अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१० | Colorodo: 11:25

बलात्कार मुद्दामा सिद्धबाबालाई ३० दिनभित्र झिकाउन उच्च अदालतको आदेश

बिआरटीनेपाल २०८१ वैशाख १६ गते ७:२९ मा प्रकाशित

जबरजस्ती करणीको आरोप लागेका विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरी ‘सिद्धबाबा’लाई विराटनगर उच्च अदातलले उपस्थित हुन आदेश दिएको छ। अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार न्यायाधीश नरेशकुमार चौधरी र श्रीधराकुमारी पुडासैनीको इजलासले प्रतिवादी गिरीलाई अदालतमा उपस्थित हुने गरी झिकाउने आदेश भएको हो। पौडेलका अनुसार शुक्रबार अदालतले पत्र काटिसकेको छ। गिरीले १५ दिनभित्र पत्र बुझ्नुपर्ने उहाँले बताउनुभयो । ३० दिनभित्र गिरी अदालतमा उपस्थित हुनुपर्ने आदेश भएको उहाँले जानकारी दिनुभयो ।

यसअघि सुनसरी अदालतले आरोपित गिरीलाई सफाइ दिएको थियो। आफ्नै महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला अदालत सुनसरीले गतवर्ष भदौ २७ मा सफाइ दिएको थियो। अदालतले उनलाई दोस्रो पटक सफाइ दिएको हो। त्यसअघि उक्त मुद्दामा २०७७ साल मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई पहिलो पटक सफाइ दिएको थियो।

यद्यपि, उच्च अदालतले पुनः प्रमाण बुझी फैसला गर्न आदेश दिएर मुद्दा सुनसरी अदालतमा पठाएपछि न्यायाधीश कोइरालाको इजलासले २७ भदौ २०८० मा सफाइ दिएको थियो। अदालतमा गिरीको महिला अनुयायीसँगको अडियो संवादलाई प्रमाणको रुपमा पेश गरिएको थियो। तर मुख्य प्रमाणको रुपमा पेश भएको सो ‘अडियो रेकर्ड’ परीक्षण गर्ने व्यक्तिको योग्यता नै नपुगेको उल्लेख गर्दै गिरीलाई सफाइ दिने फैसला अदालत गरेको थियो। त्यसपछि सरकारी वकिलको कार्यालयले जिल्लाको फैसलाविरुद्ध उच्च अदालत गएको थियो।

सिद्धबाबाका रुपमा चर्चित गिरीविरुद्ध २०७६ साल कार्तिक ४ गते महिला अनुयायीले जबरजस्ती गरेको दाबीसहित प्रहरीमा जोहरी दिएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू