अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

माछाहरूका नियति !

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०८० असार २० गते १७:५८ मा प्रकाशित

पानी पाउन्जेल
पानीमा खेल्दै
साना भेटिए तिनलाई निल्दै
ताल हुन् कि सागरका छालमा
उफ्रिरहने / पौडिरहने न हुन्
माछाहरू !

पानीमै भए पनि
जालभित्र छिरेका
ढडियामा परेका
माछाहरूमा
बलका केही तुजुक
बाँकी भए पनि
ती निरीह छन्
तिनलाई
जीवनले लत्याइसकेको छ
मृत्युले पत्याउन अझै
केही क्षण बाँकी नै छ ।

जाल र ढडियाका प्रबन्धकहरूले
के तिनलाई छोडिदेलान् र जलमा ?
जब जाल र ढडिया
तानिन्छन् बगरमा
माछाहरू उफ्रिन्छन्
उफ्रिरहन्छन् उफ्रिरहन्छन्
प्राणको भिक्षा जति नै मागे पनि
त्यहाँ कसले सुन्छ र ?

उफ्रिए बगरमा – माछाहरू
तावामा पुग्छन्
उफ्रिए तावामा – माछाहरू
भुङ्ग्रोमा पर्छन् !!

—————-
गोरखा, लप्सीबोट; हाल: काठमाडौँ- ६, सरस्वतीनगर ।