अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२५ | Colorodo: 16:40

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उपसमित गठन

बिआरटीनेपाल २०७९ साउन ४ गते ७:१० मा प्रकाशित

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न उपसमित गठन गरिएको छ ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कार्यकारी समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत गठन भएका उपसमितिका संयोजक र सचिवको नाम सार्वजनिक गर्नुभएको हो ।सार्वजनिक भएका १४ समिति मध्येमा १२ समितिमा संयोजक र सचिवको टुङ्गो लागेको छ भने दुई उपसमितिका संयोजक र सचिवहरू तोक्न बाँकी रहेको घिसिङले बताउनुभयो ।

सार्वजनिक उपसमिति अन्तर्गत समारोह समितिमा राखेपका सदस्य एकेन्द्र बहादुर कुँवरलाई संयोजकको जिम्मा दिइएको छ भने सचिवको जिम्मा राखेपका प्रशासकिय अधिकृत शारङ्गिन् निरौलालाई तोकिएको छ ।यस्तै प्राविधिक उपसमितिमा हिमालराज दाहाललाई संयोजक तोकिँदा प्रचण्ड शर्मा सचिव रहनुभएको छ । खेल स्थल व्यवस्थापन उपसमितिमा राजेश गुरुङलाई संयोजकको जिम्मा दिँदा कृष्णप्रसाद तिमिल्सिनालाई सचिवको जिम्मेवारी दिइएको छ ।अनुशासन उपसमितिमा पेमा लामा संयोजक हुनुहुन्छ भने नारायणराज अर्याल उपसमितिको सचिव रहनुभएको छ । बसोवास व्यवस्थापन उपसमितिको संयोजकमा राजकुमारथापा र प्रशासकीय अधिकृत चन्द्रकुमार राईलाई सचिवको जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै स्वास्थ उपसमितिमा डा. बुलन्द थापा संयोजक छन भने सचिवमा ज्ञानेन्द्रविक्रम शाहलाई तोकिएको छ । यातायात व्यवस्था उपसमितिमा राखेप सदस्य प्रकाश कुसारीलाई संयोजकको जिम्मा दिइएको छ भने सचिवमा देवराज कटुवाल रहेका छन् ।यस्तै प्रचार प्रसार उपसमितिमा संयोजकको जिम्मा दीपेन्द्र विष्टलाई प्रदान गरिँदा सचिव खुसराज दाहाल रहनुभएको छ । खेल सामग्री तथा पोशाक व्यवस्थापन उपसमितिमा संयोजक अञ्जन धमला हुनुहुन्छ भने सचिवमा आपूर्ति तथा भण्डार शाखाका सुजन खतिवडा हुनुहुन्छ ।

यस्तै, स्रोत परिचालन उपसमितिमा सूर्य भण्डारीलाई संयोजक तोकिएको छ भने सरोजकुमार पोख्रेल सचिव चुनिनुभएको छ । स्वंसेवक उपसमितिमा जनक बर्तौला हुनुहुन्छ भने लिलाराम बस्नेत सचिव हुनुहुन्छ ।एन्टिडोपिङ उपसमितिमा नमिसमान प्रधानलाई संयोजक तोकिएको छ भने सचिव दोबे तामाङ हुनुहुन्छ । बाँकी दुई उपसमिति सुरक्षा प्रवन्ध र अनुसाशन उपसमितिको टुङ्गो लाग्न बाँकी छ । दुई उपसमितिको टुङ्गो आगामी बैठकपछि निर्धारण हुनेछ ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुनेछ । सात प्रदेश, तीन विभाग र एनआरएनए गरि ११ टिमले ३६ खेलमा प्रतिष्पर्धा गर्ने प्रतियोगितामा पौडी र सुटिङको प्रतिष्पर्धा काठमाडौंमा हुने सम्भावना रहेको प्रतियोगिताका संयोजक टंकलाल घिसिङले बताउनुभयाे । यस्तै हक्की र रग्बीको टुङ्गो खेल स्थलको निरिक्षण पश्चात हुनेछ ।

प्रतिक्रिया