अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

युवराज मैनालीको दृष्टिः दृष्टिकोण माथि एक दृष्टि

पुष्पराज गिरी २०८० असार १८ गते २१:४४ मा प्रकाशित

युवराज मैनाली नेपाली साहित्य क्षेत्रका खारिएका दिग्गज बरिष्ठ समालोचक एवं प्रतिभावान साहित्यकार हुन् । उनको निरन्तर लेखन यात्राले करिव पाँच दशक लामो अविछिन्न यात्रा पार गरिरहेको छ । २०३५ सालमा तन्नेरी पत्रिकामा ‘एउटा लाश लम्किँदैछ सुनसानको रातमा’ कथाको माध्यमबाट नेपाली साहित्यमा प्रवेश गरेका मैनालीले कथा, लघुकथा, हाँस्यव्यङ्ग्य जस्ता सिर्जनाबाट नेपाली साहित्यमा महत्वपूर्ण स्थान बनाइसकेका छन् । यसका साथै समालोचनाको विधामा त उनले विशिष्टता नै हाँसिल गरेका छन् । २०४२ सालमा बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, लैनसिंह वांदेल विजय मल्ल, रमेश विकल, पारिजात जस्ता नेपाली साहित्यमा स्थापित प्रतिष्ठित साहित्यकारका साथै नयाँ पुस्ताका धीरेन्द्र मल्ल र गोपी मैनाली जस्ता प्रतिभाका कृतिलाई लिएर ‘केही प्रतिभा केही प्रवृत्ति’ प्रकाशन गरे । २०६९ मा समको पौराणिक नाट्य कौशलमा महान नाटककार बालकृष्ण समको प्रसिद्ध नाटक प्रल्हाद र ध्रुवको मूल्यांकन एउटै कृतिमा गरेका छन् । २०७० मा ‘कर्मयोगी देवकोटा’ महाकाव्यको विश्लेषणमा श्रीहरि फुयाँलको कर्मयोगी देवकोटा महाकाव्यको विश्लेषण र मूल्यांकन समेत गरिएको छ । यस बाहेक थुप्रै फुटकर समालोचना र समीक्षाका माध्यमले उनले नेपाली समालोचनामा विशिष्ट योगदान पुर्‍याउँदै आएका छन् । विभिन्न संघ—संस्थामा आवद्ध युवराज मैनाली अहिलेका समालोचकहरु मध्ये प्राध्यापकीय शैली भन्दा निक्कै फरक ढङ्गले समालोचना गर्ने व्यक्ति हुन् । अहिले २०७९ मा साझा प्रकाशनबाट उनको ‘दृष्टिः दृष्टिकोण’ नामक समालोचना संग्रह प्रकाशन भएको छ । ३ सय २० पृष्ठमा विस्तारित प्रस्तुत समालोचनामा नयाँ पुराना कृति र कृतिकारलाई लिएर समालोचना गरिएको छ । २९ शीर्षकमा विभाजित कृति विभिन्न दृष्टिकोणले महत्वपूर्ण लाग्छ ।

वि.सं १९९६ सालमा जन्मिएका विनोद अश्रुमालीदेखि लिएर २०३० सालका रवीन्द्र समीरसम्मका कृतिहरुले यसमा स्थान पाएका छन् । मुक्तक, फुटकर कविता, खण्डकाव्य, महाकाव्य, नाटक, कथा, उपन्यास, निबन्ध, र नियात्रासम्म समावेशी किसिमले यसमा विष्लेषण गरिएको छ । विनोद अश्रुमाली, क्षेत्रप्रताप अधिकरी, चट्याङ मास्टर, बाजुराम पौडेल, राधेश्याम लेकाली, श्रीहरि फुयाँल, दुबसु क्षेत्री, राम लामा अविनासी, लालगोपाल सुवेदी, ठाकुर शर्मा, तिर्थ अधिकारी र कलानिधि दाहालका मुक्तक, कविता, खण्डकाव्य र महाकाव्यमा विष्लेषण गरिएको छ । यस्तै नाटकमा जगदीश घिमिरेको एकङ्की सन्तानमाथि विष्लेषण गरिएको छ । निबन्धमा युवराज नयाँघरेको ‘नीलडाम’को रौंचिरा विष्लेषण गरिएको छ । नियात्रामा खगेन्द्र लुईंटेलको ‘बाह« वर्षपछि हनिमुन’को व्यापक विष्लेषण छ । हाँस्यव्यङ्ग्यमा नरेन्द्र राज पौडेल र विमल भौकाजीका व्यङ्ग्यहरुको हाँस्यव्यङ्ग्य शैलीमै विष्लेषण गरिएको छ । कथामा अनिता तुलाधर, माया ठकुरी, विजय चालिसे र किशोर पहाडीको कथाबारे मूल्याङ्कन गरिएको छ । उपन्यासमा कृष्ण धराबासीका दुई उपन्यास र नयनराज पाण्डेको ‘उलार’ उपन्यासमाथि विष्लेषण गरिएको छ । लघुकथामा अच्युत घिमिरे र रविन्द्र समीरलाई विषय बनाइएको छ ।

समालोचक मैनालीले बेग्लाबेग्लै किसिमले कृतिहरुको समालोचना गरेका छन् । समालोचना आफैंमा जटिल विधा हो । साहित्यमा सबैभन्दा कम लेखिने र कम पढिने विधा पनि हो । समालोचक विवेकपूर्ण तटस्थ र निष्पक्ष हुनुपर्छ । कृतिको आधारभूमि पहिल्याउँदै गुणदोषलाई चिराचिरा पार्दै श्रष्टाको सिर्जनाको मूल्य निरुपण गर्नु चुनौतीपूर्ण कार्य हो । यस कार्यलाई समालोचक मैनालीले धेरै हदसम्म सचेत रहेर कृतिको मूल्य निरुपण गर्ने कार्य गरेका छन् । विभिन्न कालखण्डमा लेखिएका यी समालोचनाहरुमा मैनालीका शैलीगत पृथकता, भाषगत भिन्नता र मूल्याङ्कनमा पृथकपन समेत भेटिन्छन् । कुनैकुनै २२ पृष्ठसम्म लामा समालोचना यसमा छन् भने कुनैकुनै मात्र तीनचार पृष्ठका समालोचना पनि छन् । प्रस्तुत कृतिमा सवैभन्दा बढी पृष्ठ कलानिधि दाहालको कविताको समालोचनामा खर्च गरिएको छ भने सवैभन्दा कम ‘चट्याङ गीता’ र क्षेत्रप्रताप अधिकारीको ‘रहर लागेर’ लाई दिइएको छ । बाल साहित्यमा गङ्गा कर्माचार्यको दशैं उपन्यास लाई रोजिएको छ । मुक्तकीय जुनकिरीको पिलपिल ‘एक अञ्जुली जुनकीरी’ शीर्षक समालोचनामा कवि विनोद अश्रुमालीको कविता संग्रह ‘एक अञ्जुली जुनकीरी’को विष्लेषण गरिएको छ । त्यसमा अहिलेका पुस्ताले विर्सिसकेका प्रतिभालाई स्थान दिइएको छ । समाकालीन कविहरुसँग तुलना गर्दै अश्रुमालीको साहित्यीक योगदानमाथि प्रकाश पारिएको छ । ‘अकविता’का कवि क्षेत्रप्रताप अधिकारी शीर्षकमा प्रसिद्ध कवि तथा गीतकार स्वर्गीय क्षेत्रप्रताप अधिकारीका प्रमुख प्रवृत्तिको मूल्यांकन गरिएको छ । उनका कविताका प्रमुख विशेषता र प्रवृत्तिलाई ठम्याइएको छ । ‘रहर लागेर’मा पनि क्षेत्रप्रताप अधिकारीको राष्ट्रियता, देशभक्ति जस्ता विशेषतालाई देखाइएको छ । ‘सन्तान नाटक’मा जगदीश शीर्षकमा लेखकले आख्यानकार, निबन्धकार जगदीश घिमिरेको कम चर्चा भएको विषय नाटकलाई लिएका छन् ।

वरिष्ठ कथाकार माया ठकुरीको ‘गमलाको फूल’को विष्लेषण फूलजस्तै विवशता र फुलजस्तै समाजको परिकल्पना शीर्षकमा गरिएको छ । ‘यो दशैंमा चङ्गा चेट घुम्दैछु म मङ्कीस्टेट’मा वरिष्ठ हाँस्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलको चर्चित मङ्कीस्टेट हाँस्यव्यङ्ग्यको विष्लेषण गरिएको छ । रित्तो शहरभित्रका रित्ता पनहरुमा वरिष्ठ कथाकार अनिता तुलाधरको रित्तो शहरको विष्लेषण गरिएको छ । सन्तुलित विश्वको परिकल्पनामा ‘विज्ञानको कैदी’मा वरिष्ट साहित्यकार विजय चालिसेको विज्ञान कथालाई विषय बनाइएको छ । विज्ञान कथाका ऐतिहासिकतालाई केलाउँदै विजय चालिसेको कृतिको रचना मर्ममाथि प्रकाश पारिएको छ । नेपाली कथा साहित्यमा उनको स्थान निर्धारण गरिएको छ । ‘चट्यांङ गीता एक दृष्टि’मा चट्याङ मास्टरको चर्चित कृति ‘चट्याङ गीता’ माथि हाँस्यव्यङ्ग्यात्मक शैलीमै विष्लेषण गरिएको छ । ‘बालपन र जुनकीरी’ महाकाव्यमा कवि बाजुराम पौडेलको जुनकीरी महाकाव्यलाई पहिलो बाल महाकाव्यको रुपमा हेरिएको छ । बाजुरामका काव्य चेतनाको समेत विष्लेषण गरिएको छ । ‘प्रकृतिमा मान्छे’ भित्रको मानवतावादी स्वरमा कवि ठाकुर शर्मा भण्डारीको मुक्तकलाई विषय बनाएको छ र उनलाई राम्रो मुक्तककारको रुपमा हेरिएको छ । नवीन विषयमा ‘गौराङ्ग’ खण्डकाव्यमा हरिभक्त सिग्देलको गौराङ्ग खण्डकाव्यलाई विषयमा राखिएको छ । त्यागी, निस्वार्थी बाबा गौराङ्गलाई विषय बनाइएकोमा हरिभक्त सिग्देलको खण्डकाव्यलाई नवीन विषय मानिएको छ । ‘गङ्गाका छालमा भिज्दाभिज्दै’मा गङ्गा कर्माचार्यको बाल उपन्यासको चर्चा गरिएको छ । चर्चा क्रममा बाल साहित्यको सामान्य इतिहासमा समेत सङ्केत गरिएको छ । नेपाली कथ्य परम्पराभित्र किशोर पहाडीलाई पर्गेल्दा शीर्षकमा किशोर पहाडीका दूई कृति बाँच्नु र बाँचेकाहरु र घर खण्डहरलाई विषय बनाइएको छ । किशोर पहाडीलाई ती दुई कृतिका आधारमा कथामा नेतृत्व गर्नसक्ने भन्दै व्यापक रुपमा विष्लेषण गरिएको छ । दर्शन मानवता र सामायिकताको सङ्गम ‘कलाधिनिका चुनिएका कविता’मा कलानिधि दाहालको चुनिएका कविताको वृहत् विष्लेषण गरिएको छ । एउटै कृतिको २२ पृष्ठमा विस्तारित यस समालोचनामा सवैभन्दा बढी पृष्ठ खर्चिएको भेटिन्छ ।

यसैगरी तीर्थराज अधिकारीको काव्यिक परिसिलनमा तीर्थराज अधिकारीका प्रकाशित चार कविता संग्रहको विष्लेषण गरिएको छ । उनको कवितामा माटो, समाज, थिति र बदलिंदो परिस्थितिलाई देखाइएको कुरा प्रकाश पारिएको छ । ‘स्वअंकुशभित्र निरंकुशतामा घोत्लिंदा’मा राधेश्याम लेकालीको निरंकुशता कवितामा विष्लेषण गरिएको छ । उनका केही कमीकमजोरीलाई केलाउँदै उनका शैलीमा सचेत गराइएको छ । अनिदो आँखामा जागरणको विगुलमा श्रीहरि फुयाँलाको कवित्वको क्रमिक रुपमा संक्षिप्त विष्लेषण गर्दै ‘अनिँदो आँखा’लाई हेरिएको छ । धराबासीका दुई उपन्यासका दुईधार शीर्षकमा शरणार्थी र राधालाई विष्लेषण गरिएको छ । यथार्थ र श्याम व्यङ्ग्यात्मक अभिव्यक्तिमा डा.लुईंटेलको नियात्रा कलामा बरिष्ठ समालोचक भाषाविद् प्राध्यापक डा.खगेन्द्र लुईंटेलको व्यक्तित्वलाई प्रकाश पार्दै उनको नियात्रा ‘बाह«वर्ष पछि हनिमुन’ शीर्षकको विष्लेषण गरिएको छ । ‘जसको जोत उसको पोत’का भौकाजिमा विमल भौकाजिको व्यङ्ग्य चेतनालाई आधार बनाइएको छ । अश्वमेध यज्ञका घोडाहरुको सन्देश शीर्षकमा दुबसु क्षेत्रीको कविताको दार्शनिक चेत र बौद्धिक पक्षको विश्लेषण गर्दै सामसामहिक साहित्यमा यसको स्थान निर्धारण गरिएको छ । पिल्सिएको परदेशी मन भित्रको सेरोफेरोमा विदेशको रमझमले समेत खुसी हुन नसकेको विदेशिएका नेपालीहरुको पिडा पक्षको विष्लेषण गरिएको छ । उलार भित्रको उभारमा उपन्यासकार नयनराज पाण्डेलाई आञ्चलिक परिवेशमा हेरिएको छ । ‘दरिलो इन्द्रिय छैठौं इन्द्रिय’मा विद्याप्रसाद घिमिरेको प्रवन्धलाई विष्लेषण गरिएको छ । ‘नीलडाम’ भित्रको नयाँघरेमा निबन्धकार नयाँघरेको शैलीलाई मुख्य आधार लिंदै नयाँ घरेलाई राम्रो निबन्धकारको रुपमा हेरिएको छ । उनको उज्ज्वल भविष्यलाई ठम्याइएको छ । त्रिकोणात्मक परिवेशभित्र ‘रोटीको दन्त्यकथा’मा लाल गोपाल सुवेदीको लघु कवितालाई विषय बनाइएको छ । स्वदेशी परिवेश, विदेशी परिवेश र नौलो परिवेशमा ती कवितालाई विष्लेषण गरिएको छ । शिखर चढीरहेको मान्छेभित्रको मान्छे अवलोकन गर्दामा अच्युत घिमिरेको लघुकथालाई हेर्दै उनमा लघुकथाको सम्भावना देखिएको तर पूर्णता नपाएको विषय उठाइएको छ । ‘समीरभित्रै पहाड समीरभित्रै अणु’मा रवीन्द्र समीरका शैली, विषय, भावका दृष्टिले समीरलाई राम्रो लघुकथाकारको रुपमा चिनाउन खोजिएको छ ।

समग्रमा प्रस्तुत कृति दृष्टिः दृष्टिकोण विभिन्न कोणबाट महत्वपूर्ण छ । यसमा बौद्धिक भाषाशैलीको प्रस्तुती छ । समालोचना कस्तो हुनुपर्छ भन्ने प्रस्तुत कृतिले स्पष्ट पार्दछ । कृतिभित्र समाविष्ट प्रत्येक समालोचनामा विषयको उठानमा ऐतिहासिक पृष्ठभूमिसँग जोड्दै समालोचनामा औंल्याएर छर्लङ्ग पारिएको छ । कृतिको आधारभूमि स्पष्ट देखाइएको छ । छानौट गरिएका कृति र सिर्जनाहरुमा मिहिन ढङ्गबाट अध्ययन, अनुसन्धान गरी समालोचकीय दृष्टिकोण प्रस्तुत गरिएको छ । विधागत समावेशीता र पुरानादेखि नायाँ सर्जकसम्मका कृति र तिनका प्रवृत्तिलाई औंल्याइएको छ । समालोचकीय दृष्टिकोणका सवै पक्षहरु यसमा उपयोग गरिएको छ । यति हुँदाहुँदै पनि सरलताको अभाव, कतैकतै हाँस्यव्यङ्ग्यकार मैनालीको प्रभाव र बौद्धिकताका नाममा साधारण पाठकलाई ध्यान कम दिइएको स्पष्टै देख्न सकिन्छ । कलानिधि दाहाल एक्लैलाई तेतिका पृष्ठ खर्चिनु पर्ने आवश्यकता थिएन भने प्राध्यापक डा. खगेन्द्र लुईंटेलको नियात्राको मूल्यांकनगर्दा उनको सवै व्यक्तित्वमा व्यापक रुपमा ल्याएर उनलाई मात्र विशिष्ट बनाउन खोजिएको होकि जस्तो पनि भान हुन आउँछ । युवराज मैनाली जस्ता समालोचकले निष्पक्षतामा अलिकति ध्यान नपु¥याएको होकि भन्ने देखिन्छ । जे होस प्रस्तुत कृतिले समकालीन नेपाली समालोचनामा विशिष्ट स्थान राख्दछ र युवराज मैनालीका पूर्व प्रकाशित समालोचना भन्दा यो निकै खारिएको, माझिएको र परिपक्व रुपमा आएको देखिन्छ ।