अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

खेलाडी पलायन रोक्न गर्न आग्रह

बिआरटीनेपाल २०८० चैत ६ गते ७:५४ मा प्रकाशित

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडी पलायन निराकरण गर्नका लागि ठोस कदम चाल्न युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई आग्रह गरेका छन् । खेलाडी संघले सिंहदरबार खेलकुद मन्त्रालयमा मन्त्री श्रेष्ठलाई ७ बुँदे सुवाझ दिँदै उक्त आग्रह गरेको हो । संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले मन्त्री श्रेष्ठलाई सुझाव पत्र प्रदान गरेको हो । राज्यले लगानी गरेर अन्तर्राष्ट्रिय सफलता प्राप्त गरेका खेलाडीलाई संरक्षण गर्न नसक्दा विदेसिएको अवस्था रहेको खेलाडी संघले सुझाव उल्लेख गरेको छ । संघले तत्काल ठोस योजना बनाएर खेलाडीलाई स्वदेशमै रहन सक्ने वातावरण मिलाउन मन्त्री श्रेष्ठलाई आग्रह गरेको छ ।

साथै पदकविजेतालाई घोषित पुरस्कार समयमा उपलब्ध गराइदिन पनि खेलाडीहरूले आग्रह गरेका छन् । खेलाडी संघले १९ औं एशियाली खेलकुद प्रतियोगिता र चौथो एसियाली पारा खेलकुदमा पदकविजेता खेलाडीका लागि घोषित पुरस्कार समयमा नै पाउने वातावरण सिर्जना गर्न आग्रह गरेको छ । सुझाव पत्रमा खेलाडी संघले दशौं राष्ट्रिय खेलकुद समयमा नै गर्ने सुनिश्चितता गर्न पनि सुझाव दिएको छ । यो संस्करण आगामी वर्ष मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा तय गरिएको छ ।

नीजि क्षेत्रअन्तर्गत सामाजिक उत्तरदायित्व कोष (सिएसआर)मा रहेको रकम खेल क्षेत्रमा प्रयोगमा ल्याउन सकिए नीजि क्षेत्रसमेत खेलकुदमा आकर्षित हुने खेलाडी संघको विश्वास छ । खेलाडी संघले राष्ट्रिय संघबाट हुनुपर्ने राष्ट्रिय प्रतियोगिता नियमित हुन नससकेको आरोप लगाएको छ । यसले गर्दा खेलाडीको खेल कौशलता, प्रदर्शन तथा स्तर वृद्धिमा देखिने समस्यालाई निराकरण गर्न राष्ट्रिय खेलकुद नै कुर्नुपर्ने अवस्था भएको खेलाडी संघको बुझाइ छ ।

प्रतिक्रिया