अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५८ | Colorodo: 16:13

सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीति गर्यो : सांसद चौधरी

बिआरटीनेपाल २०८० चैत ८ गते ५:५२ मा प्रकाशित

नेपाली काँग्रेसका सांसद विनोद चौधरीले सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गरेको बताउनुभएको छ ।  बिहीवार सरकारी वकील कार्यालयमा उपस्थित भइ बयान दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले उद्यम र उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेको आरोप लगाउनुभएको हो ।उहाँले राज्यले आफू जत्तिको व्यक्तिमाथि समेत राजनीति गरिरहेको भन्दै नेपाल र विश्वभर रहेका नेपाली युवा, नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्दछन् भन्नेकुराको हेक्का राज्यले राख्नुपर्ने बताउनुभयो।

उहाँले आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउन आवश्यक नरहेको बताउनुभयो । उहाँले राज्यले यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानी कर्तालाई विशुद्ध राख्न आवश्यक रहेको बताउनुभयो । सांसद चौधरीले आफूलाई सरकारी वकीलको कार्यालयबाट मौखिक रुपमा उपस्थित हुन भनेपछि आफूले उपस्थिति जनाएको बताउनुभयो ।

उहाँले आफू जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले अनुसन्धानको लागि हयोग गर्न उपस्थित भएको बताउनुभयो । उहाँले ४२ वर्षअघिको बाँसबारीको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ पब्लिक—प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नविनतम सोचलाई राजनीतिकरण गर्नु दुःखद् रहेको बताउनुभयो । १० रोपनी जग्गाको बारेमा कुनैपनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्न नै एउटा विकृत मानसिकताको उपज रहेको जिकिर गर्नुभयो । उहाँले आफूले दलगत राजनीतिलाई छोडेर विकासको राजनीति गरेको बताउनुभयो । सांसद चौधरीमाथि बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा निजीकरण गरेको आरोप लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू