अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०५ | Colorodo: 12:20

करिब १० महिनापछि नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक

बिआरटीनेपाल २०८० साउन २४ गते ७:४८ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना सकिएको करिब १० महिनापछि नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ । राखेपले त्रिपुरेश्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो खर्च विवरण सार्वजनिक गरेको हो ।नवौं राष्ट्रिय खेलकुद गत वर्षको असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सम्पन्न भएको थियो । यद्यपि, राखेपले निर्वाचन र सरकारद्वारा विनियोजित रकममा रोक्का हुनु लगायत विषयका कारण समयमा भुक्तानी गर्न नसक्दा खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको जनाएको छ । राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि कुल ५३ करोड ६९ लाख चार हजार दुई २९ रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ ।

सरकारद्वारा ६० करोड १० लाख र विनियोजित बजेट र आफैले आन्तरिक आम्दानी ५१ लाख ५२ हजार सात सयबाट उक्त खर्च गरेको राखेपको खर्च विवरण उल्लेख छ । यसबाट बचत भएको ६ करोड ८२ लाख ४८ हजार चार सय ६० रुपैयाँ सरकारकै खातामा फिर्ता पठाएको राखेपले जानकारी दिएको छ ।राखेपका सदस्यसचिव टंकलाल घिसिङले राखेपको कारणले भन्दा पनि बाह्र कारणबाट खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको उल्लेख गरे । सो अवसरमा घिसिङले पहिलो पटक राष्ट्रिय खेलकुदको इतिहासमा आयोजनाका लागि आन्तरिक आम्दानीको काम भएको र त्यसमा केही मात्रामा सफलता पाएको पनि उल्लेख गरे ।

गण्डकी प्रदेशमा सम्पन्न राष्ट्रिय खेलकुदमा ११ टोलीले प्रतिष्पर्धा गरेका थिए । त्यसमध्ये ३४१४ पुरुष र २७१३ महिला गरी कुल ६ हजार एक सय २७ खेलाडीले तीन ९७ स्वर्ण पदकका लागि प्रतिष्पर्धा गरेका थिए । ती खेलमा पदक विजेता खेलाडीलाई नगद पुरस्कारका दिन बैंक मर्जरका कारण समस्या भएपनि भुक्तानी भैसकेको सदस्यसचिव घिसिङले जानकारी दिए । राखेपले आगामी दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नै आयोजना गर्ने उल्लेख गर्दै आयोजना मितिको एक वर्ष अगाडि नै त्यसको मोडालिटी पनि तयारी पार्ने विश्वास व्यक्त गरेको छ । आगामी दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आगामी २०८१ साल मंसिरमा आयोजना गर्ने राखेपको लक्ष्य छ ।

प्रतिक्रिया