अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३७ | Colorodo: 02:52

कुशेश्वरदेव र खाँडादेवीको दर्शन

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७८ माघ ७ गते २१:५१ मा प्रकाशित

म भ्रमणप्रिय मान्छे भए पनि विगत दुई वर्ष यता कोभिड १९ को बिगबिगीले गर्दा कही कतै पनि भ्रमण गरिएन । कतिसम्म भने थानकोट र साँगा पनि काटिएन । मैले अनेकौँ पटक स्वदेश र विदेशका अनेकौँ ठाउँको भ्रमण गरेको छु । यसमा पनि गहिरिएर हिसाब गर्दा स्वदेश भ्रमणभन्दा विदेश भ्रमण नै निकै बढी गरिएछ । अबचाहिँ मैले विदेश भ्रमणभन्दा स्वदेश भ्रमण नै बढी गर्ने योजना बनाएकाले ‘खगेन्द्र लुइटेल विदेशमात्र घुम्छ स्वदेश घुम्दैन’ भनी प्रत्यक्ष–परोक्ष रूपमा कुरा काट्नेहरूले कुरा काट्नका लागि अर्कै विषय खोज्दै गर्नुहोला… ।

दुई वर्षअगिदेखि नै मेरा प्रिय चेला नवीन केसीले रामेछाप, दोलखातिरको यात्रा गराउने योजना तय गरेका भए पनि परिस्थितिले साथ दिएन । यसपटक पनि मौसम सारै चिसो छ भन्दै निकै पटक जाने तरखर गर्दै रोकिदै गरियो । नवीनलाई त्यतातिर हामीलाई नघुमाई भएकै थिएन र हामीलाई पनि घुम्नु नै थियो । नवीनका गुरु र मेरा अर्का प्रिय चेला ईश्वर चौहानले हामीलाई त्यतातिर लिएर जाने जिम्मा लिएकाले उनी गोर्खाबाट कीर्तिपुर आइसकेका थिए ।

काठमाडौंको मौसम चिसै थियो । देशभर पानी पर्ने र चिसो बढ्ने भन्ने मौसम पूर्वानुमान महाशाखाको भनाइलाई पूर्वानुमान त हो नि भनी बेवास्ता गर्दै २०७८ पुस २३ गते शुक्रबार बिहान ठ्याक्कै साढे दस बजे कीर्तिपुरबाट हाम्रो यात्रा प्रारम्भ भयो । सुस्त गतिमा यात्रा गर्ने निधो गरेर बल्खु, कोटेश्वरको जाम छिचोल्दै हामी बनेपा पुग्यौँ । त्यहाँ दलीय जिल्ला अधिवेशनको चहलपहल रहेछ । ठूलो फोटोसहित राजनेता लेखिएका ब्यानर गाडी, रुख, बिजुलीका पोल जताततै प्रशस्तै देखिए । बाइक, बस र टयाक्टरमा समेत झन्डा हल्लाउँदै मानिसहरू धुलिखेलतिर जादै थिए । भिड छिचोलेर अगि बढ्दै धुलिखेल पार गरियो । उताबाट पनि मान्छे ओसार्ने गाडी प्रशस्तै आइरहेकै थिए । केही पर पुगेपछि त्यस्ता गाडी आउन छाडेकाले अलि ढुक्क भयो । राज जोडिएका शब्दसँगै वैरभाव राख्ने र राजमार्गलाई समेत लोकमार्ग बनाउनेहरूले आफ्ना नेतालाई चाहिँ लोकनेता भन्न बाँकी नराखेको देख्दा अचम्मै लाग्छ… । यस्तैयस्ता अनेक कुरा गर्दै हाम्रो यात्रा अगि बढिरह्यो ।

गाडीको मिटरले ८० देखि १०० किलोमिटरको गति देखाउथ्यो तर मलाई गाडीको गति त्यति बढी नभएको अनुभूति भइरहेको थियो । चालकलाई ‘गति अलि बढी भएन भाइ’ भनी सोध्दा उनले हाँसेर जबाफ दिए ‘यसको मिटर नै बिग्रेको छ सर । ‘बिग्रेको मिटरले डबल देखाउँदो रहेछ, देखाएभन्दा आधा गतिमै गाडी गुडेको स्पष्ट भयो । अनेक घुम्ती र गल्छेँडा पार गर्दै हामी सिन्धुली दुम्जाको नेपालथोक भन्ने ठाउँमा पुगेर रोकियौँ । लामै समय विदेश बसेर आएका युवा दाजुभाइले भरखरै होटल खोलेका रहेछन् । विदेश गएका युवा स्वदेश फर्किएर व्यवसाय सञ्चालन गरेको देख्दा मनै फरुङ्ग भयो । त्यहीँ खाजा खाएर केही फोटा खिची हामी अगि बढ्यौँ ।

केही पर पुगेपछि चालकले देब्रेपटिको कच्ची बाटोतिर गाडी मोडे । रोसी किनारमा कुशेश्वर महादेवको मन्दिर रहेछ । मन्दिरको प्रवेशद्वारको दायाँबायाँ दुवैतिर छाप्रामा पूजासामग्री, फलफूल र किराना सामान बेच्ने साना पसल देख्दा त्यहाँ दर्शनार्थीको आवतजावत हुने कुरा बुझियो ।
हामी गाडीबाट उत्रिएर मन्दिर परिसरमा प्रवेश गर्‍यौँ । त्यहाँ प्रवेश गर्नेबित्तिकै त्यहाँको रुखमा टाँगिएको ब्यानरमा मेरा आँखा अडिए । त्यहाँ यस्तो लेखिएको थियो:
शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए संस्कार ।
संस्कार हराए पहिचान हराउछ, पहिचान हराए राष्ट्र ।

त्यस्तै गरी अर्काे रुखमा टाँगिएको ब्यानरमा यस्तो लेखिएको थियो:
हवनले पवन शुद्ध, शाकाहारी भोजनले शरीर शुद्ध,
भक्तिले भावना शुद्ध अनि समर्पणले प्रेम शुद्ध
योगध्यानले आत्मा शुद्ध र दानकर्मले धन शुद्ध
सत्कर्मले मन शुद्ध अनि सत्सङ्गले ज्ञान शुद्ध ।

यी कसले लेखेका हुन् भन्ने थाहा भएन तर जसले लेखेका भए पनि दुवै ब्यानरमा लेखिएका अभिव्यक्ति निकै सुन्दर र मननीय लागे ।

सिन्धुली, रामेछाप र काभ्रेको सङ्गमस्थलका रूपमा रहेको उर्वरभूमि दुम्जा फाँटको सुवर्णकौशिकी/सुनकोसी र रोसीको सङ्गमस्थललाई दुर्गातीर्थ/दुर्गाघाट भनिन्छ । अझ भनौं सुनकोसी र रोसीको सङ्गम कुशेश्वर क्षेत्रलाई दुर्गातीर्थका रूपमा पनि लिने गरिन्छ । कुशेश्वरलाई शिवजीका चौसठ्ठी ज्योतिर्लिङ्गमध्ये सर्वप्रथम दर्शन गर्नुपर्ने सर्वश्रेष्ठ, पहिलो वा आदिलिङ्ग मानिन्छ । दुर्गातीर्थमा स्नान गरी ब्रह्माजीले सृष्टिका लागि तपस्या गर्दा सर्वप्रथम उत्पन्न भएको लिङ्ग भएकाले यसलाई आदिलिङ्ग मानिएको ठानिन्छ । यही कुशेश्वरको पूजाअर्चनाबाट कुष्ठरोग निको भई विरूपाक्ष पशुपतिनाथको दर्शनार्थ गएको पनि जानकारी पाइन्छ ।

तपोभूमि/पावनभूमि मानिने कुशेश्वर महादेवमा उहिलेदेखि अनेकौँ ऋषिमुनि, देवर्षिहरूले पूजाआराधना र तपस्या गरेर ठूलो फल प्राप्त गरेका र अहिले पनि फल प्राप्त हुने विश्वास गरिन्छ । अहिले पनि कुशेश्वर महादेवको पूजाआराधना, दर्शन र पितृश्राद्ध गरेमा पुस्तौँदेखिको सम्पूर्ण पापबाट मुक्ति पाइने, कुष्ठरोग निको हुने, सुखशान्ति मिल्ने ठानिन्छ । कुशेश्वर महादेवको दर्शन गरेपछि मात्र पशुपतिनाथको दर्शन गरेको फल पाइने विश्वास रहेको देखिन्छ ।

हाम्रा पुर्खा कौशिक ऋषिले पूजा गर्ने देवताको नाम कौशिकेश्वरबाट कुशेश्वर नाम रहन गएको मानिन्छ । कुशेश्वर महादेवलाई मध्यक्षेत्रका पशुपतिनाथ, हलेशी महादेवलाई पूर्वक्षेत्रका पशुपतिनाथ र नेपालगञ्जका जुँगे महादेवलाई पश्चिमक्षेत्रका पशुपतिनाथ भन्ने गरेको पनि पाइन्छ । कुशेश्वर महादेव क्षेत्रका छेउछाउ सुनकोसीको किनारमा दुर्गाघाट, विश्वामित्रले तपस्या गरेको विश्वामित्र गुफा, कौशिक ऋषिको आश्रम आदि धार्मिक–ऐतिहासिक स्थल पनि रहेको मानिन्छ ।

सुनकोसीमा स्नान गरी महादेवको पूजाआराधना गर्दा महादेव प्रसन्न भई स्त्रीबाहेक अरू कसैले पनि मार्न नसकून् भन्ने बरदान पाएका शुम्भ, निशुम्भ नामक दैत्यबाट पराजित देवताहरूले ब्रह्माजीको सल्लाहअनुसार कुशेश्वर महादेवको आदिलिङ्गमा गएर देवीको आराधना गरेपछि अष्टादश भुजायुक्त जलदेवी प्रकट भएर राक्षसको वध गरी देवताहरूको उद्धार गरेको ठानिन्छ ।
कुशेश्वर महादेवको उत्पत्तिबारे अनेकौँ किम्बदन्ती र जनश्रुति पाइन्छन्, जस्तै–

  • उहिल्यै एउटा सिकारी सिकारको खोजी गर्दै जाँदा वनमा रात परेको, हिंस्रक वन्यजन्तुका डरले बेलका रुखमा चढेर बास बसेको, वन्यजन्तुले आक्रमण गर्ने र रुखबाट लडिने डरले रातभर ननिदाएको, बेलको रुखका फेदमा कुशेश्वर महादेवको मूर्ति रहेको, बेलको हाँगा भाँचिएर फेदको ढुङ्गामा झरेको, त्यो दिन शिवरात्री परेको, बेलपत्र झरेपछि प्रसन्न भएर कुशेश्वरले सिकारीलाई दर्शन दिएको, सिकारीको अज्ञानता हटेर ऊ शिवभक्त बनेको, उसले वन फाँडेर मन्दिर बनाई नित्यपूजा गर्न थालेको ।
  • बेलुका बास बस्न पुगेका बटुवाहरू बेलका रुखको फेदमा एउटा ढुङ्गा भएका ठाउ“मा अरू दुईवटा ढुङ्गा राखेर चम्का बनाई भात पकाउन लाग्दा ढुङ्गो हल्लिएर भात पोखिएको, बटुवाले झोंकिएर पन्युले ढुङ्गामा हिर्काउ“दा ढुङ्गा चोइटिएर रगत बगेको, त्यसपछि बटुवाले देवता रहेछन् भनी पूजा गर्न थालेको ।
  • परापूर्वकालमा यस क्षेत्रमा रहेको कुशघारीमा गोठालाले गाई चराउने गरेको, एकजना किसानको कैली गाईले दुध नदिएपछि गाईको चियो गर्दा गाईले कुशघारीमा गई चारै थुनबाट दुधको धारा झारेको गोठालाले देखेको, गोठालाहरूले त्यस ठाउ“मा खनेर हेर्दा शिवलिङ्ग फेला पारेको र पूजा गर्न थालेको ।
  • निकैअगि एकजना मुसलमान हिन्दु मन्दिर भत्काउँदै नेपाल आएको र सुनकोसीको बाटो भएर आउँदा कुशेश्वर मन्दिरमा आई तरबारले शिवलिङ्ग काटेको ।

कुशेश्वर महादेवको उत्पत्तिका बारेमा उल्लिखित जेजस्ता किम्बदन्ती र जनश्रुति भए पनि कुशेश्वर मन्दिर एउटा आस्थाको केन्द्र अवश्यै हो । यस मन्दिरमा विभिन्न राजाखलकले खेतबारी गुठी दिएको, चाँदीको चँदुवा र तामाको जलहरी चढाएको, धर्मशाला बनाएको र कुशेश्वरको नित्यपूजा गराएको पनि जानकारी पाइन्छ । यहाँ अहिले पनि नित्यपूजा हुने गर्छ । सुनकोसी र रोसीको दोभानमा अवस्थित कुशेश्वर मन्दिरमा अहिले पनि शिवरात्री, बालाचतुर्दशी, तिज, ठूलीएकादशी, रामनवमी, कृष्णजन्माष्टमी आदि पर्वमा मेला लाग्छ । यही कुशेश्वर महादेव धार्मिक–सांस्कृतिक तीर्थस्थलका दृष्टिले मात्र नभएर पर्यटकीय दृष्टिले पनि मनोरम छ तर उपयुक्त व्यवस्थापन र प्रचारप्रसारको अभावका कारण यो स्थान ओझेलमा परेको देखिन्छ ।

कुशेश्वर महादेवको मन्दिर निकै पुरानो भए पनि कतिपय संरचना नयाँ बनाइएका रहेछन् । प्राचीन गुम्बज शैलीमा निर्मित कुशेश्वर महादेव मन्दिरको गजुरमा सुनको मुलम्मा÷मोलम्बा (जलप) लगाइएको रहेछ । ढुङ्गामाथि पहेँलो रङ्गमा निर्मित बसाहा पनि निकै आकर्षक थियो । त्यही परिसरमा चौसट्ठी शिवलिङ्ग, गुम्बज शैलीको सौर्य मण्डलीय शक्तिपीठ, महामृत्युञ्जय शिव गोरखनाथ स्वरूपका साथै गणेश, नारायण आदिका मूर्तिहरू पनि निर्माण गरिएका रहेछन् ।

कुशेश्वर महादेवलगायत यस धार्मिकस्थलमा रहेका सबै देवीदेवताको दर्शन गरी यात्रा अगि बढाइयो । बीपी राजमार्गमा पर्ने सिन्धुली रामटार पुगेपछि हाम्रो यात्रा पुनः देब्रेतिरै मोडियो । सित्खाबाट सुनकोसी नदी पार गरी अगि आएकै बाटाका हाराहारीको विपरीत दिशाको उकालो कच्ची सडकबाट हाम्रो यात्रा रामेछापतिर अगि बढ्यो । त्यहाँ सोझो पुल नभएकाले निकै घुमेर पुलमा पुग्नुपर्ने अवस्थाका कारण यसो भएको हो । त्यहाँको प्राकृतिक दृश्यचाहिँ रुखपातसमेत उति नभएको उराठलाग्दो रहेछ ।

अबको हाम्रो गन्तव्य रामेछाप जिल्लाको खाँडादेवी मन्दिर थियो । बीच बाटोतिर पुगेपछि डोजरले बाटो बनाउदै गरेको हुँदा हामी केहीबेर रोकियौँ । त्यहाँ अलि बढी नै समय लाग्ने देखियो । त्यत्तिकैमा मोटरसाइकलमा आएका एकजना भाइले यताबाट जान सकिन्छ भनी कर गरेपछि हामी पनि उनका पछिपछि लाग्यौँ । सारै साँघुरो कच्ची बाटोबाट हामीलाई पहिले जाने बाटोमै पु¥याई त्यहाँबाट अगि बढ्ने बाटो देखाएर उनी अर्कातिर लागे । हेलमेट लगाएकाले ती भाइको अनुहार देखिएन र उनको नाम पनि थाहा भएन ।

मानवता हराउदै गएको वर्तमान युगमा अपरिचित मान्छेलाई यसरी हार्दिक सहयोग गर्ने यस्ता सहृदयी व्यक्ति भेट्दा प्रसन्न नहुने कुरै भएन । उनैले बताएबमोजिम उकालो बाटो अगि बढ्दै हामी खाँडादेवी मन्दिर पुग्यौँ । बाटो निकै उकालो कच्ची भए पनि अरू गाडीको आवतजावत नभएकाले हामीलाई खासै सकस भएन । उकालो चढ्दै जाँदा पहिले देखिएका अग्लाअग्ला डाँडा पनि पुन्टापुन्टा देखिनथाले ।

खाँडादेवीकै नामबाट नामकरण गरिएको खाँडादेवी गाउँपालिकाको वारिपारिका गाउँ सबै देखिने निकै अग्लो ठाउँमा अवस्थित खाँडादेवी मन्दिरबाट हेर्दा वारिपारिका अन्य सबै डाँडाहरू निकै होचा लाग्थे । विकासका नाममा डोजर चलाएर जताततै भत्काएको र पहिरो लडेको, विकासका नाममा विनास निम्त्याएर प्राकृतिक सौन्दर्य नष्ट पारेको उराठलाग्दो दृश्य त झन् टड्कारै देखिन्थ्यो ।

सडक बन्नुपूर्व खाँडादेवी मन्दिर पुग्न विभिन्न बाटा रहेछन् । कुशेश्वर महादेवको दर्शन गरी खैरेनीघाटबाट सुनकोसी नदी तरेर कच्ची बाटो हुँदै, मूलकोटको झोलुङ्गे पुल तरेर सित्खा हुँदै पैदलयात्रा गरी नेवार बस्ती रहेको भिरपानीको बाटो हुँदै तथा मूलकोट गैरीपुछारको डप्खाघाटबाट झोलुङ्गे पुल तरी माझी बस्ती रहेको डप्खा पार गरेर पनि खाँडादेवी पुग्न सकिने रहेछ ।

खाँडादेवीको उत्पत्तिबारे विभिन्न किम्बदन्ती र जनश्रुति पाइन्छन् । रोसी र सुनकोसीको सङ्गमस्थलमा रहेको कुशेश्वरमा देवीले शुम्भ, निशुम्भ नामक राक्षसलाई बध गरी दुर्गानदीमा खड्ग पखालेर खाँडादेवी मन्दिर रहेको स्थानमा खड्ग गाडी कालिन्चोकमा अन्तध्र्यान भएको मानिन्छ ।

१५१५ साल माघ १५ गते मङ्गलबार उत्पत्ति भएको मानिने खाँडादेवी मन्दिरमा १५७३ सालमा पकरबासका स्थानीय बासिन्दाले चढाएको घण्ट अहिले पनि देखिएकाले यो मन्दिर निकै पुरानो भएको स्पष्ट हुन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानमा पूर्वी किल्लालाई मजबुत तुल्याउन सिन्धुलीगढीपछि खाँडादेवीमा सहायक गढीस्वरूप किल्ला बनाएको जानकारी पाइन्छ । उनी खाँडादेवीसँग युद्धमा विजय प्राप्तिको आशीर्वाद माग्न त्यहाँ गएको जनश्रुति पनि छ । पृथ्वीनारायण शाहले सिन्धुलीगढीमा विजय प्राप्त गरेपछि खाँडादेवीको शिलालाई राजधानीमा ल्याउने योजना बनाई सेनालाई आदेश दिएको, सेनाले कतै पनि नबिसाई ल्याएको शिलालाई साँगामा ल्याएर बिसाउँदा शिला अलप भएको, अर्को पटक भक्तपुरको खोपीढुङ्गामा ल्याएर बिसाउँदा शिला फेरि पनि अलप भएको हुँदा शिला राजधानी ल्याउन नसकेपछि उनले खाँडादेवीलाई हाँस र बोका, कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले र भैरवदेवीलाई राँगा बलि दिने आदेश दिएको जनश्रुति रहेको छ ।

कुनै बेलाका राजाले रामेछापको गेलुकी सुकमाया पहरीलाई रानी बनाउन दरबारमा लगेको, उनी दरबारमा खुसी नभएपछि गेलुमा नै फर्काइदिएको, उनी खाँडादेवीनिर आइपुग्दा अलप भएको र तितेपातीको छाप्रो बनाई मान्छेबाट अदृश्य भएर बसेको रोचक जनश्रुति पनि पाइन्छ । अहिले पनि दसैंका बेला त्यहाँ तितेपाती चढाउने गरिन्छ रे । गेलुका पहरी जातिले खाँडादेवीलाई आफ्नी चेली मानेर पूजा गर्छन् रे अनि अहिले गेलुमै खाँडादेवीको मन्दिर बनाई पूजा गर्न थालेका छन् रे । गेलुका पहरीहरूले बडादसैंको फूलपातीमा केरा, उखु, अदुवाको बोट, छ्याङ, राँगा, बोका, कुखुरा, हाँस, परेवा, माछाका साथै सौभाग्यका सामग्री ऐना चुरा, धागो, सिन्दुर, टीका खाँडादेवीलाई चढाउने प्रचलन पनि कायमै छ रे ।

खाँडादेवी मन्दिर धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय दृष्टिले पनि उल्लेख्य रहेको छ । धार्मिक एवं पर्यटकीय स्थल खाँडादेवीको डाँडो भौगोलिक रूपमा निकै अग्लो भएकाले मौसम सफा भएका बेला त्यहाँबाट चारैतिरका हिमाली र पहाडी शृङ्खला, दोरम्बा, गाल्पालगायत वरपरका डाँडापाखा, बेंसी, टार, सुनकोसी नदी आदिको दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँका लालीगुराँसले पनि पर्यटकलाई आकर्षित गर्छ । त्यहाँ पिकनिक स्पट बनाइदिएमा पनि पर्यटन विस्तार हुने देखिन्छ ।

सुन्दर र मनमोहक पर्यटकीय गन्तव्य खाँडादेवी जाँदा आँपचौर, पकरबास, गागल, भिरपानी, मझुवा, माकादुम, राकाथुम आदि ठाउँको पनि भ्रमण गर्न सकिन्छ । खाँडादेवीको वरपर सिद्धदेवी, सिद्धकाली र सिंहदेवी गरी त्रिदेवी, कुशेश्वर महादेव मन्दिर, मुकुटेश्वरी, सहस्रधारा, सुनापति, थानापति आदि पवित्र धार्मिकस्थल पनि रहेका छन् । निकै पहिलेदेखि शक्तिपीठका रूपमा रहेको खाँडादेवीमा बडादसैं र चैतेदसैंमा ठूलो मेला लाग्छ । खाँडादेवी मन्दिरसम्म जाने सडक बनेपछि सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा, ओखलढुङ्गा, तराईका विभिन्न ठाउँका साथै काठमाडौंबाट पनि अरू जुनसुकै समयमा दर्शनार्थी र आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको जानकारी पाइन्छ । मन्दिरको प्रचारप्रसार अलि बढेपछि धार्मिक पर्यटक बढ्न थालेको देखिए पनि खाँडादेवी मन्दिर प्रचारप्रसारको कमीले ओझेलमा परेको शक्तिपीठ भएकाले यसको प्रचारप्रसार आवश्यक देखिन्छ ।

सित्खादेखि खाँडादेवी मन्दिरसम्म जाने केवुलकार निर्माणबारे चर्चा र सम्भाव्यता अध्ययन भएको बुझिए पनि नेपालका काम ढाँटको निम्तो खाइपत्याउनु भनेजस्तै भएकाले कुनै टुङ्गो छैन । साँच्चै केवुलकार निर्माण भयो भने खाँडादेवीमा रामेछाप र सिन्धुली वरिपरिबाट मात्र नभई काठमाडौँलगायत विभिन्न ठाउँबाट दर्शनार्थीको चाप बढी मनकामनाजत्तिकै आन्तरिक धार्मिक पर्यटन प्रवर्धन हुने देखिन्छ ।

अहिले खाँडादेवी मन्दिर नजिकैसम्म गाडी पुग्दोरहेछ । त्यहाँबाट मन्दिरसम्म जाने सिँढी बनाइएको रहेछ । हामी सिँढी चढ्दै मन्दिरतिर लाग्यौँ । सिँढीको दुवैतिर फूल रोपिएका र सिँढीको देब्रेपटि ह्विलचेयर गुडाउने बाटो बनाइएको देख्दा आनन्द लाग्यो । खाँडादेवी मन्दिरको संरक्षण र विकासका लागि केही काम भइरहेको देखियो । पुरानो मन्दिरका ठाउँमा नयाँ मन्दिर र फलैँचा पनि निर्माण गरिएको रहेछ । हामीले मन्दिर परिसरको परिक्रमा गरेपछि खाँडादेवी मन्दिरभित्रै पसेर दर्शन गर्‍यौँ । मन्दिरका एकछेउमा शिवलिङ्गको पनि स्थापना गरिएको रहेछ ।
खाँडादेवी मन्दिरका पूजारी तामाङ जातिका रहेका छन् । सबै मन्दिरका पूजारी बाहुन मात्र हुँदैनन् भन्ने यो राम्रो उल्लेख्य उदाहरण हो । पहिले केही समय खा“डादेवीमा नियमित पूजा भएन रे र दरबारको आदेशबाट नियमित पूजा हुन थालेको रे । अहिले त्यहाँ नियमित पूजाका लागि पालो बाँधिएको रहेछ । खाँडादेवीलाई दुर्गानदी/दुर्गातीर्थको जलले दिनहुँ नुहाउने गरिन्छ रे ।

मनले चिताएको पुग्छ भन्ने विश्वासका साथ खा“डादेवी मन्दिरमा घन्टी र त्रिशूल चढाउने प्रचलन रहेछ । यही विश्वासले मन्दिर परिसरमा साना–ठूला प्रशस्तै घन्टी झुन्ड्याइएकाले त्यहाँ घन्टी झुन्ड्याउने ठाउँ पनि सकिएछ । त्यहाँ यति धेरै घन्टी र त्रिशूल जम्मा भइसकेका रहेछन् कि तिनको व्यवस्थापन गर्न नसकी एकाछेउमा घन्टी त्यत्तिकै थुपारिएको र त्रिशूलचाहिँ चाङ लगाएर राखिएको रहेछ । धन्न त्यहाँबाट घन्टी र त्रिशूल अन्यत्रै लगेर बेच्ने मान्छेचाहिँ त्यहाँ पुगेका रहेनछन् । त्यहाँ घन्टी र त्रिशूल चढाउने भक्तजनलाई नै दानपेटिकामा केही रकम राख्न लगाएर प्रसादका रूपमा अर्को एकएकवटा घन्टी र त्रिशूल दिने गरेमा तिनको व्यवस्थापन पनि हुने, भक्तजन पनि खुसी हुने र मन्दिरको आयस्रोत पनि बढ्ने देखिन्छ ।

अमेरिका, युरोपतिरका विभिन्न पुलमा प्रेम सदैव रहिरहोस् लभ लक भनिने ताल्चा लगाएर चाबीचाहिँ नदी वा समुद्रमा फालिदिने प्रचलन प्रशस्तै देखिन्छ । कतिपय मुलुकका पुलमा त पुलले ताल्चाको वजन धान्नै नसक्ने अवस्था उत्पन्न भई प्रतिबन्ध लगाउनुपर्ने स्थिति पैदा भएको पनि देखिन्छ । खाँडादेवी मन्दिरमा घन्टी र त्रिशूल चढाउने तथा पश्चिमी मुलुकका पुलमा ताल्चा झुन्ड्याउने प्रचलनलाई जनआस्था र लोकविश्वासका रूपमा लिइन्छ ।

बडादसैं र चैतेदसैंमा मेला लाग्ने र पञ्चबलि पनि दिइने यस मन्दिरमा बलि दिनाका लागि मन्दिरबाहिर छुट्टै व्यवस्थापन गरिएको रहेछ । प्रवेशद्वारमा घुमिरहने विद्युतीय सूचना पाटी तथा ठूलाठूला दुईवटा गाग्रीसमेत राखिएका रहेछन् । प्रवेशद्वारको विद्युतीय सूचना पाटीमा शून्य डिग्री सेल्सियस देखाइए पनि त्योचाहिँ होजस्तो लागेन किनभने त्यहाँ त्यति चिसो थिएन । मन्दिर पुगेर फर्किँदा मात्र थाहा भयो सुरुमा ह्विलचेयर गुडाउने भन्ठानेको बाटो त बलि दिएका जनावर घिसार्ने बाटो पो रहेछ… ।

आजको दिन देवदेवीको दर्शनमै बित्यो । हामी खाँडादेवीको दर्शन गरी वारिपारिको दृश्यावलोकन गर्दै ओरालो लाग्यौँ । त्यहाँबाट हाम्रो यात्रा मन्थलीतिर अगि बढ्यो । रात परेर अँध्यारिँदै गएकाले बीचतिर उति देखिएन । ईश्वर चौहान पहिले लामै समय मन्थली बसेका रहेछन् । उनले सबै ठाउँबारे जानकारी गराउदै लगे । आठ बज्न लाग्दा हाम्रो गाडी मन्थली बजारको जि.एस. होटलअगाडि पुगेर रोकियो । नवीन केसी हाम्रो स्वागतका लागि पर्खिरहेका रहेछन् । रामेछाप उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष पशुपतिबहादुर खड्काका घरमा सुदीप देवकोटाले सञ्चालन गरेको त्यो होटल त्यहाँको राम्रो होटलमा गनिने रहेछ । त्यस दिन त्यहाँ पनि दलीय अधिवेशनले गर्दा भिडभाड नै रहेछ तर त्यसले हामीलाई सबैभन्दा माथि लगिएकाले कुनै असर गरेन । हामीलाई होटलको सातौँ तलाको कोठा नम्बर ३०२ मा पुर्‍याइयो । त्यहाँ पुग्नेबित्तिकै फ्रेस भएर स्कुस र स्कुसको तरुलले भोक मेटाइयो । हाम्रो स्वागतार्थ मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका पूर्वप्रमुख तथा मन्थली माविका प्रधानाध्यापक टङ्कप्रसाद दाहाल पनि आइपुगे । हामी केहीछिन गफगाफ गरी खानपिन गरेर सुत्यौँ ।

अग्लो होटलमा लिफ्ट नभएकाले माथि जानचाहिँ अलि गारै भए पनि होटलको व्यवस्थापन भने राम्रो लाग्यो । होटलको छतबाटै तामाकोसीका साथै वारिपारिको दृश्यावलोकन गर्न सकिने रहेछ ।