अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१० | Colorodo: 10:25

नेपाली भाषा पाठशाला, कोलोराडोको आय-व्यय सार्वजनिक

बिआरटीनेपाल २०८० असोज १९ गते ८:०२ मा प्रकाशित

कोलोराडो । नेपाली भाषा पाठशाला, कोलोराडोले आफ्नो आयव्यय विवरण सार्वजनिक गरेको छ । अमेरिकाको कोलोराडो राज्यका दुई सहरहरू नर्थग्लेन र अरोरामा सञ्चालन गरिएका ग्रीष्मकालीन कक्षाहरूका लागि कुल अमेरिकी डलर ६,९४१/०३ खर्च भएको जनाइएको छ । यसै गरी पाठशालाले विद्यार्थी भर्ना शुल्क, शुभचिन्तकहरूबाट प्राप्त सहयोग रकम र कोलोराडोका नेपाली संस्थाहरू नेपाली घर (५०० डलर), दिदीबहिनी समूह कोलोराडो (५०० डलर), तथा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल (५०० डलर)बाट प्राप्त सहयोग रकम गरेर कुल अमेरिकी डलर ४,७९८/९२ सङ्कलन गरेको छ ।

पाठशालाको सहयोगार्थ नेपाली घरको सहयोगमा खोलिएको गो फन्ड मीमा हालसम्म अमेरिकी डलर ३ हजार १ सय ४६ जम्मा भएको छ जुन करकट्टी गरेर अनेसास कोलोराडो शाखालाई हस्तान्तरण गरिनेछ । अनेसास, कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाले अर्को वर्ष वर्तमानमा चालू भइरहेको बाहेक थप एक स्थान गरी तीन स्थानमा पाठशाला सञ्चालन गर्ने योजना रहेको बताए । यसका लागि नेपालबाटै पाठ्यसामाग्री तयार गरेर ल्याउन पहल गरिरहेको बताउँदै अर्को वर्ष पाठशाला सञ्चालनलाई अनुमानित अमेरिकी डलर १०,०००/०० लाग्न सक्ने त्यसको लागि सहयोग रकम सङ्कलन गर्न यही नोभेम्बर ११ तारिखमा नेपालका चर्चित सङ्गीतकार कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीको प्रस्तुति रहने गरी एक साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया