अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

काठमाडौँको सपना

शीतल निश्चल २०८० जेठ २७ गते ९:३३ मा प्रकाशित

यो विश्वको भूगोलमा
काठमाडौँ अब किन सुहाउँदैन
हामीले बिर्सिएका छौँ
ती उज्याला गल्लीहरू
सडकमा प्रदूषणले बास गरेका छन्
परिचित पहाडको
मेरो अनजान नजर
असभ्य जनता
बाहिरभन्दा फरक व्यवहार
यो बगैँचाको खुसी
गुलाबको भन्दा फरक छ
सडकमा वायु प्रदूषण,
कयौँ समय थुप्रिएको
फोहोर मैलाको दुर्गन्धले गर्दा !!

माटामा मिसिएको छ
कृषकको दुखको कहानी
उद्योगपतिको
नयाँ उद्योग र कलकारखानाको
व्यवसायले
महल , रिसोर्ट र रेस्टुरेन्टको मोह
सप्तरङ्गी दुनियाँको जालो
फूलमायाहरूको एकाधिकार
न त चोकको समस्या
अभिवादन र दर्शन गर्नुहोला
कुनै दिन
काठमाडौँको परिसरमा !!

व्यावसायिक उचाइमा पुगेपछि
सभा हलमा बोन्सरको सजावट
बढ्दो सहरीकरण
टुकुचाको स्वरूप
महल र प्लाजाले भरिएको छ
जताततै चिनियाँ बत्तीको
नक्कली झिलिमिली
दिनरात देखिन्छ
टुकुचाको स्वतन्त्र बहाव
आज कयौँ कोस तल पुरिएको छ
जुन किनारमा ट्राफिक
दिनरात प्रदूषणमा
अल्झिएको छ !!

साँझ
रक्सीको हल्लामा,
बेपत्ता भएको
पशुपतिको सुनको जलप र घण्टी
अझै अधुरो रह्यो
काठमाडौँको सपना !!

++++++++++
लप्सीबोट, गोरखा