अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

नेपाल टी–२० लिग : ४ वटा टोली घोषणा

बिआरटीनेपाल २०७९ साउन २ गते ६:४१ मा प्रकाशित

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगका लागि आज सोमवार चार वटा टोलीको घोषणा गरिएको छ । आउँदाे असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुरकाे त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आयोजना अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले चार टोलीको नाम सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको टोलीमा एक नेपाली, एक अमेरिकी र दुई भारतीय मालिक रहेका छन् । कान्तिपुर क्यापिटल नाम भएको नेपाली टोलीमा कान्तिपुरका महेश स्वार मालिक रहेका छन् । लुम्बिनी अल स्टार नाम रहेको दोस्रो टोलीमा अमेरिकी मालिक सञ्जय शर्मा छन् भने भारतीय विक्रम यादव मालिक रहेको विराटनगर सुपर किङ्ग्ससँग डायमन्ड डिजिक्याप प्राली जोडिएको छ । यस्तै अर्को भारतीय टोली जनकपुर रोयल्ससँग गोल्ड स्पोर्ट्स प्राली जोडिएको छ । जनकपुरमा गौरीशंकर धमानी मालिक रहेका छन् ।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई टाेलीको नाम र मालिक चाँडै सार्वजनिक गरिने क्यानले जनाएको छ । क्यानले यस प्रतियोगितालाई नेपालको पहिलो र एकमात्र आधिकारिक टी–२० क्रिकेट लिग भनेर दाबी गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल टी–२० लिगलाई मान्यता दिएको छ भने राष्ट्रिय खेलकुद परिषद्ले पनि मान्यता दिइसकेको छ ।

नेपाल क्रिकेट सङ्घको ड्रिम प्रोजेक्टकाे रूपमा हेरिएको टी–२० लिग आयोजना गर्नुको प्रमुख उद्देश्य नेपाली त्रिकेट, नेपाली क्रिकेट खेलाडीलाई लाभान्वित होस् भन्ने रहेको जनाइएको छ । क्यानले भारतको सेभेन थ्री स्पोर्ट्स प्राइभेट लिमिटेडलाई व्यावसायिक र रणनीतिक साझेदारका रूपमा भित्र्याएको छ । यद्यपि सम्झौताको विषयमा लिएर विभिन्न टिप्पणी भएका छन् ।

प्रतिक्रिया