अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

देशमा ठूलो सुरक्षा चुनौति छैन : प्रधानसेनापति शर्मा

बिआरटीनेपाल २०८१ वैशाख २५ गते ५:५४ मा प्रकाशित

प्रधान सेनापती प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधान सेनापती शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताउनुभएको हो ।संवेदनशील भूराजनीतिक अवस्था, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरु देखापरेपनि समाधान नै गर्न नसक्ने प्रकारका कुनैपनि चुनौति नरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातिय पहिचानको आधारमा केही घटनाहरु हुने गरेपनि ति समस्याहरुलाई स्थानीय स्तरमै राजनीतिक दलहरुले मिलाउने गरेका बताउनुभयो ।

प्रधान सेनापती शर्माले देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको बताउनुभयो । उहाँले मंगोल नेशनल अर्गनाइजेस र पहिचानवादीहरु बेलाबेलामा आन्दोलित हुने गरेपनि राष्ट्रिय समस्याको रुपमा नरहेको स्पष्ट पार्नुभयो । त्यस्तै दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको भन्दै ति गतिविधिले सुरक्षालाई कुनै असर नपु¥याएको उहाँको भनाई छ ।

प्रधान सेनापति शर्माले अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले नेपालको क्षेत्रमा पनि केही न केही असर पारिरहेको बताउनुभयो । उहाँले भारत र चीनबिच दक्षिण एशियाली क्षेत्रमा बढिरहेको प्रभाव बिस्तारको प्रतिष्पर्धा र भारतमा बढिरहेको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना आदिले गर्दा क्षेत्रीय शक्ति सन्तुलन र स्थिरतामा प्रभाव पारिरहेको बताउनुभयो । त्यसको असर अवश्य पनि हाम्रो जस्तो देशलाई पर्दछ । म्यान्मारको आन्तरिक द्वन्द्वका कारण नेपालमा रोहिङ्ग्या शरणार्थी आएर बसेका कारण तिनले सामाजिक, आर्थिक र धार्मिक समस्याहरु निम्त्याउन सक्ने सम्भावना रहेको उहाँको भनाई छ ।

प्रधान सेनापति शर्माले राष्ट्रिय सुरक्षाका लागि छिमेकी देशहरु भारत र चीनलाई कहिल्यै पनि चिढ्याउनु नहुने बताउनुभयो । यद्यपी उनीहरुले नचाहिँदो कुरा गरेमा त्यसको बिरोध गर्नुपर्ने उहाँको भनाई छ । नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि चासो रहेको भन्दै उहाँले सबैलाई सन्तुलन मिलाएर लानुपर्ने बताउनुभयो । देशको हितको लागि सबैसँग वार्ता गरेर अगाडी बढ्नुपर्नेमा उहाँको जोड छ । उहाँले नेपाललाई सबैको सहयोग चाहिने उल्लेख गर्दै सन्तुलन मिलाएर काम गर्न संवेदनशील भएर लागेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू