अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

वातावरण र साहित्य

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७८ भदौ २ गते ७:२० मा प्रकाशित

अङ्ग्रेजी शब्द Environment/Atmosphere को नेपाली रूपान्तरण वातावरण शब्दले सामान्यतया पर्यावरण वा परिवेश भन्ने बुझाउँछ । वातावरण शब्दको कोशीय अर्थ पृथ्वीको चारैतिर फैलिएको हावा; प्रत्यक्ष–परोक्ष रूपले जीवन, प्राणी, वस्तु, वनस्पति वा अन्य कुरामा प्रभाव पार्ने आसपासको अवस्था वा परिस्थिति; पृथ्वीको कुनै स्थान वा क्षेत्रको अवस्था, आफ्ना वरपरको हावापानी, प्राकृतिक परिवेश आदि भन्ने हुन्छ ।

मानिस, जनावर, वनस्पति आदिका वरपरको अवस्था वा परिस्थिति नै वातावरण हो । वातावरणलाई प्राकृतिक वातावरण (कसैले बनाएका नभई आफसेआफ बनेका खोलानाला, ताल, नदी, समुद्र, वनजङ्गल, हिमाल, पहाड, मैदान आदि) र सामाजिक–सांस्कृतिक वातावरण (मानव निर्मित चाडपर्व, व्रत, उत्सव, चालचलन, प्रथा आदि) गरी दुई भागमा विभाजन गर्ने गरेको पाइन्छ । यसैगरी वातावरणलाई स्थूल, सूक्ष्म, भौतिक, जैविक आदि अनेक ढङ्गले विभाजन गरिएको पनि भेटिन्छ ।

वातावरण मानिसका लागि मात्र नभएर पृथ्वीमा बसोबास गर्ने सम्पूर्ण जीवजन्तु, कीटपतङ्ग एवं वनस्पतिका लागि पनि उतिकै आवश्यक हुने हुँदा यो स्वच्छ, स्निग्ध र सुन्दर हुनुपर्छ । समग्र प्राकृतिक संसार वा भौगोलिक क्षेत्रविशेषको वातावरणलाई मानवीय क्रियाकलापले प्रभाव पार्छ । वातावरण आफैँ बिग्रिने कुरा होइन, यसलाई बिगार्ने प्राणी मूलतः मान्छे नै हो । हुनत मान्छेलाई संसारको सर्वश्रेष्ठ, बुद्धिमान्, विवेकी, चेतनशील आदि अनेक विशेषणयुक्त प्राणी भन्ने गरेको पाइन्छ तर यो पूर्ण सत्य होइन । यी अरू कुनै प्राणीले भनेको नभई मानिस आफैँले आफैँलाई भनेका कुरा हुन् । वास्तवमा मानिस संसारको सबैभन्दा दुष्ट, पापिष्ट, छली, कपटी, स्वार्थी, ईष्र्यालु, प्रतिशोधी, अवसरवादी, आडम्बरी र चुर्के प्राणी हो । विविध बानीव्यवहार, यौनादि क्रियाकलापलगायतका अनेक सन्दर्भमा मानिस अन्य जनावर वा पशुपक्षीभन्दा निकृष्ट प्राणी हो । पशुपन्छीमा यौनादि क्रियाकलापको निश्चित समय हुन्छ तर मान्छे कुनै समयसीमा नभएको अराजक प्राणी हो । यस्ता कुरा सुन्दा कतिपयलाई रिस उठ्न सक्छ तर वास्तविकता यही हो ।

मान्छेका कतिपय व्यवहारलाई पाशविकवृत्ति भन्ने गरिन्छ तर यो पशुलाई गरिएको गालीगलौज मात्र हो । मानिसले आफूलाई यसो भनेको कुरा पशुले बुझ्दैन र मात्रै बुझ्ने भएको भए सबै पशु एक भएर मान्छेलाई उहिले नै ठोकिसक्ने थिए । पशुपन्छीले विविध क्रियाकलापका माध्यमबाट इकोसिस्टम कायम गरेको हुन्छ तर मान्छेमा यस्तो हुन्न र उसले सब बिगारिरहेको हुन्छ । गिद्ध, स्याल आदि प्राणीले मरेका अन्य प्राणीको मासु खाएर वातावरणमा फैलिने प्रदूषणलाई जोगाइरहेका छन् तर मान्छेले यत्रतत्र फोहोर गरेर वातावरण प्रदूषित तुल्याइरहेको छ । यसर्थ वर्तमान विश्वमा वातावरण बिगारेको कुनै पशुपन्छीले नभएर मान्छेले नै हो ।

वर्तमान विश्व नै वातावरण प्रदूषणबाट आक्रान्त छ । यसको प्रमुख कारक मानिसकै क्रियाकलाप हुन् । यसमा भूकम्प, सामुद्रिक आँधी, बाढी, पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोपमा समेत मानव निर्मित संरचनाको विनाशबाटै वातावरण प्रदूषित हुन्छ । मानिसले प्राकृतिक स्रोतको अतिक्रमण र दुरुपयोग गरी वातावरण विनाश गरिरहेको छ । उद्योगधन्दा, अस्पताल आदिबाट विसर्जित केमिकल, कच्ची सडकको धुलो, सवारीसाधनबाट उत्पन्न धुँवा, इँटाभट्टालगायत विभिन्न उद्योगधन्दाबाट उत्पन्न धुलोधुँवा, वन फँडानी, काठ तस्करी, आगलागी, अव्यवस्थित बालुवा–गिटी–ढुङ्गा खानी, वनस्पतिको विनाशबाट हुने भूक्षय हुने र जलाशय सुक्ने अवस्था, मरुभूमीकरण, आणविक दुर्घटना, कृषि उपजमा रासायनिक मल र विषादिको अधिक प्रयोगबाट हुने उर्वराशक्तिको ह्रास, बढ्दो सहरीकरण आदि वातावरण प्रदूषणका प्रमुख कारक हुन् र यिनैबाट वातावरण प्रदूषित बन्नपुगेको छ । यस्ता क्रियाकलापबाट वन्यजन्तुको विनाश हुने, जलस्रोत सुक्ने, भूक्षय, बाढी, पहिरो, खडेरी आदिको प्रकोप बढ्ने गरेको देखिन्छ । यसप्रकारको वातावरण प्रदूषणले अनेक प्रकारका रोगव्याधि र महामारीसमेत फैलिएर ठूलो क्षति भइरहेको छ ।

यति मात्र होइन विकासका नाममा विनाश निम्त्याएको पनि देखिन्छ । डाँडापाखा, खोलाकिनार आदिको कटान गरी बालुवा, गिटी, ढुङ्गा निकाल्ने, बाटो खन्ने निहुँमा डाँडापाखा जताततै डोजर चलाउने, वन फँडानी गर्नेजस्ता कार्यबाट बाढी, पहिरो आई सिङ्गो बस्ती नै ध्वस्त पारेको, बगरमा बनाइएका घर बगाएर प्रशस्त धनजनको क्षति भएको अवस्था पनि देखेभोगेकै घटना हुन् । मानिसले प्रकृतिमाथि अतिक्रमण गरी त्यसलाई आफ्नो नियन्त्रणमा लिन खोज्दा तथा प्रकृतिमाथि विजय प्राप्त गर्ने असम्भव दुष्प्रयास गर्दा यसप्रकारको विनाश भएको हो ।

यसप्रकारको वातावरणीय विनाशको जगेर्नाका लागि कतिपय काम पनि भइरहेका छन् । संयुक्त राष्ट्र सङ्घलगायत विभिन्न सङ्घसंस्थाले विभिन्न ऐन, नियम कानुन बनाएर तथा विभिन्न कार्यक्रम सञ्चालन गरेर वातावरण जगेर्नाका लागि कार्य गरिरहेका छन् । संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउँछ । विश्व वन्यजन्तु संरक्षण कोषले पनि वातावरण संरक्षणमा केही काम गरिरहेको छ । दुर्लभ पशुपक्षीको संरक्षण गर्ने, वन्यजन्तुको चोरीसिकारी रोक्ने र त्यसो गर्नेलाई दण्डित गर्ने, सञ्चार माध्यमबाट वातावरण जगेर्नासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरी जनचेतना जगाउने, विभिन्न अनलाइन, युट्युब, छापा पत्रिका, पुस्तक आदिका माध्यमबाट पनि यसप्रकारका क्रियाकलाप विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले समेत गरिरहेका छन् । धनी राष्ट्रले गरिब राष्ट्रलाई आर्थिक सहयोग गर्नाका लागि कोषको स्थापना पनि गरेका छन् । यिनलाई वातावरण संरक्षणका दिशामा चालिएका महत्वपूर्ण कदम मान्नुपर्छ ।

वास्तवमा वातावरणको जगेर्ना ऐन, नियम, कानुन बनाएरभन्दा आम जनमानसलाई सचेत गराएर त्यसमा सबैलाई संलग्न गराउनु अपरिहार्य छ । प्रत्येक घरका फोहोरको व्यवस्थापनदेखि सहर, बजार, उद्योगधन्दा, कलकारखाना, अस्पताल आदिबाट निस्किने फोहोरको व्यवस्थापन नियम, कानुन लादेरभन्दा मानसिक रूपमै सचेत भएर गरिएमा मात्र वातावरण सफा हुन्छ र जोगिन्छ । ट्राफिक प्रहरीलाई देख्दा मात्र ट्राफिक नियम पालना गर्ने र यताउति ट्राफिक नदेख्दा नियम उल्लङ्घन गरिहाल्ने मानवीय दुष्वृत्तिलाई त्यागेर यो नियम आफ्नो सुरक्षाका लागि पालना गर्ने हो भन्ने चेतना सबैमा पैदा भएमा दुर्घटना स्वतः न्यून हुन्छ । त्यसैगरी वातावरणको संरक्षण अर्काका लागि नभएर आफ्नै लागि हो भन्ने चेतना पैदा भएपछि मात्र प्रदूषण न्यून भई वातावरणमा स्वच्छता कायम हुन्छ ।

पृथ्वी मानिसको मात्र नभई यहाँ बसोबास गर्ने समस्त जीवजन्तु र वनस्पतिको पनि भएकाले यी सबैको संरक्षण आवश्यक छ । त्यसका लागि वन फँडानी गर्ने, प्राकृतिक जडिबुटी नष्ट गर्ने, चोरीसिकारी तथा काठ तस्करी बन्द गर्ने, जताततै फोहोर नगरी त्यसको उचित व्यवस्थापन गर्ने र सरसफाइ गर्ने कार्यमा आम सर्वसाधारण सचेत भएमा विश्वमै वातावरणको संरक्षण हुन्छ ।

जल, थल, आकाश, वायु, सूर्य, चन्द्र, ग्रह, नक्षत्र आदिको कुनै निश्चित सीमा हुँदैन । यी विभिन्न देशका सीमाभन्दा पर हुन्छन् । यिनलाई कुनै राजनैतिक वा भौगोलिक सीमाले रोक्न छेक्न सक्दैन । यति मात्र होइन यिनलाई कुनै वाद, धर्म, जातजाति, वर्ग, वर्ण, लिङ्ग आदिका सीमामा पनि आबद्ध गर्न सकिन्न । वातावरण यत्रतत्र सर्वत्र फैलिएकाले यसलाई कोही कतै पनि कुनै कारणबाट सीमाबद्ध गर्न सकिन्न । वातावरणको संरक्षण गर्नु भनेको सिङ्गो पृथ्वी र यसभित्र बसोबास गर्ने मानव, पशुपक्षी सबलाई जोगाउनु हो । वनस्पतिको विनाशबाट वन्यजन्तु र चराचुरुङ्गीहरूको पनि विनाश हुन्छ । मानिसकै असावधानीबाट जल, थल, आकाश, वायु, सूर्य, चन्द्र, ग्रह, नक्षत्र आदिको वातावरण प्रदूषित भइरहेको छ । मानवजातिका परिचायक भाषा, साहित्य, संस्कृति र कलाझैँ प्रकृति र वातावरण जोगाउन पनि त्यतिकै आवश्यक हुन्छ ।

वातावरण जोगाउन वातावरण साहित्यको पनि उल्लेख्य भूमिका रहन्छ । वातावरण साहित्यको तात्पर्य साहित्य नै वातावरण हुने नभई वातावरण विषयसम्बन्धी साहित्य भन्ने हो । यसलाई इको लिटरेचर वा इको साहित्य पनि भन्ने गरिन्छ । पहिलेदेखिका साहित्यले सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक आदि विभिन्न विषयलाई महत्व दिइएको पाइए पनि वातावरण विषयक साहित्यलाई खासै महत्व दिएको पाइन्न । हुनत कतिपय लोकरचनामा प्रकृतिको मानवीकरण गरिएको भेटिन्छ । परिष्कारवादी धाराका कवितामा वस्तुपरक ढङ्गले तथा स्वच्छन्दतावादी धाराका कवितामा आत्मपरक ढङ्गले प्रकृतिचित्रण प्रशस्त मात्रामा गरिएको पाइन्छ भने प्रयोगवादीलगायत अन्य विभिन्न कवितामा प्रकृतिका विभिन्न बिम्ब, प्रतीकहरूको प्रयोग गरिएको पनि पाइन्छ । नेपालीमा मात्र नभएर संस्कृत, अङ्ग्रेजी, हिन्दी, मैथिलीलगायतका कवितामा पनि यस्तो प्रवृत्ति भेटिन्छ ।

प्राचीन कालदेखि नै पूर्व र पश्चिम दुवैतिर प्रकृति विषयक काव्यको सिर्जना प्रशस्त मात्रामा गरिएको पाइन्छ । पूर्वको प्रचीनतम ग्रन्थ ऋग्वेदमा नै व्यापक रूपमा प्रकृतिको मानवीकरणका साथ प्रकृतिका विविध रूपको चित्रण गरिएको छ । आफ्ना काव्यकृतिमा प्रकृतिलाई आलम्बन, उद्दीपन, उपमान, बिम्ब, प्रतीक, अलङ्कार आदिका रूपमा चित्रण गर्ने परिपाटी पछिसम्म नै विस्तारित छ । नेपाली, संस्कृत, अङ्ग्रेजीका विभिन्न कविले प्रकृति काव्यको सिर्जना गरेको पनि पाइन्छ । नेपालीका प्रसिद्ध कवि लेखनाथ पौड्यालको प्रसिद्ध काव्य ऋतुविचार, संस्कृतका प्रसिद्ध कवि कालिदासका प्रसिद्ध काव्य ऋतुसंहार, मेघदूत, अङ्ग्रेजीका प्रसिद्ध कवि जेम्स थम्सनको प्रसिद्ध काव्य द सिजन्स आदिका कृतिमा प्राकृतिक सौन्दर्यको चित्रणका साथै प्रकृतिका शान्त, रौद्र, भयानक आदि विविध रूपको चित्रण गरिएको छ । हिन्दीका केशवदास तथा मैथिलीका विद्यापतिलगायत कतिपय कविका काव्यकृतिमा पनि प्रकृतिचित्रण प्रशस्तै पाइन्छ । प्रकृतिचित्रणमा केन्द्रित यस खालका सबै कविका कवितालाई वर्तमान सन्दर्भमा भन्ने गरिएको वातावरणीय कविता नै भन्नचाहिँ मिल्दैन ।

साहित्यको विषय के हुनुपर्छ भन्ने कुरा सर्जकको चयनमा भर पर्छ तापनि त्यसको चयनमा युगीन प्रभाव अवश्य पर्दछ । हाल विश्वमा वातावरण प्रदूषणका कारण यसको जगेर्नाका लागि वातावरण विषयमा केन्द्रित रहेर प्रशस्तै कवितादि साहित्य सिर्जना गरिएका छन् । वातावरण जोगाउने खालका जनचेतनामूलक साहित्य सिर्जनामा साहित्यकारहरू पनि सचेततापूर्वक सक्रिय हुनु जरुरी छ । वातावरणीय सौन्दर्यको वर्णन गरिएका साहित्य प्रशस्तै छन् । परिष्कारवादी एवं स्वच्छन्दतावादी कविहरूले गरेका प्राकृतिक सौन्दर्यको चित्रणलाई पनि वातावरण साहित्य मान्न सकिए पनि अब प्राकृतिक सौन्दर्यको चित्रणले मात्र नपुगेर त्यसको विनाशबाट जगेर्नाको स्वर पनि मुखरित हुनु जरुरी छ ।

अबको साहित्य वातावरणमा रहेका प्राकृतिक सौन्दर्यको चित्रणमा मात्र केन्द्रित नभई वातावरणमा रहेका कुरूप पक्षको समेत चित्रण गरेर तिनलाई सुन्दर बनाउने उपायसहितको सन्देश दिने खालको हुनु आवश्यक छ । अबको साहित्य फूलको सौन्दर्य वर्णनमा मात्र सीमित नरही भमरा र मौरीको गुञ्जन र तिनको समेत संरक्षणतर्फ केन्द्रित हुनुपर्छ । यसरी वातावरण जोगाउन जनचेतना जगाउने खालका रचनाको सिर्जना गर्न साहित्यकारहरू पनि सचेततापूर्वक क्रियाशील हुनु जरुरी छ ।

त्रिभुवन विश्वविद्यालय
नेपाली केन्द्रीय विभाग, कीर्तिपुर