अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१० | Colorodo: 01:25

लसएन्जलसको नेपाल आइडल मेगा कन्सर्ट सफल बनाउन समिति गठन

पुरुषोत्तम ढकाल, लस एन्जलस २०७४ माघ १६ गते १६:५६ मा प्रकाशित

लसएन्जलसका नेपाली समुदायले प्रतीक्षा गरिरहेको नेपाल आइडलको मेगा कन्सर्ट सफल बनाउन स्थानीय प्रवुद्ध नागरिक सहभागी रहेको तयारी समिति गठन गरिएको छ । तामांग सोसाइटी उत्तर अमेरिकाका उपाध्यक्ष टेक वाइवा लामाको नेतृत्वमा १३ सदस्य रहेको नेपाल आइडल मेगा कन्सर्ट आयोजक समिति गठन गरिएको हो । धुर्मुस सुन्तली फाउन्डेसन र पश्चिम नेपालको युद्ध पीडित बालबालिकाको शिक्षाको लागि सहयोग पुर्‍याउने उद्देश्यले आयोजित नेपाल आइडल मेगा कन्सर्ट तयारीका लागि गठन गरिएको समितिमा तारा गुरुङ ब्ल्याक, बिरबल बुढाथोकी, गोपाल अधिकारी, समसेर भण्डारी, आशाका श्रेष्ठ, डोल्मा लामा प्रचार-प्रसार संयोजक, राधा आचार्य, चीरन गौतम, देवी चरण घिमिरे, अन्जना बस्नेत, उत्तम थापा, अनिल केसी, अमित लुइँटेल र अर्जुन ठकुरी रहेका छन् । परोपकारको भावनाले आयोजना गर्न लागिएको नेपाल आइडलको मेगा कन्सर्ट सफल बनाउन स्थानीय सङ्घ संस्थाहरूले समेत आग्रह गरेका छन् । नेपाल आइडल मेगा कन्सर्टलाई भव्य र सानदार बनाउन आफ्नो बेजोड प्रस्तुति लिएर उद्घोषण मार्फत लसएन्जलसवासी नेपाली समुदायको मन जित्न रिमा विश्वकर्मा समेत अमेरिका आइसकेकी छिन ।

नेपाल आइडल मेगा कन्सर्ट अमेरिकाको लसएन्जलस सहरमा हेर्ने अवसर उपलब्ध गराएकोमा आयोजकलाई धन्यवाद दिदैं नेपाली अमेरिकन आशाका श्रेष्ठले भनिन, ‘नेपाली युवाहरूको ढुकढुकी नेपाल आइडललाई प्रत्यक्ष देख्न र उनीहरूको प्रस्तुतिमा रमाउने अवसरको हामी युवाहरू व्यग्रता साथ प्रतीक्षा गरिरहेका छौ ।’ उनले थपेर भनिन्, ‘नेपाल आइडल मेगा कन्सर्ट हेर्न म र मेरो परिवार’त जाँदै छौ, तपाईँ र तपाइको परिवारले पनि यो अवसर नछुटाउनुहोला ।’

आयोजक टेक लामा वाइवाले दिएको जानकारी अनुसार लसएन्जलसस्थित नर्वाल्क सहरको सनातन हिन्दु मन्दिरको प्रेक्षालयमा आयोजना गरिने नेपाल आइडलको मेगा कन्सर्टमा सहभागी हुन आतुर नेपाली समुदायको लागि सिल्वर अमेरिकी डलर ३० (मात्र अनलाइन मार्फत टिकट बुकिङ्ग, गोल्ड अमेरिकी डलर ४० र डाइमण्डको लागि अमेरिकी डलर ५० अनलाइन र प्रत्यक्ष खरिद गर्ने व्यवस्था मिलाइएको छ । यसै गरी स्थानीय व्यापारिक प्रतिष्ठानहरूको व्यापारिक प्रयोजनको लागि मुख्य प्रायोजकले अमेरिकी डलर एक हजार शुल्क तिरेर आफ्नो बस्तु तथा सेवाको प्रचार-प्रसार गर्ने अवसर सहित ४ वटा विशिष्ठ पास पाउने छन् भने, सह प्रायोजकले अमेरिकी डलर पाँच सय शुल्क तिरेर आफ्नो बस्तु तथा सेवाको प्रचार-प्रसार गर्ने अवसर सहित २ वटा विशिष्ठ पास पाउने छन् । आयोजकले इच्छुक व्यापारिक प्रतिष्ठानहरूलाई आफ्नो बस्तु तथा सेवाको प्रचार-प्रसार गर्नको लागि यो अवसरलाई सदुपयोग गर्न आग्रह गर्दै भनेको छ, ‘समुदायसँग जोडिने अभियानका रूपमा आफ्नो व्यापार विस्तार गर्ने यो एउटा अवसर हो।’ यसका अतिरिक्त पाँच जना भन्दा धेरैको समूह वा परिवार सहित मेगा कन्सर्टमा सहभागी हुन चाहनेहरूलाई १५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । आयोजकका अनुसार नेपाल आइडलको मेगा कन्सर्टबाट बचेको रकम धुर्मुस सुन्तली फाउन्डेसन र पश्चिम नेपालको द्वन्द्ध पीडित बालबालिकाको शिक्षाका लागि सहयोग गरिने बताउँदै स्थानीय समुदायको मनोरञ्जनको लागि आयोजना गरिएको मेगा कन्सर्टमा स्थानीय समुदायको सक्रिय सहभागिताको लागि अनुरोध गरेका छन् ।