किन खेर फाल्नु भनि नबनाई बसेको छु । दुई बर्ष अघि इन्द्रबहादुर राईलाई सिलिगुरीमा भेट्न जाँदा उहाँको आँखाबाट पानी बगिरहेको देखेर हामीले सोध्दा सहजै पाएको उत्तर थियो यो । त्यसको एक बर्ष पछि पोहोर साल काठमाडौं आएर तिलगंगामा उहाँले आँखाको उपचार गरेको खबर रत्नमणि नेपालले भनेका थिए ।

जीवनलाई हेर्ने सजिलो बुद्धिको आँखा छन् आई राईसंग । धेरै पहिले उहाँले आफ्नो जन्मकथाको बारेमा एउटा लेखमा लेख्नु भएको छ , बालासन नदीको पुलमा गएर हेरे मेरो जन्म साल थाहा हुन्छ । सजिलो भन्नु कि अप्ठ्यारो भन्नु यस्ता कुरालाई । तर यी प्रत्येक वाक्यले लामो लामो ब्याख्या माग्छन् । छोटोमा धेरै भन्ने कलाले भरिएको वाक्य रचक हो उहाँ ।

जब म उहाँलाई पढ्न थालें, वाक्यैपिच्छे अडिन थालें । कैयौंपल्ट अलिकति पढ्दै थन्क्याउँदै पनि जान्थें । फेरि निकाल्न मन लागिरहन्थ्यो । गणितको सूत्र रटे झैं पटकपटक दोहोर्याउँदै पढ्दै गर्दा गर्दै आफ्नै प्रकारको बुझाईको अभ्यास हुँदै गयो मलाई । बिस्तारै रुचि बढ्दै गयो र पढ्दै गएँ । धेरै साथीहरुले पढ्न थन्क्याईएका राई मेरो मुख्य पठन सामग्री हुँदै जानु भयो । सरलबाट जटिलतिर उक्लिदै गए मेरा पठन रोजाईहरु । तेस्रो आयाम र लीला मैले संगसंगै पढ्दै गएँ र तिनको समानता र भेदहरु पनि खोज्दै गएँ ।

एक दिन लाग्यो मैले इन्द्रबहादुर राईलाई बुझ्न सिकें र त्यस दिनदेखि उहाँले लेखेका जे पनि सजिला लाग्दै गए । एक दिन नेपाल प्रज्ञाप्रतिष्ठानको सम्पादन कक्षमा अविनाश श्रेष्ठले एउटा प्रकाशोन्मुख कथाको कम्प्युटर लिपि दिंदै भन्नु भो कृष्णजी इन्द्रबहादुर राई सरको नयाँ कथा आएको छ, हेर्नोस् त ।

झ्याल कथा थियो त्यो ।पहिलो वाक्यले नै तान्यो । लेखिएको थियो आइपुग्यो कथामा । कहाँबाट कविता, निबन्ध , उपन्यास, नाटक हुँदै हिंडेको थियो होला , अब कथामा आइपुगेछ । शीर्ष झ्रयाल छ तर भित्र जंगल छ, पहाड छ, नदी छ, जनावर छन् , चरा बारुला के के छन् केके । ध्वनी, रंग,चित्र अनेक छन् कथा भरि ।

शब्दहरु अनेक तिर पोखिएर, छरिएर, बटारिएर तरंगरिएर संगीतमय र कर्कश हुँदै दुर्बोध्यताको खेल खेल्दछन् । पात्र घटना बिषयवस्तु, सन्दर्भ, सन्देश अनेक अपेक्षा गरिन्छ कथाभित्र । झ्याल कथा नकथाहरुको कथा, नपात्रहरुका पात्र, नबिषयहरुको बिषय भएको छ । नछापिदै पढ्न पाएको त्यो कथा छापिए पछि पनि फेरि बुझ्न उत्तिकै समय लाग्यो । म इन्द्रबहादुर राईलाई बुझ्छु भन्ने अहम् बोकेको पाठक तर फेरि मेरा दाँतमा ढुंगा लागे ।

बाघ कथा बुझ्न मलाई त्यस्तै गाहारो परेको थियो । जुन दिन बुझेँ त्यस पछि तीन दिन अरु कुनै कथा पढिनँ । एउटा दिनको सामान्यता, जयमाया आफू मात्र लिखापानी आइपुगी, खीर जस्ता सजिला कथा लेख्ने उनी आँगनको घाममा लाटा, ऊ त्यसरी बाँचेको छ त्यसरी नै, ब्लाक आउट काजु बोदाम छोरा जस्ता अप्ठ्यारा कथा पनि लेखिएका छन् । रात भरि हुरी चल्यो, हामी जस्तै मैनाकी आमा, जार भएकै एउटा कथा जस्ता कथा कहाँ पढ्न पाउनू उहाँले नलेखेको भए । ।

इन्द्रबहादुर राई पहिला सर्जक हुन् त्यसपछि सिद्धान्तकार । उहाँले आफ्नै लेखनसिद्धान्तहरु नबनाएको भए पनि बनिएका कुनै सिद्धान्तको घरको राम्रै आसनमा अडिन पाउनु हुँदो हो । शरीरको उमेरले जित्न नसकेको तरुणो बुद्धिको घाग मानिस हो उहाँ । सन १९९७ को हिउँदमा भारतको सिलिगुरीमा भएको साझा प्रकाशनको शाखा कार्यालयको उद्घाटन कार्यक्रममा नेपाल र भारतका प्रसिद्ध साहित्यकारहरुसंग मेरो हात समातेर डुलाउँदै परिचय गराइदिएको क्षण म कहिल्यै भुल्न सक्दिन । वाद, विवाद, सम्बाद सबैमा तानिदै निरन्तर चिन्तनशील जीवन बाँची आइरहनु भएका इन्द्रबहादुर राई हामी हरेक लेखकका लागि प्रेरणका स्रोत हुनुहुन्छ ।

जहाँ जहिले भेटे पनि संधै साहित्य र दर्शनका कुरा हुन्थे । संधै नयाँनयाँ प्रयोग र लेखनका कुरा हुन्थे । उहाँबाट सधैं आफूले नसुनेका वा नपढेका कुरा सुन्न पाएर खुसी र अचम्म दुबै लाग्थ्यो । कसरी कहिले उहाँ ती कुराहरु पढ्नु हुन्छ होला ? आधुनिक भन्दा आधुनिक कुरा कहाँबाट थाहा पाउनु हुन्छ होला । केके धेरै पढिरहने ठानेर मनमनै अहं भरिएको म जहिले पनि उहाँलाई भेटे पछि फेरि आफ्नै कद जस्तो होचो भएर फर्किन्थेँ । उहाँ भित्रको त्यही ज्ञानको गहिराईले मलाई निरन्तर तानिरह्यो । मलाई कहिल्यै यस्तो लागेन कि अब आई बी राई बुढो हुनु भो । बर्षैपिच्छे शरीरले बुढो हुँदै गए पनि बुद्धिले उहाँ कहिल्यै पुरानो हुनु भएन । सायद त्यही भएर मेरो सबैभन्दा घनिष्ठ बोद्धिक साथी उहाँ नै हुनु भयो । सामान्यतया हरेक बर्ष उहाँलाई भेट्न हामी कहिले दार्जेलिंग कहिले सिलिगुरी पुगिरहन्थ्यौं ।

झापामा कुनै ठीकठीकैको साहित्यिक कार्यक्रम आयोजना गर्ने बित्तिकै हामी उहाँलाई निम्ता गर्न दार्जेलिंग पुगिसक्थ्यौं । अनि उहाँले पनि कहिल्यै हाम्रो निम्तोलाई अस्वीकार गर्नु भएन । २०४५ साल कार्तिकमा झापाको धुलाबारीमा आयोजित तेस्रो आयामको पच्चिस बर्षे समारोहमा पहिलोपल्ट उहाँलाई भेटेदेखि र त्यस समारोहमा उहाँले दिएको प्रवचन सुनेदेखि नै म उहाँको बौेद्धिक व्यक्तित्वबाट प्रभावित भएको थिएँ र त्यो प्रभावले आजसम्म पनि घट्नु परेको छैन ।

इन्द्रबहादुर राईलाई मैले कहिल्यै नयाँ कुरा सुनाउँन पाइनँ । आफूले केके नयाँ कुरा चाल पाएर गयो, कुरो चलाउन खोज्यो, शुरु गरिनसक्दै ए अँ साची अचेल त यस्तो त छ त भनेर त्यस बिषयमा लामो ब्याख्या गर्न थालिहाल्ने ।
दर्शनलाई जीवन र साहित्यमा यस तरिकाले ल्याउन सक्ने अरु कुनै मानिससंग मेरो प्रत्यक्ष संगत हुन सकेन । उहाँ मेरो लागि टाडाको हिमाल हुनसक्नु हुन्छ । अन्धतापूर्णरुपमा म उहाँको प्रशंसक भएको हुनसक्छु । तर यसो भन्न मलाई कुनै धक लाग्दैन कि नेपाली भाषा साहित्यका क्षेत्रमा इन्द्रबहादुर राई जत्तिको अग्लो धुरी ब्यक्ति जीवितरुपमा उहाँका अघि अरु कसैलाई उभ्याउन सकिदैन ।

जीवनको सबै समय दर्शन र साहित्यसंग खेल्दै निरन्तर सिर्जना र सिद्धान्तमा काम गरिरहेर उहाँले हामीलाई आफ्रनै प्रकारका सोच्ने आँखा दिने प्रयत्न गर्नु भएको छ । कहिले तेस्रो आयाम, कहिले लीलालेखन भन्दै तिनको प्रायोगिक सामग्री समेत हाम्रा अघि पस्किएर नेपाली पाठक र लेखकहरुलाई लेख्नु मात्र ठूलो कुरा होइन, लेख्नुसंगै सोचको आधार दिन सक्नु पनि उत्तिकै ठूलो कुरा हुन्छ भन्नु भएको छ । साहित्यका बिभिन्न बिधामा कलम चलाएर हरेक सामग्रीमा नयाँ बिषयको उत्खनन् गर्नु भएको छ । हरेक सिर्जना विशेष अर्थका साथ उभिएका छन् ।

साधारण किसिमले असाधारण बिचार पस्किने उहाँको विशेषता मलाई खास लाग्छ । कुनै पनि सभामा जब उहाँ उभिनु हुन्छ, स्रोताहरु आफ्रना मतहरुलाई केही क्षण स्थगन गरेर ध्यानमग्न हुनपुग्छन् । बिपना कतिपय कथासंग्रहबाट ग्रन्थयात्रामा प्रवेश गर्नु भएका उहाँका डेढ दर्जनजति कृति सार्बजनिक भइसकेका छन् । जति कृति बजारमा आउँछन् तिनले बौद्धिक पाठकसमाजमा विशेष अर्थ बोकेर आएका छन् ।

कतै एक ठाउँमा पढेको थिएँ उहाँले लेख्नु भएको छ मायादेवी थापा नभएकी भए म इन्द्रबहादुर राई नहुने । यो वाक्यले बोक्ने प्रेम र गृहस्थीको सम्बन्धको हामी अर्थ लगाउन सक्छौं । एउटा पुरुष कतिसम्म महिलामा निर्भर हुन्छ भन्ने यो उदाहरण हो । अड्सट्ठी बर्ष अघि तेइस र उन्नाइस बर्षको उमेरमा उहाँहरुले गर्नु भएको प्रेम विवाहले उहाँहरुलाई आदर्श चिन्तनको सुन्दर संसारमा संधै डुलाइरह्यो । मैले उहाँलाई श्रीमती बिना एक्लै परर्देशमा कहिल्यै देखिन । धेर नबोल्ने गम्भिर प्रकृतिकी आमै बोद्धिकतामा आई बी राईकै पत्नी भन्न सुहाउने हुनुहुन्थ्यो । कहिले कही उहाँसंग मात्र कुरा गर्दा मलाई यस्तो लागेको थियो ।

मेरो जीवनको तीस बर्षको संगतमा मैले कहिल्यै इन्द्रबहादुर राईले ब्यक्तिगत वा पारिवारिक कुरा गरेको सुनिनँ । एक किसिमको निरपेक्षता देख्थें उहाँमा । स्थित प्रज्ञ जस्तो लाग्थ्यो उहाँ । मेरो घरमा आमा बित्नु भो , सीताजी बित्नु भो । दुबैसंग उहाँको गहिरो चिनजान थियो । जहिले भेट्दा पनि आमालाई कस्तो छ ? बुहारीलाई कस्तो छ ? भनेर सोधिरहने तर जब उहाँहरु बित्नु भो राई सरले त्यसलाई उस्तो शोकको रुपमा लिए जस्तो लागेन । मलाई लाग्छ मनभन्दा बुद्धिलाई अघि लगाएर बाँचिरहेको हुनुहुन्छ उहाँ यति लामो आयु ।

सन् २०१६ को अगस्तमा ८६ बर्षको उमेरमा आमैको निधन भयो । अड्सट्ठी बर्ष लामो परेवाको जोडी टुटेको थियो । उमेर त शरीरको मात्र हुन्छ मनको हुँदैन । पत्नी शोक भोगिसकेको मलाई उहाँ कस्तो मनस्थितिमा हुनु होला भन्ने बुझ्न गहारो थिएन ।

गत बर्ष हिउँदमा उहाँलाई भेट्न सुमन्त न्यौपाने र म दार्जेलिंग पुग्यौं । सुमन्तले इन्द्रबहादुर राईको लीलालेखनमा बुद्धको शुन्यबाद बिषयमा बिद्यावारिधिको काम गर्दै गरेकाले उनले धेरै जिज्ञासाहरु बोकेका थिए । तर यसपालि महले टन्न भरिएको चाका जस्तो बुद्धिले भरिएको इन्द्रबहादुर हुनुहुन्न थियो लोचनगर दार्जेलिंगमा । शोकलाई शक्तिमा बदलेर बौद्धिकताको युद्धमा हुनु होला । यसपालि सांख्य दर्शन सुन्न पाइएला भन्ने सोचेको मैले उहाँलाई एउटा एकानब्बे बर्षको बुढो मान्छे मात्र भेटें । बोली लर्बरिएको, खुट्टा धर्खरिएका, अनुहार सोहेरिएको, कान कमजोर, एउटा आँखाले बन्दै काम नगर्ने, स्मृति घट्दै गएको । उहाँ पनि एउटा अरु जस्तै सामान्य शोकग्रस्त मानिस हुनु भएको थियो । बुद्धिले साथ छोडेको र मनले शासन गरेको कमजोर पुरुष हुनुभएको थियो ।

छेउमा बसेर सोधें निन्द्रा कत्तिको लाग्छ ?

प्रश्न गरेको निकैबेर पछि भन्नु भो, घरकी जाहान बितेपछि मनमा कुरा खेलिबस्छ । बिहान चार बजे तिर यसो आँखा लाग्छ अनि त फेरि ब्युझिहाल्छु ।

मोती बिन्दुले ढाकिएका आँखामा निराशाको बादल झन् बाक्लो गरि पोतिएको थियो । भुगोलको पल्लै छेउमा पुगेको मैले फेरि उहाँलाई सशरीर भेटुँला कि न भेटुँला भन्ने कुराले भावुक पनि बनिएँ । बोद्धिकतासंग खेलेर कहिल्यै नअघाउने मान्छे एकाएक भावनाको जंगलमा पुग्नु भएको देखें । पत्नी वियोगको यो चोट खप्नु पर्छ भनेर मैले संझाउने ठाउँ थिएन । एकपल्ट फेरि सम्झें सतीदेवीको लास काँधमा बोकेर शिवजी किन हिडे होलान् ।

प्रतिक्रिया