अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 15:57

व्यक्तित्व

रवीन्द्र तिमसेना २०७९ माघ १८ गते १४:११ मा प्रकाशित

लघुकथा:

क्याम्पसका विद्यार्थीलाई लैङ्गिक अध्ययन विषय पढाउने भएकाले पनि होला, महिला पुरुषबिच समानता हुनुपर्छ भन्ने उनको धारणा थियो । महिलाले घरका काम मात्र होइन, बाहिरका काममा पनि सरिक हुनुपर्छ भन्ने विचार व्यक्त गर्थे उनी । पुरुष भएर पनि महिलाको सामाजिक स्थितिलाई सुधार्नुपर्ने विचारकै कारण महिलाहरू उनको प्रशंसा गर्दथे । सधैँ चिटिक्क परेर हिँड्ने र समानताको कुरा गर्ने दुई बानीका कारण उनी बच्चादेखि वृद्धसम्म प्रिय थिए ।

केही पुरुष भनाउँदाहरूले चाहिँ उनलाई ‘आइमाई’ को पगरी गुथाइदिएका थिए । राम्रो गर्न खोज्दा पनि आफूलाई नकारात्मक रूपमा हेरिएकोमा उनी असन्तुष्ट थिए । जुनसुकै वर्ग, लिङ्ग र समुदायका मानिस आत्मनिर्भर हुन सकेमा मात्र समाज विकास सम्भव छ भन्ने उनको विचार थियो ।

सधैँ चिटिक्क परेर हिँड्ने उनी एउटा कार्यक्रममा अलि मैलोधैलो र जिङ्ग्रिङ्ग भएर पुगेको देखेपछि एक हितैषीले कानेखुसी गर्दै सोधे, “चिटिक्क परेर हिँड्ने मान्छे आज किन जिङ्ग्रिङ्ग भएर हिँड्नुभएको नि ?” कानेखुसीको जबाफ कानेखुसीमै फर्काउँदै उनले निर्धक्कसाथ भने, “सुत्केरी भएपछि माइत गएकी कहाँ आएकी छन् त ?”