अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 22:27

युरोप, अमेरिका, जापान, कोरिया, इजरायलमा रोजगारी दिने भन्दै ठगी बढ्यो : श्रम मन्त्रालय

बिआरटीनेपाल २०८१ वैशाख २४ गते ७:५७ मा प्रकाशित

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशहरुमा वैदेशिक रोजगारीको अवसर भन्दै ठगी बढेको भन्दै सचेत गराएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्ता मुलुकहरुमा वैदेशिक रोजगारी पठाउने भन्दै ढ्दै गइरहेको ठगी सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन आवश्यक नीतिगत, कानून एवम् संस्थागत प्रवन्ध गरी यस क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न सरकारले अधिकतम प्रयास गरिरहेको मन्त्रालयले बताएको छ । यसका लागि आम सरोकारवालाहरुको उत्तिकै सक्रियता आवश्यक हुने मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ वमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाईदिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जनावापत असूल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ ।

मन्त्रालयले यस विपरीत वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकहरुलाई आकर्षक रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशहरुमा रोजगारीको अवसर छ भनेर सामाजिक सञ्जालहरुमा भ्रामक सूचना प्रेषित गर्ने र आम नागरिकमा भ्रम सिर्जना गरी आर्थिक रुपमा ठगी गर्ने गरेको समेत पाइएको मन्त्रालयले बताएको छ । यस्ता गैरकानूनी कार्य नियन्त्रण गर्न मन्त्रालय, अन्तर्गतका निकाय तथा सरकारका अन्य नियमनकारी निकायहरु प्रतिवद्ध रहेको मन्त्रालयको दाबी छ ।

मन्त्रालयले सरकार सरकारवीच सम्झौता भई कार्यान्वयनमा रहेको जिटुजी प्रणाली, इजाजतप्राप्त संस्थाबाट आधिकारिक र कानूनी प्रक्रिया पुरा गरी वैदेशिक रोजगारीमा जाने÷पठाउने प्रणाली र व्यक्तिगत प्रयासमा सम्बन्धित देशको रोजगारदातासँग श्रम सम्झौता तथा भिसा प्राप्त गरी श्रम स्वीकृति लिएर जाने प्रणाली विद्यमान रहेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू