अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

शङ्का

चिरञ्जीवी दाहाल २०७९ साउन ४ गते २१:२४ मा प्रकाशित

लघुकथा :
“तपाईँको आमाको निको चाल छैन । मैले भनेको विश्वास गर्ने भए पो ? मलाई त केही दिन अघि नै शङ्का लागिसकेको थियो । आमा भित्र कोठामा एक्लै बरबराई रहेको देख्छु ! ” उनले आज पनि आमाको विषयमा पुनः शङ्का गर्दै भनिन् ।

“के भयो “मैले सधैँ जस्तै सोधेँ । “आफैँ हेरे भयो नि,पक्का खुस्किएको हो ।” उनले अल्लि टर्रो जवाफ दिँदै भनिन् ।

अब भने मलाई पनि आमा के गर्दै हुनुहुन्छ, एक पटक हेरौँ क्यारे जस्तो लाग्यो । हामी दुबै जना आमा सुत्ने कोठाको ढोका छेउमा बसेर भित्र हेर्न लाग्यौँ । आमा, बाको फोटो अगाडि हात जोडेर भनिरहनु भएको थियो ” प्राणनाथ, हजुर त उमेर नपुग्दै जानु भयो । हजुर जिउँदो छउन्जेल हामीलाई सधैँ अभाव मात्र भयो । त्यस बेला हामीलाई बिहान खाए बेलुका के खाऊँ भन्ने थियो । तर आज त्यो अवस्था छैन प्राणनाथ । राम र सिता जस्ता छोरा बुहारी पाएको छु । राम्रोसँग घर चलाएका छन् । उनीहरूले मलाई निकै माया गर्छन् । त्यत्तिकै राम्रो हेरविचार पनि गरेका छन् । यस बेला हजुर सँगै भैदिएको भए कति जाती हुन्थ्यो होला । ”

उसलाई अब यसभन्दा बढी, उसकी पत्नीले भनेजस्तै आमा “बर्बराए्को” हेरिरहनु थिएन । आमाले त्यहाँ आफ्नो सन्तुष्टि मात्र प्रकट गरिरहनु भएको थिएन, बाको फोटोसँग हामी दुवैको प्रशंसा समेत गरिरहनु भएको थियो । ” तिमीलाई अझै पनि आमाको दिमाग खुस्किए जस्तो लाग्छ ? ” मैँले यति भनेपछि उनले आँखाभरि आँसु पार्दै भनिन” मलाई माफ गर्नुस्, आमालाई मैँले व्यर्थै शङ्का गरेछु ।”

 

** कालिका ६ चितवन

प्रतिक्रिया