अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४८ | Colorodo: 11:03

लेखन

रवीन्द्र तिमसेना २०७८ साउन २७ गते ६:५० मा प्रकाशित

लघुकथाः“माननीयज्यू यस पटकको लेखन पुरस्कार मलाई दिलाइदिनुपर्‍यो,” चन्द्रमानको कुरा सुनेर माननीयले आँखीभौँ खुम्च्याए । “तपाईँ माननीय भएका बेला यति त गर्नैपर्‍यो नि,” माननीयले बोल्न नपाउँदै चन्द्रमानले हक जमाउन खोज्दै थपिहाल्यो ।

“लेखन पुरस्कार नै पाउने गरी तपाईँले के चाहिँ त्यस्तो लेख्नुभएको छ र ?,” माननीयले तर्किन खोज्दै भने, “तपाईँले लेखन पुरस्कार पाउने केही आधार त भन्नुहोस् ।”

“माननीयज्यूलाई थाहै छ नि, तीन दशकदेखि सक्रिय भएर पार्टी राजनीतिमा लाग्दा थुप्रै पटक जेलनेल खाए पनि मैले लेख्ने क्रमलाई निरन्तरता दिँदै आएँ । पार्टीलाई लेबी तिरेको छु, पार्टीले अराए–खटाएको काम गरेको छु, घरको बैठक कोठादेखि सुत्ने कोठासम्म पार्टीको झन्डा राखेको छु भन्दैमा कुनै दिन मैले लेखनको क्रमलाई रोकेँ र ? भित्तामा चुना पोतेर पार्टीका नारा इनामेलले लेख्दै हिँड्दा माननीयज्यू साथमै हुनुहुन्थ्यो । पछि पनि हाम्रो पार्टी सरकारमा रहँदा सरकारको बचाउ गर्ने स्ट्याटस लेख्दै आएको छु । विपक्षीको विरोधमा लेखेर सबैभन्दा बढी फेक न्युज सेयर गर्ने म नै हुँ । फेसबुकमा लेखेको छु, ट्विटरमा लेखेको छु । पत्रिकामा लेख नछापिए पनि पाठक प्रतिक्रिया लेख्न छोडेको छैन । तपाईँ नै भन्नुहोस् न यो भन्दा बढी म के लेखूँ ?” चन्द्रमानको कुरा सुनेर माननीय नाजबाफ भए ।

दुई हप्तापछि एक भव्य समारोहका बिच चन्द्रमानलाई लेखन पुरस्कार दिइँदै थियो । प्रमुख अतिथिका रूपमा आएका उनै माननीयले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “चन्द्रमानजी ‘चुजी’ लेखक हुनुहुन्छ । मेरो मतलब, लेखनको विषय निकै गहन ढङ्गले छनोट गरेर मात्र लेख्नुहुन्छ । तर उहाँ जति पनि लेख्नुहुन्छ, गरिब र उत्पीडितका लागि लेख्नुहुन्छ, समाजका लागि लेख्नुहुन्छ, राष्ट्रका लागि लेख्नुहुन्छ र नेपाली जनताका लागि लेख्नुहुन्छ । हिजो पनि उहाँले लेख्दै आउनुभयो, आज पनि लेख्नुभएकै छ र यो पुरस्कारले उहाँलाई भोलिका दिनमा पनि अभैm बढी लेख्दै जाने ऊर्जा प्रदान गर्नेछ भन्ने कुरामा म विश्वास गर्दछु …..”

माननीयको भाषण नसकिँदै चन्द्रमानसँग सेल्फी खिचाउन मानिसहरूको भिड लागिसकेको थियो ।