अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

कलाकारिता –रवीन्द्र तिमसेना

रवीन्द्र तिमसेना २०७६ कार्तिक ६ गते ७:२१ मा प्रकाशित

लघुकथाः

कलाकारिता गरेर पर्दामा देखिने गङ्गाको सपना थियो । सेलिब्रिटीसँग अटोग्राफ लिनका लागि फ्यानहरूले गरेको तँछाडमछाड देखेर उनमा कलाकार बन्ने रहर पलाएको थियो । तर परिस्थितिले उनको सपना पूरा हुन दिएको थिएन । त्यसैले आफ्नो अधुरो सपना छोरामार्पmत पूरा गर्न उनले करुणलाई अभिनयको कक्षामा भर्ना गरिदिइन् ।

बिहान अभिनयको कक्षा लिएपछि घर आउने र खाना खाएर स्कुल जाने करुणको दैनिकी बन्यो । साथीभाइ फुर्सतमा खेल्दै र रमाइलो गर्दै गर्दा करुणलाई भने भ्याइ–नभ्याई हुन्थ्यो । आफ्नो चाहना छोरामाथि लाद्न खोजेकाले गङ्गालाई अलि अप्ठ्यारो पनि लागेको थियो । त्यसो त छोरालाई सानै उमेरमा अलि बढी दबाब भयो कि भन्ने पनि उनको मनमा नलागेको होइन ।

नभन्दै हप्तादिन जति मात्र भएको थियो । अभिनयको कक्षाबाट फर्किएपछि करुण आएर बिस्तारामा लम्पसार परेर पल्टियो । “बाबु के भयो ? गाह्रो भयो ?,” गङ्गाले करुणको गाला सुमसुम्याउँदै प्रेमपूर्वक सोधिन् । करुण आँखा पल्टाएर लल्याङलुलुङ भएर लडिरह्यो, केही बोलेन । “भन् न बाबु, के भयो ?,” गङ्गाले आत्तिँदै सोधिन् । फेरि पनि करुण केही बोलेन । “बाबु, स्कुल जानु परेन ?,” उनले करुणलाई कोट्याउँदै सोधिन् । यति गर्दा पनि करुण केही नबोलेपछि गङ्गा थप हताश भइन् ।

छोराको अवस्था देखेर गङ्गाको लोग्ने बोल्यो, “छोरो आज अलि बिरामी जस्तो भएको छ, स्कुल नपठाऊँ भो ।” गङ्गाले लोग्नेको मुखतिर हेरेर सहमति स्वरूप मुन्टो हल्लाइन् । मन नमानेर उनले करणलाई काखमा उचालेर सोधिन्, “बाबु, पापाले के भनिस्यो ?” खुसीले गदगद हुँदै आमाको काखबाट उफ्रौलाझैँ गरी करुणले भन्यो, “आज स्कुल नजाने भनिस्यो ।”