अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

एमालेसँग मिल्ने कुरा हल्ला मात्रै, ओलीले भनेर सरकारमा गएका होइनौं: अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८० चैत ८ गते ६:१८ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सत्ता गठबन्धन सरकार चलाउन मात्र भएको र एमालेसँग मिल्ने कुरा हल्ला मात्रै भएको स्पष्ट पार्नुभएको छ । बिहीबार रौतहटको सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भन्नुभयो, ‘एकीकृत समाजवादी कुनै पार्टीमा मिल्दैन। विचार, सिद्धान्त र मन मिल्यो भने छुट्टै कुरा, तर अहिले पार्टी मिल्ने प्रस्ताव आएको पनि छैन र कुरा पनि भएको छैन। यो गठबन्धन सरकारलाई अगाडि बढाउन मात्र हो।’

अध्यक्ष नेपालले सरकारमा सहभागिता देशको आवश्यकता भएका कारण सरकारलाई समर्थन गरेको सुनाउनुभयो। उहाँले भन्नुभयो, ‘मैले आफूलाई सरकारको केन्द्रबिन्दुमा राखेको छैन।’ कम्युनिष्ट पार्टीहरू आखिरमा एक भए भने आफूलाई खुसी नै लाग्ने बताउँदै उहाँले अहिलेका लागि पार्टी मिल्ने भन्ने कुरा चाहिँ भ्रम मात्रै रहेको टिप्पणी गर्नुभयो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सरकारमा सहभागी भएको उल्लेख गर्दै देश र जनता र पार्टीसमेतको हितलाई ध्यानमा राख्दा गठबन्धनमा सामेल भएको उहाँको भनाइ छ। नेपालले स्पष्ट शब्दमा भन्नुभयो, ‘असन्तुष्टि दुवैतिर छ तर अहिलेको आवश्यकता यही हो।’ एकताको बेग्लै प्रक्रिया हुने र सहकार्यको बेग्लै प्रक्रिया हुने बताउँदै नेपालले हरेक पार्टीको आफ्नै सोच र पारा हुने बताउनुभयो।

अहिले भएको पाँच पार्टीको सहकार्यलाई बलियो बनाउन सात बुँदे सहमति भएको र नीतिगत दस्ताबेज पनि सार्वजनिक गरेको स्मरण गर्दै नेपालले भन्नुभयो, ‘निराशा चिर्दै भरोसा जगाउँदै अगाडि बढ्ने सोच राखेका छौँ।’ नेकपा एकीकृत समाजवादीको देश र समाजको हितबाहेक अन्य कुनै एजेन्डा नहुने उहाँले बताउनुभयो। यिनैलाई केन्द्रमा राखेर आफ्नो पार्टी अगाडि बढ्नेमा अध्यक्ष नेपालको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू