अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

सनतको अभिनन्दनमा वसन्तीको प्रेम

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७८ असोज १८ गते ९:३१ मा प्रकाशित

२०७८ असोज ६ गते नेपालगञ्जमा वरिष्ठ साहित्यकार सनत रेग्मीको अभिनन्दन तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका चौहत्तरदेखि नब्बे वर्षसम्मका दसजनाको सम्मान कार्यक्रम मेरो प्रमुख आतिथ्यमा सम्पन्न गरी सनतजीलाई लिएर बर्दियाको सिडिओ सन्तबहादुर सुनारको विशेष आमन्त्रणमा म ६.३० बजेतिर बर्दिया लागें । कार्यक्रम अलि ढिलो सकिएकाले नेपालगञ्जबाट त्यता जान केही ढिला भयो । हामीलाई त्यस रात बस्ने बन्दोबस्त ठाकुरद्वारामा गरिएको र आफू त्यहा पुगिसकेको कुरा सिडिओले मलाई बताइसकेका थिए । त्यो ठाउ मेरा लागि नया थियो । गाडीका चालक अमित श्रीवास्तव बर्दियाकै भएकाले उनलाई त्यहाँको बाटोघाटो सब राम्ररी थाहा रहेछ ।

हामी ८.३० बजे ठाकुरद्वाराको बर्दिया गैंडा क्याम्प रिसोर्ट पुग्यौं । सिडिओ, वार्डेन, कर्णेल, सशस्त्रका डिएस्पीलगायत निकै जना खाना नखाई मलाई नै कुरिरहेका रहेछन् । स्वागतसत्कार र केही क्षणको भलाकुसारीपछि खानपिन गरियो । पानी पर्दैथियो । बिहान पानी नपरेमा हामीलाई राष्ट्रिय निकुञ्ज घुमाउने योजना बनिसकेको र गाइड गर्ने मान्छेसमेत खटाइसकेको कुरा जानकारी गराइयो । खानपिनपश्चात् सिडिओहरू गुलरियातिर लागे हामी त्यहीं सुत्यौं । रिसोर्ट निकै आरामदायी रहेछ । बिहान ७ बजेतिर मात्र उठियो । दस कठ्ठा क्षेत्रमा फैलिएको त्यस रिसोर्टका मालिक रामजीबाबु थापासँग गफ गर्दै ब्रेकफास्ट गरियो । उनी निकै फस्र्याइला रहेछन् ।

बिहान पानी परेन, मौसम सफा थियो । हामीलाई घुमाउने गाडी आइपुग्यो । वार्डेन विष्णु श्रेष्ठले हामीलाई चालक मनोज राना र निकुञ्जका सहायक वार्डेन कुशराज गोलेलाई जिम्मा लगाए । गोले भाइलाई काठमाडौंबाट आएको सिडिओको प्रोफेसरलाई राम्ररी डुलाउनु भनिएको रहेछ, सो कुरा उनले हामीलाई पनि बताए । प्रोफेसरको महत्त्व बुझ्ने खालका मान्छे रहेछन् ।

गोले भाइले सुरुमै बाँधिएका हात्ती र गैंडा देखाए । नेपालमा सबैभन्दा बढी जङ्गली हात्ती रहेको बर्दिया राष्ट्रिय निकुञ्ज हो र यस निकुञ्जमा ८० वटाजति जङ्गली हात्ती रहेको ठानिन्छ । नेपालमा सबैभन्दा बढी गैंडा रहेको ठाउँ चितवन राष्ट्रिय निकुञ्ज हो । त्यहाँबाट केही वर्ष पहिले ८३ वटा गैंडा बर्दिया राष्ट्रिय निकुञ्जमा ल्याइएकामा हाल यो सङ्ख्या घटेर ३० जति मात्र रहेको ठानिन्छ । त्यहाँ हात्तीसार नजिकै राखिएको गैंडाले मान्छे मारेका कारण जन्मकैद गरिएको रहेछ । कैदीसँग फोटो खिचियो । कैदी भलादमी र मायालु नै रहेछ तर पहिले किन सन्किएछ कुन्नि। गैंडा सन्किएकै बेला मान्छेले त्यसका आँखा फुटाइदिएका रहेछन् । मान्छेको बदलाभाव…!

अब पालो आयो बाघ हेर्ने । केही पहिले मान्छेलाई आक्रमण गरी मारेका कारण कैद गरिएको डरलाग्दो बाघ हेरियो, त्योचाहिं त्यसबेला पनि सन्किरहेकै थियो… । बर्दिया राष्ट्रिय निकुञ्जमा ८३ वटाजति बाघ रहेको अनुमान गरिएको छ । डरलाग्दो बाघ हेरेको लगत्तैपछि डरलाग्दो गोही हेरियो । गोही प्रजनन केन्द्रमा सानाठूला प्रशस्तै गोही रहेछन् । त्यहांं कसैलाई केही नगर्ने मुखको माथिल्लो भाग भाँचिएको एउटा टिठलाग्दो गोही पनि रहेछ । कछुवाका माउदेखि बच्चासम्म थुप्रै रहेछन् ।
यी सब हेरिसकेपछि हाम्रो यात्रा जङ्गलतिर अगाडि बढ्यो । मृगका शाखासन्तानसहित विभिन्न जनावर र चराचुरुङ्गी हेर्दै जङ्गल घुमियो । सुन्दर मृगहरू जताततै देखिए । बर्दिया राष्ट्रिय निकुञ्जमा सानादेखि ठूलासम्मका रतुवा, लगुना, चित्तल, बारसिंगा र जरायो गरी पाँच प्रजातिका मृग पाइने जानकारी पाइयो ।

पानी नपरेकाले बाटो हिलो थिएन । बीचबीचमा मचान चढेर टाढाटाढासम्म अवलोकन गरियो । एक ठाउँमा त जुका पनि लाग्यो, तराईमा जुका अचम्म…! एक ठाउँमा हात्तीको बथान भरखरै हिंडेको पाइला देखियो । सनतजीको मुहार केही डराएको जस्तो देखियो । गोले भाइले हात्ती सधैं बथानमा र बाघ सधैं एक्लै हिंड्ने जनावर भएको, केही नगर्दा बथानको हात्तीले पनि आक्रमण नगर्ने तर बथानबाट छुटेको हात्तीले भने आक्रमण गर्नसक्ने आदि कुरा बताएपछि सनतजीको मुहारमा मन्दमुस्कान छायो । उनले वरपरका विभिन्न जनावर, चराचुरुङ्गी, रूखका प्रजाति, घाँसेमैदान आदि देखाउंदै लगे । ठूलो क्यामराले फोटो पनि खिच्दै गए । उनलाई निकुञ्ज र वन्यजन्तुबारे राम्रो ज्ञान रहेछ । बीचबीचमा पढाइसम्बन्धी जिज्ञासा पनि राख्दै गए । उनको व्यवहार निकै भद्र र शालीन थियो ।

गोले भाइ हामीलाई गाइड गर्दा प्रसन्न थिए, प्रसन्नता उनका मुहारमा प्रस्टै देखिन्थ्यो भने हामी पनि मजाको अनुभवी गाइडसँँग घुम्न पाउँदा प्रसन्न थियौँ । यात्रामा यस्तो दोहोरो प्रसन्नता कमै मात्र हुने गर्छ । हँसिलो, रसिलो, फुर्तिलो, रमाइलो र सिपालु गाइड भएकाले समय बितेको पत्तै भएन, हामीलाई सारै सजिलो भयो, निकुञ्जबारे यावत् जानकारी प्राप्त भयो र समय पनि बच्यो ।

हामीलाई जङ्गलबाट फर्काएर ल्याएपछि गोले भाइले निकुञ्जको सूचना केन्द्र र थारू सङ्ग्रहालयका सबै वस्तु देखाए । त्यस निकुञ्जमा जनशक्ति र अर्थको निकै अभाव झल्कन्थ्यो । जनशक्ति र अर्थको समुचित व्यवस्थापन गरेमा यो ठाउँ निकै राम्रो पर्यटन केन्द्र हुने र आम्दानीको राम्रो स्रोत बन्नेमा कुनै शङ्का छैन तर कमाउ धन्दामै व्यस्त सत्ताधारीहरूको यतातिर ध्यान जाने होइन… ।

यी सबै अवलोकन गरी निस्कँदै गर्दा त्यहाँको कार्यालयकै छेउछाउमा एउटा सुन्दर जनावर देखियो । त्यो मृग नभएर नीलगाई रहेछ, नामचाहिँ वसन्ती… । वसन्ती भन्नेबित्तिकै दौडेर लुटपुटिन आउँदो रहेछ । गोले भाइले त्यससँग फोटो खिच्न सकिने बताए । त्यसको छेउमा फोटो खिच्न जाँदा सुरुमा त डरडर पनि लाग्यो तर त्यसले देखाएको मायालु व्यवहारले अचम्मित तुल्यायो । वसन्तीको आँखामा आँसु टिलपिलाइरहेको देखिन्थ्यो । त्यसको थुतुनुमा भर्खरै सानो चोट लागेको रहेछ, केही रगत पनि बगिरहेको थियो । वसन्तीले मलाई घाउ देखाएर औषधीको याचना गरिरहेझैं लाग्थ्यो । के गर्नु म परें सुइ नहान्ने डाक्टर। एकछिन सुमसुम्याउँदा ऊ झन् मायालु पाराले लुटपुटिन थाल्यो । नीलगाईको त्यो अद्भुत मायालु व्यवहार कहिल्यै कतै अनुभूत गरिएको थिएन । यतिखेर दुई खुट्टेभन्दा चार खुट्टेमा बढी मानवीयता देखिन थालेको छ त्यसैले होला यतिखेर म पनि दुई खुट्टेभन्दा चार खुट्टेलाई नै बढी रुचाउन थालेको छु । त्यसैले पनि मलाई कैदी गैंडा र नीलगाई सारै मन परे । तिनीहरूसँग प्रेमभाव बढ्यो। अझ वसन्तीसँगको प्रेमभाव त अविस्मरणीय नै रह्यो । निकुञ्ज घुमाइसकी हामीलाई वार्डेनको क्वाटरमा पुर्‍याएर गोले भाइ बिदा भए । खाना पाकिसकेको रहेछ । धेरैतिर घुम्ने योजना भएकाले खाना खाएर त्यहाँबाट हिँडिहाल्नु उचित ठानियो । बर्दियाबाट सिडिओले पठाएको अगिल्लै दिनको गाडी आइसकेको थियो । बाटैबाट ठाकुरद्वारा मन्दिरको दर्शन गर्दै हामी चिसापानीतर्फ लाग्यौं । बाटो राम्रै भएकाले गाडीको गति तीव्र नै थियो । बाटोबाटै जङ्गलमा एउटा बाघ देखियो तर गाडी नरोकी हिंडियो । गाडी रोकेर बाघसँग प्रेम गर्ने हिम्मत गरिएन, कैदी र वसन्तीसँगको प्रेम नै काफी भइसकेको थियो… । बाघसँग प्रेम गर्दा त…। अन्त भने ठाउँठाउँमा गाडी रोक्दै फोटो खिच्दै अगि बढ्दै गइयो ।

हामी लुम्बिनी प्रदेश पार गरेर कर्णाली प्रदेश प्रवेश गर्‍यौं र चिसापानी पुग्यौं । ठाउँको नाम चिसापानी भए पनि उति धेरै चिसोचाहिँ थिएन । चिसापानीका माछा मिठा हुन्छन् रे तर हामीलाई त्यसतिर रुचि थिएन । हामी कर्णाली पुल पुगेर रोकियौं । २०५० साल मङ्सिर २८ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट उद्घाटित ५०० मिटर लामो केबल स्टेड ब्रिज (नदीमा खम्बा नगाडी लट्ठाले अड्याइएको पुल) का रूपमा रहेको यो एसियाको दोस्रो पुल मानिन्छ । त्यस ठाउँबाट नजिकै देखिने डाँडाकाँडा र त्यो पुल दुवै सुन्दर रहेछन् । पञ्चायत कालपछि बनाइएका पुलमध्ये अहिलेसम्म यो पुल नभाँचिएको, नबिग्रिएको देख्दा खुसी लाग्यो । त्यस ठाउँलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने देखिए पनि कसले गर्ने यस्तो सुकर्म, सबै सत्तालिप्सामै मस्त…। त्यहाँ पर्यटन सूचना केन्द्र लेखिएका ठाउँमा फोटा खिचेर हामी अगि बढ्यौं ।

हामी टीकापुर क्षेत्रको बाटाको दुर्दशा नियाल्दै निर्माणाधीन खड्ग स्मृति रङ्गशालाको टिठलाग्दो अवस्था हेर्दै महेन्द्र उद्यानमा पुगेर रोकियौं । त्यो उद्यान खासै गतिलो नलागेकाले केही फोटा खिचेर बाटो लाग्यौं । उद्यानलाई पनि राम्रो पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिछ तर हामीकहाँ राम्रो उद्यान बनाउने संस्कार बसेकै छैन । उद्यान नजिकै केराका परिकार मात्र पाइने बनाना रेस्टुरेन्ट रहेछ तर हामीले भर्खरै खाना खाएकाले त्यतातिर लागिएन ।

कैलाली सत्ती टीकापुरमा अवस्थित नेपालकै सबैभन्दा ठूलो विश्वकै दुर्लभ प्राचीन शिवलिङ्ग श्री पद्म प्रकाशेश्वर महादेव मन्दिरमा पुगेर शिवलिङ्गको दर्शन गरियो । पूर्वाभिमुख शिवलिङ्ग त्यहाँ बाहेक अन्त कतै नभएको जानकारी त्यहाँका पूजारीले गराए । धार्मिक पर्यटनका दृष्टिले यो ठाउँ उल्लेख्य देखिन्छ ।

दुर्लभ शिवलिङ्गको दर्शनपश्चात् केही फलफूल खाएर अगि बढियो । चालक भाइले केही वर्षअगि टीकापुरमा भएको हत्याकाण्डस्थल देखाए । त्यो हृदयविदारक हत्याकाण्डको सम्झनाले मन कटक्कै काटियो तर त्यसलाई पनि सत्तालिप्सामै गाँसियो र अझै गाँसिदैछ… । विडम्बना मेरा देशको…।

टीकापुरबाट हामी इलाका प्रशासन कार्यालय बर्दिया राजापुर पुग्यौं । त्यहाँका प्रमुख सुनील दत्तले हामीलाई स्वागत गरे । त्यहाँ केही क्षण आराम गर्‍यौं र बिदा भएर गाडीबाटै राजापुर बजार परिक्रमा गर्‍यौं । त्यहाँ २०१८ सालमा स्थापित अमर सहिद श्री दशरथ चन्द माध्यमिक विद्यालयमा केहीबेर रोकियौं । म २०४५ सालमा एस.एल.सी. परीक्षाको विशेष निरीक्षणका लागि त्यस विद्यालयमा गएको थिएँ । अहिलेसम्म त्यस विद्यालयको हालत खासै सुधार भएको रहेनछ । हुनत अन्त कहाँ पो सुधार भएको छ र त्यो भएन भनी गुनासो गर्नु…।

राजापुर बजार परिक्रमापश्चात् हामी अगि बढ्दै कोठियाघाट पुग्यौं र १०१५ मिटर लामो कर्णाली (गेरुवा) पुलको अवलोकन ग¥‌र्यौ‌‌ ‍‌। त्यही ठाउँमा २०४५ सालमा गाडीसहित फेरीबाट तरिएको थियो । अहिले गाडीमा पुलबाट नदी तर्दा आनन्द लाग्यो । यसलाई नेपालको सबैभन्दा लामो पुल मानिन्छ । हुनत १४५२.९६ मिटर लामो दोधारा चाँदनी पुल र ११५० मिटर लामो कोसी पुल यो पुलभन्दा लामा छन् । यिनमा दोधारा चाँदनी पुल झोलुङ्गे पुल भएको, कोसी पुल बाँध भएको तर यो पुल नदीका दुई भङ्गाला र बीचको जमिनसमेत ओगटेको पक्की पुल भएकाले यसलाई नेपालको सबैभन्दा लामो पुल मानिएको हो । यो पुल पनि अहिलेसम्म भाँचिएको, बिग्रिएको रहेनछ…। पछिल्लो समयमा बनेका पूर्वतिरका पुल मात्र धेरजसो भाँचिएका, बिग्रिएका रहेछन्, पश्चिमतिरका त बाँकी नै रहेको देख्दा कोहीकोही ठेकेदार त ठीकै रहेछन् भन्ने लाग्यो ।

लामो पुल तरेर हामी अगि बढ्यौं र केही बेरमै हामी बर्दिया कृष्णसार संरक्षण क्षेत्रमा पुग्यौं । गुलरिया नगरपालिकाभित्र खैरापुरमा रहेको यो तराईको एक मात्र कृष्णसार संरक्षण क्षेत्रको स्थापना र घोषणा २०६५ सालमा तथा कार्यालय स्थापना २०६७ सालमा भएको हो । १६.९५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस संरक्षण क्षेत्रमा बासस्थान क्षेत्र ५.२७ वर्गकिलोमिटर र आवादी क्षेत्र ११.६८ वर्गकिलोमिटर छ भने बासस्थान क्षेत्रको परिधि १०.१५ किलोमिटर छ ।

नेपालीमा कृष्णसार भनिने चिटिक्क परेको सुन्दर जनावरलाई अङ्ग्रेजीमा blackbuck भनिन्छ । संस्कृतमा कृष्णसारको भालेलाई हर्नार र पोथीलाई हर्नी तथा हिन्दीमा भालेलाई काला र पोथीलाई गोरिया भनिन्छ । कृष्णसार स्तनधारी जनावर हो । यसको गर्भाधान समय ६ महिना र प्रजनन क्षमता १ हुन्छ । यसको लम्बाइ १००–१५० सेन्टिमिटर, उचाइ ७३–८३ सेन्टिमिटर, सिङको लम्बाइ ४५ सेन्टिमिटर हुन्छ । १२–१५ वर्ष आयु हुने यसको वजन ३२–४२ केजीसम्म हुन्छ । निकै तेज गतिमा दौडिने यसको गति ८० किलोमिटर प्रतिघण्टा हुन्छ । शाकाहारी वर्गको दुर्लभ वन्यजन्तुमा पर्ने यो जनावर निकै सुन्दर हुन्छ । हामी कृष्णसार संरक्षण क्षेत्रमा गाडीमै घुम्यौं । त्यति बेला पोथीभन्दा भाले कृष्णसार धेरै देखिए । बानी परेकाले हो कि हामीसँगको प्रेमभावले हो हामीलाई देख्दा कृष्णसार डराएर भागेनन् । नजिकैबाट फोटा खिच्दा पनि फोटो खिच्ने पोजमै उभिइरहे ।

जिल्लामा घटित विविध घटनाबारे छलफल गर्दै निकै समय बिताइयो । मैले घरैमा गएर बर्दिया घुम्न आउनु भन्दा गर्मी छ, फुर्सद छैन भनेर टार्ने सर तपाईंले भन्नेबित्तिकै आउनुभएछ भन्दै उनले मृदु मुस्कानका साथ सनतजीस“ग गुनासो गरे । जसरी भए पनि सर आउनुभो भन्दै खुसी व्यक्त गरे । कुरा सत्य थियो । सिडिओले दुईतीन पटक भन्दा पनि मैले टारेकै हो । सनतजी मुस्कुराइरहे म कुरा सुनिरहें । हामी खानपिन गरेर सुत्यौं । राती गर्मी त के ब्ल्याङ्केट नै ओढ्नुप¥यो ।

सनतजी पनि मेरो पचहत्तरौँ जन्मदिन यादगार बनाइदिनुभो डाक्टरसाब भन्दै भावविभोर भए, खासमा यादगार बनाइदिने त डाक्टरसाब नभएर सिडिओसाब पो त मित्र… । सनतजी सारै सरल र भद्र व्यक्ति । उनीसँग यात्रा गर्न पनि सारै सहज…।

अर्को दिन बिहान ८.२० मा नेपालगञ्जबाट काठमाडौं उड्नु थियो । सिडिओले तपाईंलाई धेरै समय दिन सकिन, स“गै घुम्न पनि सकिन आदि भन्दै हामीलाई हार्दिकतापूर्वक बिदाइ गरे । उनको शालीन र भद्र व्यवहारबाट हामी द्रवीभूत भयौं । समय ढिलिंदै थियो । हामीलाई समयमै एयरपोर्ट पुग्नु थियो । ६.४५ बजेतिर अमित भाइले गाडी हुइँक्याए । सोझै एयरपोर्ट गइयो । मलाई बिदाइ गरेर सनतजी घरतिर लागे । बुद्ध एयरको जहाज आइसकेको रहेछ । जहाज समयमै उड्यो र अवतरण पनि भयो । बुद्ध एयर सुध्रिएको हो कि यसपटक संयोग परेको हो पछि थाहा होला… ।

म घरमा आई झोला बिसाएर लुगा नै नफेरी हतारहतार विभागतिर लागें । पूर्वनिर्धारित कार्यक्रमअनुसार त्यस दिन एमफिलका थुप्रै शोधार्थीको शोधप्रस्ताव प्रतिरक्षा थियो…। दिनभर त्यसैमा व्यस्त…।

यसपटक पूर्वको एउटै जिल्लाका दुई केपीको पश्चिमका बाँके–बर्दिया दुई जिल्लाको यात्रा एउटै समयमा परेछ । एउटा भूत भइसकेका केपी कार्यकर्ता उकासेर फर्किए भने अर्को कहिल्यै भूत नहुने केपी विशिष्ट व्यक्तित्वलाई सम्मान प्रदान गरेर र विशिष्ट सम्मान ग्रहण गरेर फर्कियो । यो सब सनतजीको अमृतोत्सवले जुराएको अवसर हो ।

पहिलेपहिले पश्चिमतिर जाँदा गर्मीले आक्रान्त भएको म यस पटक भने गर्मीबाट मुक्त भएँ । प्रकृतिले सारै साथ दियो । समग्रमा यसपटकको पश्चिम यात्रा छोटो तर निकै रोमञ्चित भयो । सिडिओ, वार्डेनलगायत सबैको स्वागतसत्कार, सम्मान त महत्वपूर्ण छँदैथिए । यी सब मानवीय सन्दर्भ भएकाले स्वाभाविकै मानौं तर एउटा अपरिचित व्यक्तिप्रति वसन्तीले देखाएको अद्भुत प्रेमभावचाहिँ वर्णनातीत नै रह्यो । यस्तै हो जिन्दगी सोचेजस्तो हुन्न भोगेजस्तो हुन्छ भनेको…। यस्तो विशेष अवसरका लागि बर्दियाका सिडिओ सन्तबहादुर सुनारलाई हार्दिक धन्यवाद ।