अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

अनौठो जीव

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७९ फागुन २९ गते २१:०२ मा प्रकाशित

घाँटीको घोच्चामाथि
गोलाकार भकुण्डोजस्तै
टाउको ठडिएको छ
परालजस्तै कपालले
छाना छाइएको
यसको अगाडिको भिरालो पाटामा
निधार छ
तल दुई किनारामा
गुच्चाजस्तै आँखा छन्
बीचमा उठेको पहाडजस्तै
नाक छ
त्यसको अगल-बगलमा
पाखाजस्तै गाला छन्
तिनका दुई किनारामा च्याउजस्ता
कान छन्
दुबैको मध्यबिन्दुमा
खुल्ने बन्द हुने
ओठ छन्
भित्र नर्तकीजस्तै
जिब्रो छ
घट्टका जस्तै दाँत छन् !

यो आकृतिमा
मान्छे नामको
अजिब जीव हो
फोक्सो खलाँतीले
हावा फ्याँकुन्जेल
यो मनको पिँजडामा
चराजस्तै उफ्रिरहन्छ
कल्पनाका पुलहरू सजाएर
हातका रेखाहरू गनिरहन्छ
हिसाब गर्दै
औँलाहरू भाँच्दै
मनको माछा मारिरहन्छ
मुस्कान नाटक खेल्दै
भकुण्डोजस्तै टाउको सुमसुम्याउँदै
सौन्दर्य भ्रमको बिस्कुन सुकाएर
हत्केला ऐनामा पोतिरहन्छ
सृष्टिको यो
अनौठो जीव – मान्छे !!

————–
गोरखा, लप्सीबोट; हाल: काठमाडौँ – ६, सरस्वतीनगर ।