अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

नेपालको पुनर्निर्माण सम्बन्धी अमेरिकामा छलफल हुने

बिआरटीनेपाल २०७५ असोज ९ गते ९:१० मा प्रकाशित

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने ‘विपद पश्चातको आवश्यकता आंकलन र पुनर्निर्माण तथा पुनर्स्थापना योजना’ विषयक कार्यक्रममा नेपालको पुनर्निर्माण सम्बन्धी प्रस्तुति गर्नु हुने भएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प पश्चात् नेपालको पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी अनुभव र भावी कार्य योजना प्रस्तुत गर्नु हुने कार्यक्रम छ । आगामी शुक्रवार आयोजना हुने कार्यक्रममा भाग लिने क्रममा ज्ञवाली आज राती अमेरिकातर्फ प्रस्थान गर्दै हुनुहुन्छ । ‘कार्यक्रममा हुने प्रस्तुतिले नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक लगायत अरू सहयोग जुटाउन मद्दत पुग्ने विश्वास लिएको छु’, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो ।

कार्यक्रममा नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा नेपालको हालसम्मको प्रगति अवस्था र पुनर्निर्माणका लागि आवश्यक पर्ने वित्तीय आवश्यकता सम्बन्धमा समेत छलफल हुनेछ । संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन र विश्व बैङ्कले संयुक्त रूपमा आयोजना गर्ने उक्त कार्यक्रममा डोमिनिकन रिपब्लिक, नाइजेरियाका लगायतका मुलुकका साथै संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन एवं विश्व बैङ्क जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको प्रस्तुति रहने कार्यक्रम छ । अमेरिका रहेका बेला प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैङ्क र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग छुट्टा-छुट्टै भेट गर्ने कार्यक्रम पनि छ । ज्ञवाली आगामी आइतबार स्वदेश फर्किनुहुनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू