अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न कांग्रेस सांसदहरुलाई प्रधानमन्त्री देउवाको निर्देशन

बिआरटीनेपाल २०७९ पुष २ गते ५:३४ मा प्रकाशित

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाईँ दिँदै सो निर्देशन दिनु भएको हो । प्रतिनिधिसभामा निर्वाचित सबै सांसदहरुलाई प्रधानमन्त्री देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गर्नु भएको सञ्चारमन्त्री समेत रहनु भएका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । उहाँले काँग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढन आफूहरुले चाहेको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री कार्कीले भन्नु भयो, ‘यो कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीजीले संसदमा, प्रतिनिधिसभामा सबैलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गर्नु भएको छ । अरु राष्ट्रिय राजनीतिको बारेमा गठबन्धन जारी छ । गठबन्धनलाई जनताले अनुमोदन गरेका छन । र, चाँडै नै गठबन्धनको बैठक बसेर अरु कुराहरुको निर्णय हुनेछ । र, त्यो निर्णयको जानकारी म तपाईहरुलाई गराउनेछु । तपाई अनुमान गर्न सक्नु हुन्छ । गठबन्धनको बैठक भईसकेपछि त्यसको निर्णयउ मात्रै मैले तपाईहरुलाई जानकारी गराउन सक्दछु । गठबन्धनकै नेतृत्व सरकार बन्छ । हामी सबैलाई समेटेर राष्ट्रिय एकताका साथ अघि बढन चाहन्छौं । ’

मन्त्री कार्कीले चाँडै नै सत्तारुढ गठबन्धन दलको बैठक बस्ने र सरकारको नेतृत्वलगायतका विषयमा ठोस छलफल हुने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले सत्तारुढ गठबन्धनले निर्णय गरेपछि मात्रै सरकार गठनबारे आफूले केही भन्न सक्ने पनि बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू