अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

हाँसो

रवीन्द्र तिमसेना २०७६ साउन २७ गते १८:४५ मा प्रकाशित

लघुकथा 

स्कुलबाट दश जोड दुईको परीक्षामा पास भएकाहरूका लागि सम्मानको कार्यक्रम थियो । कार्यक्रममा सहभागी हुन आएको नरेशले चाहिँ आउन नपाउँदै “घर जानुपर्ने जरुरी भयो” भन्दै साथीहरूसँग बिदा माग्यो । “त्यस्तो जरुरी के पर्यो ?” भन्दै साथीहरूले धर नदिएपछि उसले हतपतमै जबाफ दियो, “हजुरबुबाले दिसा गर्नुभएछ ।”

दिसा–पिसाब तर्काउन नसक्ने हजुरबुबाको स्याहार गर्ने जिम्मा घरमा विशेष गरी नरेशकै थियो । नरेशको कुरा सुनेर उसका साथीहरू गलल्ल हाँसे । “हैसियत अनुसारको काम पाएको रै’छस् केटा,” हाँसो थामिन नपाउँदै वैकुण्ठले नरेशतिर हेरेर खिल्ली उडाउँदै भन्यो । उसको कुरामा ध्यान नदिई नरेश भने घरतिर लाग्यो । वैकुण्ठले साथीहरूका अगाडि पनि नरेशको विषयलाई लिएर खिसीट्युँरी गर्यो ।

केही बेरपछि ‘हजुरबा बितेको’ भन्दै केही मान्छे वैकुण्ठलाई पनि त्यहीँ लिन आए । छोराछोरी र नातिनातिनाले बेग्ल्याएर राखेका वैकुण्ठका हजुरबुबाले अस्पताल लग्दिने मान्छे नपाएर मृत्युवरण गरेका रहेछन् । सात दिनदेखि झाडापखालाले सिकिस्त भएका हजुरबुबालाई भेट्न नपुगेको सम्झिएर वैकुण्ठलाई पछुतो भयो ।

आफुलाई लिन आएका मान्छेसँग ऊ सिधै दाहसंस्कारका लागि घाटमा पुग्यो । कुलका धरोहर चितामा बलेको आगोसँगै खरानी हुँदै गर्दा सिङ्गो समाज वैकुण्ठलाई हेरेर हाँसिरहेको थियो ।

प्रतिक्रिया