अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

न्याय परिषद्‍द्वारा थप दुई न्यायाधीश पदमुक्त

बिआरटीनेपाल २०७९ असार ३२ गते ४:२८ मा प्रकाशित

न्याय परिषद्ले उच्च अदालत सुर्खेतको जुम्ला इजलासका नसरुल्लाह अन्सारी र बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहलाई पदमुक्त गर्न सिफारिस गरेको छ । खराब आचरण र कार्यक्षमताको अभाव पाइएपछि पदमुक्त गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष सिफारिस गरिएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उनीहरूविरुद्ध परेका उजुरीमाथि अनुसन्धान र उनीहरूले गरेका फैसला अध्ययनपछि दोषी पाइएकाले पदमुक्त गर्ने सिफारिस गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । परिषद्को सिफारिसअनुसार कामु प्रधानन्यायाधीश कार्कीले उनीहरू दुवैजनालाई आइतबार पदमुक्त गर्ने निर्णय गर्नुहुने छ ।

नवलपरासीका अन्सारी २०७३ पुस २९ मा सिधै उच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो । त्यस्तै रुकुमका शाह २०४३ साउन २६ मा न्याय सेवा प्रवेश गरेर २०६६ भदौ २३ मा जिल्ला न्यायाधीश नियुक्त हुनुभएको थियो । करिब १३ वर्षदेखि एउटै पदमा रहेका शाह हालका जिल्ला न्यायाधीशहरूमा पुरानामध्येका हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू