गण्डकी प्रदेशको हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ । हिउँदे अधिवेशनको सोमबार बसेको पहिलो बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुख बाबुराम कुँवरबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धि पत्र पढेर सुरु गर्नुभएको थियो । त्यसपछि सभामुखले दलका नेताहरुलाई आफ्नो मन्तव्य राख्ने समय उपलब्ध गराउनुभएको थियो ।
बैठकको सुरुमै बोल्दै नेकपाका सांसद मायानाथ अधिकारीले विकास, सुशासन र समृद्धि सबै दलको साझा एजेण्डा भएपनि त्यो एजेण्डा अहिले आएर कमजोर बनेको बताउनुभयो । आम जनमानसमा नेकपा सरकार आउनु परिवर्तन हो भन्ने भ्रम रहेको बताउँदै अधिकारीले सरकार ऐन कानुन, कार्यविधि बनाउन सरकार लागि परेको उल्लेख गर्नुभयो ।
काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुदलमा लोकतन्त्र स्थापनाको राजनीतिक अश्लिताको कारण मुलुकले विकास गर्न नसकेको बताउनुभयो । जनमोर्चाका सांसद कृष्ण थापाले सरकार कछुवाको गतिमा अघि बढेको जिकिर गर्नुभयो । नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले संघीयताको आवाज उठाउनेहरु नै अहिले संघीयताको भक्षक बनेको आरोप लगाउनुभयो । नेताहरुको भनाई पछि बैठक १५ मिनेटको लागि स्थगित भएको थियो । त्यसपछि सुरु भएको बैठक गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीमगरको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएको छ ।
सोमबार नै राजीव गुरुङ ‘उर्फ’ दीपक मनाङेले संसद सदस्यको सपथका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेट गर्नुभएको छ । उक्त भेटमा राजीव गुरुङको सपथ ग्रहणको विषयमा छलफल भएको बताइएको छ । यसअघि मनाङ्गेले संसद सदस्यको सपथका लागि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराउनुभएको थियो । संसदको अर्को बैठक पुस २६ गते दिउँसो १ बजे बस्ने छ ।