अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

सुख र खुसीका कुरा

नवराज न्यौपाने 'मौन' २०७९ भदौ ४ गते १२:०८ मा प्रकाशित

लघु चिन्तन
सामान्यतः सबै कुरा पुगिसरी भएको मान्छेलाई हामी सुखी मान्छे भन्ठान्छौँ । तर सबै सुखी मान्छे खुसी नहुन पनि सक्छन् । किनभने खुसीपन मान्छेको धनमा निर्भर रहँदैन । त्यस्तै, सबै गरिब मान्छे दुःखी मात्र हुन्छन् भन्न सकिन्न । किनभने धन नभए पनि कतिपय मान्छे हाँसीखुशी जिइरहेका हुन्छन् । समग्रमा भन्दा हामी नेपालीहरू अन्य मुलुकका बासिन्दाभन्दा बढी दु:खकष्ट सहन सक्ने र दुःखमा पनि खुसी सँगाल्न सक्ने क्षमताका छौँ ।

धनी र गरिबदेखि सुखी र खुसी सबै खालका मानिसहरूको मनमा अदृश्य पीडा लुकेको हुन्छ । मानिसले आफ्नो पीडालाई साहित्य तथा कलाको माध्यमबाट अभिव्यक्त गर्न सक्छन् । त्यस्तै कतिपय मानिसले विश्वासिलो र सहानुभूति जनाउने खालका मानिस सामु पीडा व्यक्त गर्ने गर्दछन् । यस क्रममा मैले सयौँ मानिसको अन्तरमनकाे पीडा सुनेको छु र सहानुभूति पनि जनाएको छु । तर मैले आफ्नो पीडा सुनाउने कोही मानिस भेट्न सकिन । आफूले खेप्नु परेको बुहार्तन सम्झेर र सोझो र इमानदार मान्छेलाई अरूले दिने दुःख र छलकपट सम्झेर हर रात मेरा नयनहरू रसाइरहेका हुन्थे । त मैले साहित्यका माध्यमबाट प्रकट गर्ने गरेको छु । एकाध विदेशी साहित्यकारहरूलाई भने मैले आफ्नो जीवन कहानी र द्वन्द्व अन्तरद्वन्द्वकाे कहानी सुनाएको थिएँ । तिनीहरूले मेरो जीवनकथालाई रचनागर्भ बनाएर साहित्य सिर्जना गरे या गरेनन् ,त्यो थाहा हुन सकेन । त्यस्तै, कतिपयले त मेरो जीवन कथामा आधारित वृत्तचित्र निर्माण गर्ने आशय पनि प्रकट गरेका थिए । हजारौँ दु:खपीडालाई रहस्यको गर्भमा लुकाएर बाँचेको म अझै थप चोट सहन सक्ने भएको छु । किनकि म ‘ ईश्वरले सत्य देख्छन्, तर पर्खन्छन्’ भन्ने उक्तिमा विश्वास गर्छु ।