अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 01:45

लिएर नासो पछिका रमाऊन्

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०८० असोज १८ गते १२:४९ मा प्रकाशित

जपी जपी झूट हजार पाली
कतै नलम्कौँ भ्रमको उकाली
भेडो बनी भीर कतै नताकौँ
अकालमा काल कतै नडाकौँ ।१।

शूली चढाईकन सन्तलाई
कतै नखाऊँ शठको बधाई
विवेकमा भाङ कतै नहालौँ
डस्ने तिखा दाँत कतै नपालौँ ।२।

विश्वासमा घात कतै नपारौँ
लामो गरी हात कतै नसारौँ
लुटी छली पेट कतै नपालौँ
गारो ,तगारो पथमा नहालौँ ।३।

हो चेतना मानवको मुहार
बोकाउने हो किन अश्रुभार ?
उघ्राउने तालिम रातभित्र
बन्ला कहाँ जीवन पुष्प-चित्र ? ४।

दाह्रा किटी क्रोध लिएर नित्य
भासिन्छ आफ्नै दिलबाट सत्य
जानै छ पर्ने सब एक बार
उफ्रेर गर्ने किन हो हतार ? ५।

सम्मान राखौँ पदका थलामा
सगर्व बाँचौँ मुटुका कलामा
मुस्कान बाँडौँ उपहार पाऊन्
लिएर नासो पछिका रमाऊन् ।६।

————
गोरखा, लप्सीबोट; हाल: काठमाडौँ-६, सरस्वतीनगर ।