अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१७ | Colorodo: 21:32

पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्नका लागि प्रयास – मन्त्री किराती

बिआरटीनेपाल २०७९ फागुन ४ गते ६:३० मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्नका लागि प्रयास भइरहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले आज बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले पोखरालाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्नका लागि विभिन्न देशहरूसँग कुरा भइरहेको बताउनुभयो । उहाँले हवाई सम्बन्ध विस्तारका लागि कुटनीतिक पहल भइरहे पनि परिणाम आउन भने समय लाग्न सक्ने बताउनुभयो ।

मन्त्री किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका पदाधिकारीलाई आफूले बिजनेस प्लान दिन निर्देशन दिइसकेको बताउनुभयो । हवाई सेवामा सुरक्षाको ग्यारेन्टी हुने वातावरण निर्माणका लागि पनि निर्देशन दिइसकेको उहाँको भनाइ छ । पोखरा विमानस्थलमा झरेपछि यात्रुले चर्को ट्याक्सी भाडा तिर्नुपरेको गुनासो आएको भन्दै मन्त्री किरातीले त्यसका लागि विमानस्थलले व्यवस्था गर्ने बताउनुभयो ।

गएको पुस १७ गतेदेखि देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा यो विमानस्थल सञ्चालनमा आएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच विमानस्थलको उद्घाटन गर्नुभएको थियो । यहाँबाट अन्तर्राष्ट्रिय उडान भने अझै निश्चित भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू