अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

रहस्य

रवीन्द्र तिमसेना २०७६ भदौ ५ गते ९:३१ मा प्रकाशित

लघुकथा

विकासका लोग्ने–स्वास्नी दुवैको सरकारी जागिर थियो । छोराले विदेशबाट पठाउने रेमिटेन्स र घरभाडाबापत उठ्ने रकमले त्यो घरमा सम्पत्तिको अभाव थिएन । तैपनि उसकी छोरी लबाइखबाइमा ध्यान दिँदैन थी भने चिटिक्क परेर पनि हिँड्दिनथी । सौन्दर्य प्रसाधनका सामग्रीमा त झन् उसमा कहिल्यै रुचि भएन ।

आफ्नी छोरीले आम युवतीहरू भन्दा भिन्न चाला देखाउँदै गएकाले विकास चिन्तित थियो । छोरीलाई राम्रो ठाउँमा बिहे गरेर दिन नपाइने हो कि भन्ने उसको मुख्य चिन्ता हो । पटक पटक सम्झाउँदा पनि नमानेपछि उसले आजित भएर छोरीलाई सम्झाउनै छाडिसकेको थियो ।

केही समयपछि अफिसको कामले विदेश भ्रमणमा गएर फर्किँदा उसले छोरीमा एकाएक परिवर्तन आएको देख्यो । विकासकी छोरी चिटिक्क परेर बस्न थालेकी थिई भने उसको कोठामा सौन्दर्य प्रसाधनका सामग्रीले प्रवेश पाएका थिए । पटक–पटक सम्झाउँदा पनि नमानेकी छोरीले ढिलै भए पनि भनेको मानी भनेर विकास खुसी भयो ।

भोलिपल्ट विकासले घरको तल्लो तलामा तीन चार जना युवाहरूलाई देख्यो । कुरा बुझ्दाखेरि ती युवाहरू त्यहीँ भाडामा बस्न थालेका रहेछन् । जवान छोरी भएको घरमा युवकहरूलाई भाडामा नराख्ने भन्दै उसले राख्न मान्दैनथ्यो । तर विकासकी श्रीमतीले यस्ता कुरामा हेक्का नराखेर उनीहरूलाई फ्ल्याट भाडामा दिएकी थिई । विकासले छोरीमा आएको परिवर्तनको रहस्य बुझ्यो ।