अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१९ | Colorodo: 10:34

गर्भवतीको घरमा निलो झण्डा

बिआरटीनेपाल २०८० मंसिर २ गते ६:२८ मा प्रकाशित

हिमाली जिल्ला हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर निलो झण्डा राखेको छ । वडा नम्बर १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो झण्डा राखिएको हो । सहजै गर्भवतीको घर पहिचानका लागि निलो झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ ।सिमकोट–१ देखि ८ नम्बर वडासम्म एक सय १० जना गर्भवती रहेका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले जानकारी दिनुभयो । उनीहरुको घर पहिचान गर्न सहज होस् भनेर सबैको घरमा निलो झण्डा राखिएको उहाँले बताउनुभयो ।

गर्भवती महिला सुत्केरी नहुञ्जेलसम्म गर्भजाँचका साथै उनीहरुलाई आवश्यक अन्य सेवा प्रवाहमा सहजता, लक्षित वर्ग पहिचानका लागि यो अभियान सञ्चालन गरिएको भण्डारीले बताउनुभयो । सबै वडामा रहेका स्वास्थ्य संस्थालाई दशैँ र तिहारका बीचमा निलो झण्डा वितरण गरिएको जनाउँदै ‘गर्भवती पहिचान घर कार्यक्रम’ अन्तर्गत गर्भवतीको घरमा झण्डा राखिएको उहाँले बताउनुभयो ।‘स्वास्थ्यकर्मी पुग्दा पनि निलो झण्डाले महिलाको घर पहिचान गर्न सजिलो हुनेछ । यो अभियानले घरमा सुत्केरी गराउनेको सङ्ख्या घट्ने अनुमान गरेका छौँ,’ स्वास्थ्य संयोजक भण्डारीले भन्नुभयो, ‘पालिकाभित्रका वडा १ देखि ८ सम्म शिशु र आमाको मृत्युदर घटाउने उद्देश्यले यो अभियान सञ्चालन गरेका छौँ ।’ झण्डाले घर पहिचान हुने र स्वास्थ्यकर्मीलाई पनि घरमै गएर सेवा दिन सहज हुने उहाँले बताउनुभयो ।

भण्डारीका अनुसार सिमकोट गाउँपालिका वडा १ मा आठ, २ मा १५, ३ मा दुई, ४ मा चार, ५ मा १६, ६ मा १२, ७ मा २३ र ८ मा ३० जना सुत्केरी गराउनेको सङ्ख्या रहेको छ । ग्रामीण भेगमा आर्थिक अभाव, जनचेतनाको कमी, रुढीवादी परम्परालगायत कारणले घरमै सुत्केरी गराउँदा आमा र शिशु दुवैलाई जोखिम हुने भएकाले झण्डामार्फत् घर पहिचान गरेपछि स्वास्थ्यकर्मीले विशेष प्राथमिकतामा सेवा प्रदान गर्न सक्ने स्वास्थ्य शाखा संयोजक भण्डारीको भनाइ छ । उहाँका अनुसार यस अभियानअन्तर्गत गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गर्ने, आवश्यक सुई लगाइने, पोषिलो खाना तथा अन्य विषयमा जनचेतना दिनेलगायत कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू