अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१५ | Colorodo: 22:30

भूकम्प पीडित नेपालीको टिपीएस नविकरण हुन्छकी, हुँदैन ? अन्योलमा नेपाली अमेरिकन !

पुरुषोत्तम ढकाल, लस एन्जलस २०७५ वैशाख ११ गते २२:०८ मा प्रकाशित

कोलोराडोमा बसोबास गर्दै आएका तेम्बा लामा मातृभूमिमा आएको प्रलयकारी भूकम्प पछि अमेरिका पसेका थिए । सन २०१५ को डिसेम्बरमा अमेरिका पसेका तेम्बा लामाले व्योहोरेको मानवीय विपत्तिले निम्त्याएको क्षति र कहिल्यै नपुरिने मनको घाउलाई तत्कालीन अमेरिकन सरकारले प्रदान गरेको टेम्प्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) को सुविधाले भत्किएको घर बनाउन र आफ्ना तीन लाला बालाको सपना पुरा गर्न निको हुने औषधी मल्हमको काम गर्‍यो । तर आजको चार दिन पछि म्याद सकिन लागेको अमेरिकन सरकारले प्रदान गरेको टेम्प्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) को सुविधा थपिने होकी ! होइन ? यस्तै प्रश्नले यति बेला यता तेम्बा लामा र उता उनको परिवारजन निदाउन नसकेको धेरै रात बित्यो ।

यस्तै कथा बोकेकी क्यालिफोर्नियाकी माया श्रेष्ठको पनि हिंजो आज अनिश्चय र अन्योलमा अमेरिकामा दिन कुरेरै र रात ननिदाई बितिरहेको छ । यी दुई प्रतिनिधि पात्र जस्तै झन्डै १० हजार भूकम्प पीडित नेपाली यति बेला देवी देवता भाकल गर्दै ट्रंप प्रशासनले नेपालीलाई अमेरिकामा उपलब्ध गराएको टेम्प्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) को सुविधा थापिदियोस भन्ने कामना गरिरहेका छन् । तत्कालीन राष्ट्रपति बराक ओबामाले नेपालमा गएको प्रलयकारी भूकम्प पछि उपलब्ध गराएको टेम्प्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) को सुविधा आगामी बुधवार सकिंदैछ अर्थात् ट्रंप प्रशासनले आजको चौथो दिन गर्ने निर्णयनै टिपीएस सुविधा पाइरहेका झन्डै १० हजारको सङ्ख्यामा रहेका भूकम्प पीडित नेपालीको अमेरिका बसाइको निरन्तरता वा निश्चित समय पछि सुरु हुने डिपोर्टेसन मार्फत त्राशदी पूर्ण स्वदेश फिर्ती वा अमेरिका बसाइको अर्को कानुनी विकल्प खोज्ने खर्चिलो र झन्झटिलो यात्राको चोटिले र पेचिलो मार्ग प्रशस्त गर्नेछ ।

सन २०१५ को प्रलयकारी भूकम्पमापरी झन्डै ९ हजारको ज्यान गएको थियो भने २२ हजार गम्भीर घाइते भएका थिए भने प्रतिशतका हिसाबले करिब ३० प्रतिशत परिवार प्रभावित भएको र ८० लाख जनसङ्ख्या मारमा परेको एक अध्यनले जनाएको छ । आगामी साता सन २०१५ को प्रलयकारी भूकम्पमापरी ज्यान गुमाउनेहरुको सम्झनामा नेपाल र नेपाल बाहिर विभिन्न कार्यक्रमहरू आयोजना हुँदैछ । तर अमेरिकामा बसोबास गरिरहेका भूकम्प पीडित नेपालीहरूका हकमा यो साता पुन: अर्को भूकम्पको धक्का सामना गर्नु पर्ने नियति दोहोरिएको छ । यस अघि ट्रंप प्रशासनले टेम्प्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) को सुविधा प्राप्त गरेका सोमालिया, एमन र दक्षिण सुडानको हकमा नबिकरण नगरेर अर्को विकल्प खोज्ने एक वर्षको सुविधा सहित डिपोर्टेसनको घण्टी बजाई सकेको छ ।

तर नेपाल प्रति सधैँ सकारात्मक रहेको अमेरिकी सरकारले टिपीएसको सुविधा नविकरण गर्नेमा आशावादी छन् माया र तेम्बा जस्तै अमेरिकामा बसोबास गर्ने करिब १० हजार भूकम्प पीडितहरू । र उनीहरूको पिडामा मल्हम लगाउन गैर आवासीय नेपाली सङ्घ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिका, अमेरिकामा रहेको नेपाली कूटनीतिक नियोग, कानुन व्यावसायी खगेन्द्र जिसी, केशव सेडाई, अधिकारकर्मी शैलेश श्रेष्ठ देखि नेपाली अमेरिकनका दर्जनौँ सङ्घ संस्थाले टिपीएस नविकरणको लागि अमेरिकी मूलधारको राजनीतिमा गरेको लबिङ्ग कति सार्थक रह्यो यसको परिणाम भने बुधवार ट्रंप प्रशासनले गर्ने निर्णयसँगै सार्वजनिक हुनेछ । यसैबिच अमेरिकन मूलधारको सञ्चार माध्यमले आज प्रकाशित गरेको समाचार अनुसार ट्रंप प्रशासन नेपालका भूकम्प पीडितले अमेरिकामा प्राप्त गरेको टेम्प्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) नविकरण नगर्ने निर्णयमा पुगेको भन्दै समाचार प्रकाशित गरेका छन् । यसको अर्थ नेपालका भूकम्प पीडितले अमेरिकामा प्राप्त गरेको टेम्प्रोररी प्रोटेक्टेड स्टाटसको अवधि थपिनेमा आशङ्का बढिरहेकोछ ।