अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 15:14

आचरण

रवीन्द्र तिमसेना २०७६ मंसिर ४ गते २२:४७ मा प्रकाशित

लघुकथाः

सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित थिए भने ट्राफिक प्रहरीहरू असिनपसिन हुँदै सिटी फुक्दै थिए । साइरन बजाउँदै आएको ध्वजाबाहक गाडीबाट ओर्लेर मन्त्रीज्यू केही सहयोगीसहित आकासे पुल मुनिबाट कार्यक्रम स्थलमा पुग्नुभयो । निर्धारित समयभन्दा दुई घण्टापछि मात्र मन्त्रीज्यूको सवारी भएकाले आयोजक संस्थाका प्रतिनिधि थकित जस्तै देखिए पनि मन्त्रीज्यूलाई आफ्नो समीपमा पाउँदा उनीहरूमा अघिको उत्साह पुनः सञ्चारित भएर आयो । घामको रापले ओइलाउन लागेका माला उनीहरूले मन्त्रीज्यूलाई लगाइदिए र फोटोका लागि पोज दिए । तितर बितर भएका सहभागीहरू मञ्चतर्फ अगाडि बढ्दै गर्दा आयोजक मध्येकी एक जना भद्र महिलाले मन्त्रीज्यूको करकमलमा एउटा कैँची थमाइदिइन् । रिबन काटेर मन्त्रीज्यूले कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

आयोजकले ‘कार्यक्रमको औचित्यमाथि प्रकाश पार्ने’ भनेपछि मन्त्रीज्यूले आफुलाई ढिला भएकाले ‘दुई शब्द’ बोलेर हिँडिहाल्ने भन्दै समय माग्नुभयो । पाएको समयको सदुपयोग गर्दै उहाँले पश्चिमा मुलुकहरूले विकासमा मारेको फड्कोबारे लामो व्याख्या गर्नुभयो र ती देशहरूमा कार्यान्वयन भएको विकासको मोडललाई आफ्नै देशमा लागु गर्न सरकार लागिपरेको बताउनुभयो । पूर्वाधार मात्र विकास गरेर नहुुने तर्क गर्दै मन्त्रीज्यूले नागरिकले पनि समय सापेक्ष कार्यशैली र असल आचरण प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो । त्यसो नभएमा आर्थिक र पूर्वाधार विकास भए पनि प्रभावकारी नहुने धारणा मन्त्रीज्यूले व्यक्त गरिरहँदा सहभागीले जोडले थपडी मारे । थपडी सुनेर उत्साहित भएका मन्त्रीज्यूको मन्तव्य हिजो अस्ति जस्तै लामो हुन पुग्यो ।

ढिला भएकाले मन्तव्य सक्नासाथ मन्त्रीज्यू बिदा मागेर हतार हतार निस्किनुभयो । डिभाइडर नाघेर गाडीमा पुगेका मन्त्रीज्यूलाई गाडीको ढोका खोल्न सुरक्षाकर्मी तैनाथ थिए । कालो सिसा बाहिरबाट मन्त्रीज्यूले बिदाइका हात हल्लाउनुभयो । जबाफमा सबैले आ–आफ्नो हात हल्लाए र मन्त्रीज्यूको सुझाव बमोजिम नागरिक हुनुको धर्म निर्वाह गर्दै समय सापेक्ष कार्यशैली र असल आचरण प्रदर्शन गर्ने अठोटका साथ घरतर्फ लागे ।