अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२ | Colorodo: 07:17

सद्भावना

रवीन्द्र तिमसेना २०७६ पुष १० गते ०:४६ मा प्रकाशित

लघुकथा
एसएलसी पास हुन नसकेपछि राजनीतिमा होमिएका नेता चुनाव लागेपछि गाउँ पसे । उनको शारीरिक बनावट देखेर ‘लाउन खान पाए त जस्तो मान्छे पनि मोटाउँदो रहेछ’ भन्दै गाउँलेहरू दङ्ग परे । ठुला बडाहरूले उनैले किनेर ल्याएका फुलमाला, अबिर र खादा उनैलाई लगाइदिए ।
गाउँको माझ भागमा आमसभा हुने जानकारी माइकिङ गरेर दिइयो । तोकिएको समय भन्दा एक घण्टा अघिदेखि प्रतीक्षारत गाउँलेहरूलाई सम्बोधन गर्दै नेताले गाउँलेको दुःखमा आफु दुःखी हुने र उनीहरूको खुसीमा सधैँ नै रमाउने बताए । “तपाईँहरूलाई घाउ लाग्दा मलाई दुख्छ,” तालीको पर्राले हौसिएका उनले भने, “तपाईँहरूले खाए म त्यसै अघाउँछु ।” उनी यस्तै यस्तै अरू कुरा पनि भन्दै थिए । नेताले आपूmप्रति गरेको माया र सद्भावना देखेर गाउँलेहरू हर्ष विभोर हुँदै उनको मन्तव्य सुनिरहेका थिए ।

नेताको मन्तव्य नसकिँदै घनघोर वर्षा सुरु भयो । नेतालाई हत्तपत्त छाता ओढाइयो । सोझा साझा गाउँलेहरू घनघोर झरीमा पनि रुझी रझी उनको मन्तव्य सुनेरै बसे । केही गाउँलेहरू भने नेतालाई ओढाइएको छाताको आडमा ओत लाग्न पुगे । रुझेरै भाषण सुन्नेहरू त रुझे नै उनको छाता वरिपरि ओत लाग्न जानेहरू छाताको बलेनीले झनै रुझे ।

मतगणना सकिएपछि नेताको जितमा गाउँलेहरू विजय उन्मादमा रमाउन लागे ।