अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्न आदेश, आइतबार पेसी

बिआरटीनेपाल २०८१ वैशाख १६ गते ६:०९ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले आइतबार प्राथमिकतामा राखेर हेर्न आदेश दिएको छ। आइतबार न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा मुद्दाको पेसी भएको भए पनि सुनुवाई गर्ने समय नपुग्ने भन्दै सुनुवाइ नगरे पनि न्यायाधीशले मुद्दालाई प्राथमिकतामा राख्न आदेश दिएका हुन्।

अदालतले सन्दीपको मुद्दाको अर्को पेसी अर्को साताको आइतबारका लागि तोकेको छ। सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए। उच्च अदालतमा सन्दीपको यो चौंथो पटकको पेसी हो। लामिछानेलाई गत १३ पुसमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गर्दै ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो। तर, सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गर्न उच्च अदालतमा पुगेका थिए।

त्यस्तै, १ चैतमा सरकारी पक्ष पनि पीडित ‘गौशाला २६’ नाबालिग रहेको भन्दै उच्च अदालत पुगेका थिए। २३ चैतमा उच्च अदालतमा पहिलो पेसी रहेको थियो। जहाँ न्यायाधीश नृपध्वज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै दुवै पक्षलाई जानकारी गराउन आदेश दिएको थियो।

त्यसपछि पुनः ३ वैशाखमा अर्को पेसी तोकियो, जहाँ न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले गौशाला २६ ले जन्मदर्ता प्राप्त गर्नका लागि दिएको सक्कली निवेदन र जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति माग गरेको थियो। अदालतको मागबमोजिम प्रमाण बुझाएपछि गत १० वैशाखमा उच्च अदालतमा तेस्रो पेसी तोकिएको भए पनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू