अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५४ | Colorodo: 00:09

भुलचुक

चिरञ्जीवी दाहाल २०७९ जेठ २१ गते १४:०१ मा प्रकाशित

बाले नित्य ढुङ्गालाई स्नान गर्थे
त्यसैलाई चन्दनको टीका लगाए पछि
जब शंखनाद हुन्थ्यो
घर गुञ्जायमान हुन्थ्यो ।
घण्टको आवाज सुनेर
मन प्रफुल्लित हुन्थ्यो ।
त्यसपछि
सबैले चरण मृत ग्रहण गर्थे ।
ढुङ्गालाई शालिग्राम भन्न थालियो ।
निकै वर्ष बित्यो
ढुङ्गा शालिग्राम भएको
अझै पनि चरण मृत ग्रहण गरिँदै छ ।
उता आमाले अर्को ढुङ्गालाई स्नान गर्थिन्
बाले जस्तै स्नान गरी टिका लगाइ दिन्थिन् ।
शिरमा सिउर बाटेर
थप शृङ्गारका लागि
गाजल समेत लगाइ दिन्थिन् ।
सायद वृद्धावस्थामा
प्रसाद पाइने लोभमा होला ।
बाले पूजा गर्ने ढुङ्गा
त्यस बेला पनि बोल्दैन थियो
आज पनि बोल्दैन ।
शालिग्राम बनेर पूजा कोठामा रहन्छ
बाले पूजा गर्ने ढुङ्गा अझै पूजनीय छ ।
आमाले पूजा गर्ने ढुङ्गा
बिस्तारै बोल्न थाल्यो ।
त्यसलाई सन्तान भनियो
अचेल त्यो न पूजा कोठामा देखिन्छ
न त्यसले पूजा गर्ने भक्तलाई चिन्छ !
त्यसमा मात्र ढुङ्गाको गुणहरू छन्
साह्रो, चेतनाशून्य र चिसो ।
आमा भन्छिन्,
त्यस बेला आफूले गरेको पुजामा
सायद, भुलचुक भयो कि ?

============
** कालिका-६ चितवन ।

प्रतिक्रिया