अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६ | Colorodo: 22:01

प्रविधिका पराक्रमहरू – – तीर्थराज अधिकारी

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७८ फागुन १८ गते २२:०८ मा प्रकाशित

प्रविधिका पराक्रमले प्रादुर्भाव भएका
प्रविधिले निर्मित पाउडर र पानीका
प्लास्टिकका पोकाका पौष्टिकताले पन्पिएका
प्यारले पुल्पुलिएका – बच्चाहरू
पाउ टेकेर पर पुग्दा नपुग्दै
प्रविधि चुम्दै र प्रविधि चुस्दै
प्रविधि ओढ्दै र प्रविधि ओछ्याउँदै
सिरानी पनि प्रविधिकै हालेर
निरन्तर प्रविधि पछ्याइरहेका छन् ।

सगर/ सागर छैन – दूर
सहर/ बगर छैन – दूर
देश/ देशान्तर छैन – दूर
विश्वमानचित्र सजाएर हत्केलामा
मान्छे – नचाइरहेछ -औँलामा ।

वय बिर्सिँदै प्रविधि भेट्न
चस्मामा पावर बढाउँदै
पलेटी कसेर पापड पेलिरहेका छन् – पाकाहरू
खोजेकै भेटेर – युग सुसेल्दै
यतै सुरेली खेलिरहेका छन्
युवा वयका – भाकाहरू ।

यता –
नाता बन्छन्
नाताका खाता बन्छन्
रातमा जूनतारा बल्छन्
फेरि यतै –
भमराहरू फूल चुस्छन्
फूलहरू भमराका पखेटा चुँड्छन्
रङ्गीन बट्टाभित्र
रहरिला/ जहरिला
रसै रस छन्
रुचि जसलाई जे छ
त्यही रस पिउन सक्छन् ।

कोही यहाँ बाँचेरै पनि
‘समवेदना’ पाउँछन्
कोही यहाँ मरेरै पनि
‘बधाई ‘ खाइरहन्छन् ।

यहाँ- अज्ञानताको लेश हुन्न कसैमा
यहाँ- विज्ञताकै नशा चढ्छ सबैमा
लीला विचित्रको छ
बुक पछार्दै विजेता बनेको
जालै जालको सञ्जालको
फेस हेराहेर गर्दै
रमाउन पाउने फेसबुक संसारमा !

चालक गाडी चलाउँदैन – मोबाइल चलाउँछ
भान्छे भात चलाउँदैन – मोबाइल चलाउँछ
आमा बच्चा हेर्दिन – मोबाइल हेर्छे
बच्चा दुध चुस्दैन – मोबाइल चुस्छ
बटुवा बाटो हेर्दैन – मोबाइल हेर्छ
श्रोता वक्ताको वचन सुन्दैन – मोबाइल सुन्छ ।

चेला/ चेली पाठ पढ्दैनन् –
मोबाइल नै पढ्छन्
गुरु/ गुरुआमा पाठ पढाउँदैनन्
हरपल मोबाइलमै आँखा गाड्छन् ।

प्रशासक फाइल समाउँदैन
मोबाइलमै रमाउँछ
पुलिस चोर समाउँदैन
मोबाइल नै समाउँछ
डाक्टर बिरामी हेर्दैन
मोबाइल नै हेर्छ ।

कोही कसैसँग बोल्ने फुर्सद छैन
सबै व्यस्त छन्
सबै काममा तल्लीन छन्
दृश्य स्पष्ट छ
देश प्रविधिको शिखरमा छ
लाग्छ ; अब यहाँ
समृद्धिको बाढी नै आउँछ
हा ! हा ! छ
हु ! हु ! छ ।
अर्ती छ / उपदेश छ
विज्ञताको कमी छैन
सबैको दाबी छ
आफ्नोमात्रै कण्ठमा
कोइलीको अनुपम
कुहु- कुहु ! छ !!
—————

गोरखा, लप्सीबोट; हाल: काठमाडौँ – ६, सरस्वतीनगर ।