अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 09:23

बाजुराम पौडेल र उनको उपन्यास ‘अर्को संसार’

पुष्पराज गिरी २०७९ असार २० गते ११:४७ मा प्रकाशित

नेपाली साहित्यको क्षेत्रमा एउटा बहुमुखी प्रतिभा बोकेका स्रष्टा हुन् बाजुराम पौडेल । कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध, कथा, उपन्यास र आत्मवृत्तान्तको विषयगत लेखनमा लामो समयसम्म निरन्तर रूपमा सशक्त उपस्थिति देखाएर एउटा प्रतिभावान् साहित्यकारको रूपमा आफूलाई परिचित गराउन सफल देखिएका छन् । बाजुराम २०२५ देखि लेखनारम्भ गरेर २०३३ सालदेखि प्रकाशनमा देखिएका देखिएका हुन् । २०५१ मा ‘सिर्जना फस्टाउनु पर्छ’ खण्डकाव्यबाट उनी कृतिकारका रूपमा उभिएका थिए । फुटकर रचना भने विभिन्न पत्रपत्रिकामा प्रकाशित भइनै रहेको पाइन्छन् । २०६५ मा ‘बाजुरामका कविताहरू’ सङ्ग्रह प्रकाशित भयो । २०६६ मा ‘सुरभि स्रष्टा परिचय’ को लेखन र सम्पादन गर्दै स्रष्टाहरूलाई प्रेरणा र प्रोत्साहन दिने कार्यको शुभारम्भ गरे । तत्पश्चात् ‘शीत स्वर्ण’ कविता सङ्ग्रह २०६८, ‘भन्ज्याङ र चौतारी’ आत्मवृत्तान्त २०६९, ‘शान्ता श्री’ महाकाव्य २०७३, ‘जियालो’ संयुक्त महाकाव्य २०७३, ‘उनी उर्मिला’ महाकाव्य २०७५, ‘निशा’ उपन्यास २०७६, ‘जुनकिरी’ बाल महाकाव्य २०७७, ‘छोडिएका पाइलाहरू’ निबन्ध सङ्ग्रह २०७७, ‘अर्को संसार’ उपन्यास २०७८ प्रकाशित छन् । यसका साथै ‘लुसाको फेरो’ र ‘प्रभावती’ दुई उपन्यास निकट भविष्यमै प्रकाशनमा आउँदै छन् ।

बाजुराम साहित्य सिर्जना मात्र गर्दैनन् प्रोत्साहन र उत्प्रेरणामा पनि उनको उल्लेख्य भूमिका रहेको छ । आख्यान साहित्यको विकास गर्ने उद्देश्यले ‘सुरभि साहित्य प्रतिष्ठान’ स्थापना गर्दै हरेक महिनाको तेस्रो शनिवार नियमित आख्यान वाचन गराएर आख्यानको विकासमा थप योगदान पुर्‍याइरहेका छन् । उनकै सम्पादकत्वमा ‘सुलेख’ साहित्यिक मासिक आख्यान प्रधान पत्रिका प्रकाशन भइरहेको छ । यसमा नयाँ, पुराना आख्यानकार हरूलाई निरन्तर प्रकाशन गरिरहेका छन् । ‘सुरभि साहित्य प्रतिष्ठान’मा अक्षयकोष स्थापनामा गर्न उनको महत्त्वपूर्ण भूमिका रहेको छ । उनी स्वयंबाट पनि अक्षयकोष स्थापना गरेर ‘सुरभि बाजुराम आख्यान साधना पुरस्कार’ हरेक वर्ष प्रधान गरिँदै आएको छ । यस संस्थाबाट अहिलेसम्म दुई दर्जन प्रतिभाहरू पुरस्कृत र सम्मानित छन् भने राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुङ¥याएका दुई जना व्यक्तित्वलाई अभिनन्दन समेत गरिएको छ । यसका साथै अन्य संस्थाहरूमा विभिन्न पदमा रहेर बाजुरामले प्रोत्साहकको भूमिका निर्वाह गरिरहेका छन् । उनको योगदानको उच्च मूल्याङ्कन गर्दै विभिन्न सङ्घ—संस्थाबाट उनी सम्मानित र पुरस्कृत समेत भएका छन् । यिनै बाजुरामको पछिल्लो कृति ‘अर्को संसार’ छुट्टै विषयमा उभिएको नौलो उपन्यास हो ।

नेपालको तराई क्षेत्रमा पर्ने बारा जिल्लाको निजगढको चार कोसे जङ्गलबाट ‘अर्को संसार’ को कथा सुरु हुन्छ । निजगढको जङ्गलबाट एउटा अजङको प्राणीले नायकलाई अपहरण गर्छ । साँझको समयमा एउटा सुन्दरी जङ्गलतर्फ आउन लाग्दा नायकले नआउन सङ्केत गर्छन् । यसको कत्ति पनि वास्ता नगरी सुन्दरी जङ्गलतर्फ नै अघि बढ्छिन् । देखिँदै अल्पिँदै गरेकी ती सुन्दरी त्यसै अलप हुन्छिन् । सुन्दरी कुनै हिंसक जनावरको सिकार हुने चिन्तामा डुबेको म पात्र रुख चढेर रात विताउँन खोज्छन् । आँखा लाग्दै गरेको अर्ध निद्राको अवस्थामा एक्कासि अजङको प्राणीको अपहरणमा पर्छन् । अनेक अनुनय विनयका बाबजुद उनी मुक्त हुन सक्दैन । अनेक चिन्ताले उनलाई सताई रहन्छ । मार्न लैजान्छस् कि भन्दा होइन भन्ने सङ्केत पाउँछन् । उनलाई त्यस प्राणीले माया र सुरक्षा दिँदै जान्छ । उनलाई हाब्रो भनेर सम्बोधन गर्छ । हाब्रो पनि उसलाई अभिभावकको रूपमा स्विकार्छन् । अनेक कठिनाइ र अप्ठ्यारा पार गर्दै सुरुङ र वडारमा वास बसाउँदै उनलाई योग्य बनाउँदै लगिन्छ । खानपिन स्वास्थ्य र सुरक्षाको प्रबन्ध पनि मिलाइन्छ । तन्त्र मन्त्रको ज्ञानले उनलाई निर्भीक बनाउँदै त्यस लोकको वातावरण अनुकूल तयार पारिन्छ ।

पाताल लोकमा नागलोकबाट आक्रमणको भय रहन्छ । नागलोकका राजाको आक्रमणबाट बच्न गोरक्षनाथको देशको मान्छे भन्दै हाब्रोलाई सेनापतित्व सुम्पिएर लोककै अहम् भूमिका निर्वाह गराइन्छ । हाब्रोबाट भयभीत आक्रमणकारी देश त्यसैमा समाहित हुन्छ । राज्यको शासन व्यवस्था अमनचयन कायम राख्न र समाहित भएका थप राज्यहरूलाई समेत राम्ररी राख्नका लागि हाब्रोलाई राजा चयन गरिन्छ । नुल्जालाई कार्यकारी अधिकार प्रदान गरिन्छ । हाब्रोको नुल्जासँग विवाह पनि सुसम्पन्न हुन्छ । तर राज्यको सुखभोगले पनि हाब्रोलाई सन्तुष्टि मिल्दैन उनलाई आफ्नो देशको मायाले चिमोटी रहन्छ र सताइरहन्छ । रानी नुल्जालाई राज्यधिकार सुम्पिँदै उनी अभिभावकका साथ देशमा प्रत्यागमन हुन्छन् । देश फर्कने क्रममा निजगढको जङ्गलमा देखिएकी सुन्दरी नुल्जा भएको हाब्रोले अभिभावकबाट थाहा पाउँछन् । रहस्यको पर्दा उघारिन्छ । पति विहीन, पुत्र विहीन र साहारा विहीन उनकी आमा मृत्युलाई पर्खिरहेकी हुन्छिन् । देशको अव्यवस्था, अस्वस्थता र कुप्रवृत्ति प्रति चिन्तित बन्दै हाब्रोलाई उनकी आमाले नेपाललाई असुरक्षा, अव्यवस्था जस्ता कुराबाट बचाएर पुर्खाको गौरव बचाउनु भन्ने अन्तिम इच्छा प्रकट गर्दै महायात्रामा प्रस्थान गर्छिन् । हाब्रो आमाको भनाइलाई पूर्ण रूपमा मान्दै देशका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गर्छन् ।

तत्कालीन समयको देशको परिदृश्यमा उपन्यास अघि बढ्छ । नेपालमा पटक—पटक व्यवस्था परिवर्तन भइरह्यो तर जनताको भाग्य परिवर्तन हुन सकेन । पात्र फेरिए पनि प्रवृत्ति नफेरिएको प्रति उपन्यासमा चिन्ता प्रकट भएको छ । जुल्फिकर अलि भुट्टोको फाँसीबाट भएको विद्यार्थी आन्दोलन, त्यसपछिको जनमत सङ्ग्रह, २०४६ को जनआन्दोलन, माओवादी विद्रोह र २०६३ सालको संयुक्त आन्दोलनबाट गणतन्त्र स्थापित भए पनि जनभावनाको कदर हुन नसकेको स्पष्ट उल्लेख पाइन्छ । देशको ऐतिहासिक प्रसङ्ग ल्याएर काँगडा टिस्टासम्म फैलिएको बृहत्तर नेपाल मेची महाकालीमा सीमित भएकोमा उपन्यासकार अत्यन्त दुखित देखिन्छन् । देश प्रेम र राष्ट्रियताको उद्बोधन उपन्यासको मूल उद्देश्य हो । राज्य सञ्चालकहरूले जनतको कदर गर्नुपर्ने सन्देश उपन्यासको अर्को विशेषता हो । ब्रह्माण्डका यावत् प्राणी र अन्य प्राकृतिक वस्तुहरूको अस्तित्व रक्षाका लागि उपन्यासले आग्रह गरेको छ । प्राणीहरूका बिच आत्मीयता हुनु नै पर्छ । उपन्यासको यही मूल भनाई रहेको छ । यसमा रहस्यमय प्रेमको उत्कर्ष नमुना देखाइएको पाइन्छ । हाब्रो र नुल्जाको प्रेम रहस्यै रहस्यमा रहन्छ । र अन्तिममा मात्र रहस्यको पर्दा खुल्छ । शासन सत्तामा लिप्त रहने प्रवृत्तिलाई उपन्यासले विरोध गर्दै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न सुझाइएको छ ।

प्राचीन संस्कृति र तन्त्र ज्ञानको चित्रण राम्ररी गराएर स्वभाविक रूपमा औपन्यासिक सौन्दर्य कायम गराइएको छ । नेपालको चार उपन्यासमा नायकको मन भरी देशै देश दुखेको छ । थोरै पात्र र घटनामा एउटा सानो उपन्यासमा यत्तिका महत्त्वपूर्ण विषय देखाउन सक्नु उपन्यास कारको सफलता नै हो । पात्रको चरित्रमा स्वभाविकता अर्को विशेषता हो । अभिभावक, नुल्जा र हाब्रो आ—आफ्नो ठाउँमा भूमिका निर्वाह गर्न सफल रहेका छन् । त्यहाँ प्रयुक्त भाषा उपयुक्त किसिमले भएको छ । हाब्रो, लम्फिला काम्लो, घ्याग्रो घुङ, साल्जो, खारा जस्ता शब्द त्यस समाजको लागि उपयुक्त लाग्छ । छिमेकी शक्तिशाली राष्ट्रहरू भन्दा कमजोर नबन्नका लागि राष्ट्रिय भावनाको अभियान आरम्भको आग्रह छ । उत्तर र दक्षिणबाट सीमा मिचिएको र यसमा नेपाल मूकदर्शक रहेको प्रति उपन्यासले चिन्ता व्यक्त गरेको छ । भाषा शैलीको हिसाबले पनि उपन्यास सरल र सहज रूपले बुझ्न सहिन्छ । सारमा भन्नुपर्दा रहस्यात्मकता, राष्ट्रियता, मनोवैज्ञानिकता, द्वन्द्वात्मकता, धर्म संस्कृति, इतिहास र प्रेमप्रणयलाई उपयुक्त संयोजन मिलाएर उपन्यास बनेको छ र उपन्यासकार सशक्त बन्दै कवि व्यक्तित्वमा उपन्यासकार व्यक्तित्व समेत थप्न सफल रहेका छन् । यो उपन्यासलाई नेपाली उपन्यासकै एक महत्त्वपूर्ण कृतिको रूपमा लिन सकिन्छ ।