अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

नेपालमा गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

बिआरटीनेपाल २०७९ पुष १३ गते ७:१८ मा प्रकाशित

नेपालमा गैँडा संरक्षणको विभिन्न उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। ‘एसिया राईनो रेन्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको सम्मेलन आगामी माघ २० देखि २२ गते सम्म चितवनमा हुनेछ। सम्मेलनमा एसियामा गैँडा पाइने देश नेपाल, भारत भूटान, मलेसिया र इण्डोनेसियाका सम्बन्धित सरकारी प्रतिनिधि, गैँडा संरक्षणमा काम गर्ने साझेदार संस्थाहरू, सरोकारवाला विशेषज्ञ समूहलगायतको सहभागिता रहनेछ। यस्तो सम्मेलन यसअघि पहिलो पटक इण्डोनेसियमा र त्यसपछि भारतमा भइसकेको छ।

गैँडा संरक्षणमा देखिएका समस्याहरू, गैँडाको बासस्थानको क्षयीकरण, खण्डीकरण र विनाश, चोरी शिकार र अङ्गको अवैध व्यापार, जलवायुजन्य जोखिमको समाधान, गैँडाको जलवायु अनुकूलन गर्ने क्षमतालगायत विषयमा सम्मेलनमा छलफल हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यस बाहेक गैँडा र मानवबीचको द्वन्द्व समाधान, स्थानीय समुदाय र निजी क्षेत्रलाई गैँडालाई आर्थिक उपार्जनको माध्यम पर्यापर्यटनबाट कसरी जिविकोपार्जनमा टेवा पुर्याउन सकिन्छ भन्ने सम्बन्धमा असल अभ्यासको आदानप्रदान गरिने विभागका महानिर्देशक डा महेश्वर ढकालले जानकारी दिनुभयो ।

सम्मेलनमा गैँडा संरक्षणका लागि प्रविधिको प्रवद्र्धन, गैँडाको बासस्थानलाई सुरक्षित गर्ने, द्वन्द्व व्यवस्थापन गर्ने, जलवायु उत्थानशीलता बढाउने विषय र जनचेतना बढाई स्थानीय र राष्ट्रिय समृद्धिमा टेवा पुर्याउने उद्देश्य राखिएको छ। यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको जैविक विविधताको पहिचानलाई अझ उच्च र चम्किलो बनाउने उदेश्य रहेको डा ढकालले बताउनुभयो ।

सम्मेलनको उद्घाटन वन तथा वातावरण मन्त्रीबाट उद्घाटन गर्ने गरी तयारी गरिएको छ। उद्घाटनपछि प्राविधिक सत्रमा सम्बन्धित देशका गैँडाको अवस्थासम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछन्। केही विज्ञले कार्यपत्र प्रस्तुत गर्ने र त्यसपछि अहिलेसम्मको समीक्षा गरी आगामी दिनमा गर्नुपर्ने रणनीतिका बारेमा छलफल गरिने विभागका इकोलोजिष्ट डा गणेश पन्तले जानकारी दिनुभयो ।

त्यसपछि सम्मेलनमा चितवन घोषणापत्र सार्वजनिक गरिनेछ। सम्मेलन गैँडा संरक्षणको वर्तमान अवस्था, चुनौती र भावी व्यवस्थापन गर्नेलगायतका विषयमा केन्द्रित हुनेछ भने सम्बन्धित देशका सरकारी प्रतिनिधि र विज्ञसहित १०० भन्दा बढीको सहभागिता रहने डा पन्तले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू