अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

टिपीएस खारेज गर्ने ट्रंप प्रशासनको निर्णय अमानवीय कदम : डेमोक्र्याट हाउस ककस अध्यक्ष जो क्राउली

पुरुषोत्तम ढकाल, लस एन्जलस २०७५ वैशाख १५ गते ७:१२ मा प्रकाशित

अमेरिकामा बसोबास गर्दै आएका कागजपत्र विहीन नेपालीले पाउँदै आएको टेमप्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) सुविधा खारेज गरी उनीहरूलाई डिपोर्टेसन गर्ने ट्रंप प्रशासनको निर्णय लगत्तै डेमोक्र्याटस सांसदहरूले सोच्नै नसकिने अमानवीय कदम भएको प्रतिक्रिया दिएका छन् । बिहीबार अमेरिकी सरकारले यहाँ रहेका कागजपत्रविहीन नेपालीहरूलाई सन २०१५ मा गएको प्रलयकारी भूकम्प पछि प्रदान गरेको टेम्पोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) सुविधा खारेज गर्ने निर्णय गरेको थियो । डेमोक्र्याट हाउस ककस अध्यक्ष जो क्राउली र काँग्रेस वुमेन ग्रेस मेंगले शुक्रवार एक विज्ञाप्ति जारी गर्दै भनेका छन्, ‘सन २०१५ मा गएको प्रलयकारी भूकम्प पछि हजारौँ नेपालीले मृत्यु वरण गरे र घरबार विहीन बने र त्यति बेला नेपालीको दुखमा सहयोग पुर्‍याउन अमेरिकी सरकारले प्रदान गरेको टिपीएस सुविधा खारेज गरेर उनीहरूलाई स्वदेश फर्काउने ट्रंप प्रशासनको निर्णय अमेरिकी मूल्य मान्यता विपरीतको अत्यन्त अमानवीय र दुखद कदम हो ।’

विज्ञाप्तिमा जो र मेंगले अगाडी भनेका छन्, ‘राष्ट्रपति ट्रंपको आप्रावाशी विरोधी नीतिकै निरन्तरता स्वरूप कागजपत्र विहीन नेपालीले पाउँदै आएको टेमप्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) सुविधा खारेज गरिएको हो र यो अमेरिकी मूल्य मान्यता विपरीतको अमानवीय कदम हो ।’

गत महिना काँग्रेस वुमेन मेंग, डेमोक्र्याट हाउस ककस अध्यक्ष क्राउली र जेर्ड पोलिसले दर्जनौँ जनप्रतिनिधिहरूको समर्थनमा कागजपत्र विहीन नेपालीले प्राप्त गरेको टेमप्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) सुविधा नविकरण गर्न ट्रंप प्रशासनलाई हस्ताक्षर अभियान मार्फत आग्रह गरेका थिए । नेपालमा गएको सन २०१५ को प्रलयकारी भूकम्प लगत्तै काँग्रेस वुमेन मेंग र हाउस प्रतिनिधि क्राउलीले अमेरिकामा रहेका नेपालीलाई टेमप्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) सुविधा प्रदान गर्न तत्कालीन राष्ट्रपति बराक ओबामालाई आग्रह गरे लगत्तै ओबामा प्रशासनले त्यति बेला अमेरिकामा रहेका नेपालीका हकमा तत्कालै यो सुविधा प्रदान गरेको थियो ।

सन २०१५ मा गएको प्रलयकारी भूकम्प पछि अमेरिकामा रहेका कागजपत्र विहीन करिब नौ हजार नेपालीहरूले टेम्पोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) सुविधा प्राप्त गरेका थिए ।