अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

राप्रपा अब राष्ट्रिय पार्टी हुन्छः एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०७९ कार्तिक २ गते ६:३८ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी हुने दाबी गर्नुभएको छ । झापाको मेचीनगरमा एमाले र राप्रपाले संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले राप्रपाले देशको माया गरेकाले एमालेले सहयोग गरेको बताउनुभयो । ओलीले भन्नुभयो, ‘राप्रपा कतैबाट परिचालित छैन। अहिले जतिसम्म गरेको छ आफ्नै प्रयासले गरेको छ। त्यसैले राप्रपालाई सहयोग गरेका हौँ। एमालेसँगको सहकार्य भएपछि अब राप्रपा राष्ट्रिय पार्टी हुन्छ।’

एमाले अध्यक्ष ओलीले चुनावको मुखमा फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले बारामा प्रतिनिधिसभा सदस्यका उम्मेदवारले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेको भन्दै आपत्ति जनाउनुभयो । बारा(४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले युवालाई फ्रि–भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्ने ओलीको माग थियो ।

निर्वाचनलाई केन्द्रमा राखेर एमालेले राप्रपासँग गरेको तालमेलपछि पहिलो पटक एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एउटै मञ्चबाट झापाका मतदातालाई रिझाउने प्रयास गर्नुभएको थियो । तालमेलका बारेमा बुझाउन भन्दै आयोजना गरिएको एमाले र राप्रपाको संयुक्त अगुवा कार्यकर्ता भेलामा ओलीले सत्ता गठबन्धनका दलसँग निकै आक्रोस पोख्नुभयो ।

कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्तालाई सूर्यमा भोट नहाले ४ मंसिरपछि पार्टीमा भेट नहुने चेतावनी दिनुभयो । ‘क्षेत्र नम्बर १ मा सूर्यमा हालेको मत क्षेत्र नम्बर ३ मा हलोमा परिणत हुन्छ। अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ,’ उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू