अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

ऋतुका खेलहरू

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०८० असार १० गते १२:१० मा प्रकाशित

ऋतु ऋतुका
फरक फरक गुण र स्वभावहरू छन्
कुनै हुरी बोकेर आउँछन्
कुनै झरी बोकेर आउँछन्
कुनै शीत बोकेर आउँछन्
कुनै राप/ ताप बोकेर आउँछन्
कुनै डाली डालीमा
फूलै फूलका भारी बोकेर आउँछन् ।

कसैले स्विकारे वा नस्विकारे पनि
सबै सबैले मान्नै पर्छ
प्रकृतिको जङ्गी कानुन
चक्र चलिरहन्छ निरन्तर
सुन्दैन यो कसैको
कुनै गुनासो
हेर्दैन यो कसैको खसिरहेको
वेदनाको आँसु
न सुन्छ यो कसैको
आल्हादित हाँसो !

कालक्रममा अग्लिन्छन्
हिउँका पहाडहरू
कालक्रममै पग्लिन्छन्
हिउँका पहाडहरू
उर्लन्छन् खहरेहरू
सुक्छन् खहरेहरू !

आगाले पगाल्छ – नौनी
जम्ने पग्लिने उपक्रम
शक्ति सङ्घर्षमा चलिरहन्छ !

रातले परेलीमा
जति नै बलियो ढकनी लगाए पनि
सहजै खुल्छन् ती प्रभातमा !

घामका किरणहरूले
खोल्छन् बन्द झ्याल र ढोकाहरू
खोल्छन् बन्द ओठहरू
किनारा लगाउँछन्
निशाचरहरूका उन्मत्त खेलहरू !

समयले
हाँस्नेलाई रुवाउँछ
रुनेलाई हसाउँछ
अपलक हेरिरहनुपर्छ
कोही माथिबाट तल झर्छ
कोही तलबाट
माथि माथि अझ माथि
माथ उठाउँदै जान्छ !!