अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०२ | Colorodo: 09:17

टोल तथा एक्स्प्रेस रोडमा सेतो रेखा नाघे जरिवाना

बिआरटीनेपाल २०८० भदौ २५ गते १९:५८ मा प्रकाशित

कोलोराडो । कोलोराडोको टोल तथा एक्स्प्रेस रोडमा लेन छुट्टाउन बनाइएको सेतो रेखा नाघे जरिवाना तिर्नुपर्छ । सेतो रेखा नाघ्नु गरैकानूनी हो । तर, प्रहरी वरपर नहुँदा पनि सेतो रेखा नाघे जरिवाना लाग्छ ।

यस्तो जरिवाना लाग्ने एक्सप्रेस लेन रुल्स नामक कानुन सेप्टेम्बर १ देखि कार्यान्वयनमा आएको छ । कानुन कार्यान्वयनमा आएको पहिलो महिना भने सेतो रेखा नाघ्ने सवारी चालकले चेतावनी मात्र पाउने छन् । दोस्रो महिनादेखि जरिवाना तिर्नु पर्ने छ ।

सेतो लाइन नाघे/ननाघेको अनुगमन रोडवे टेक्नोलोजीबाट हुनेछ । सी–४७० को इन्टरस्टेट २५ देखि वाड्सवर्थ बुलेभार्ड र आइ–२५ को युएस ३६ देखि इ–४७० सम्म यस्तो अनुगमन हुने छ । पहिलो ३० दिन भने सेतो रेखा नाघ्ने सवारी चालकलाई उसको ठेगानामा चेतावनी पत्र पठाइने छ । अक्टोबर १ देखि चेतावनी दिने समय सकिने र जरिवाना लाग्ने समय सुरु हुने छ । जरिवाना ७५ डलर तोकिएको छ । बिस दिन भित्र नतिरे जरिवाना दोब्बर हुने छ ।

ट्राफिक अत्यधिक भएको बेला सेतो रेखा नाघेर उभिए वा अगाडि गए पनि यो कानुन लाग्ने छ । कानुन कार्यान्वयनमा ल्याउनु पूर्व अनुगमन गर्ने सफ्टवेयर आइ–७० माउन्टेन एक्सप्रेस लेन कोरिडोरमा परीक्षण गरिएको थियो । त्यहाँ दुई महिनामा १३ हजार सवारी चालकले सेता रेखा नाघेको पाइएको थियो ।

तपाइले चेतावनी पत्र पाइसक्नु भएको छ भने फेरी सेतो रेखा ननाघ्नु होला । फेरी सेतो रेखा नाघ्नु भयो भने तपाइले सेप्टेम्बरमै भए पनि जरिवाना तिर्नु पर्ने छ । चेतावनी अवधि सेतो रेखा ननाघ्ने सवारी चालकका लागि ३० दिनसम्म हो । यो अवधिमा चेतावनी पाए पनि नपाए पनि अक्टोबर १ देखि सबै सवारी चालकले जरिवाना तिर्नै पर्छ ।

यस्तो सडक अनुगमन गर्ने प्रविधि सेन्ट्रल ७० र आइ– साउथ ग्याप सहित कोलोराडोका अन्य एक्सप्रेस लेनमा समेत राख्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया